एनसेलमाथि निशानाः विदेशी बहुराष्ट्रिय कम्पनीमाथिको आक्रमण !

एनसेलमाथि निशानाः विदेशी बहुराष्ट्रिय कम्पनीमाथिको आक्रमण  !

काठमाडौं । शुक्रबार काठमाडौंसहित देशैभरि एक दर्जन जति एनसेलको टावरमा आक्रमण भएको छ । 

यो आक्रमण कसले र कुन उद्देश्यका साथ ग¥यो यो समाचार तयार पार्दासम्म एकिन भइसकेको छैन । किनभने यो घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएका छैनन् । 

देशमा शान्ति र स्थिरता नचाहने देशी तथा विदेशी शक्तिले नै आक्रमण गराएकोमा दुई मत नभएको धेरैको मत छ । संघर्षको जुन विधि र तरिका अपनाइयो, यसले कुनै लहडमा मात्र यो बम आक्रमण भएको भनेर कसैले मान्न तयार छैन । 

ललितपुरको एनसेलको टावरमा निशाना बनाएर गरिएको बम बिस्फोटबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । देशका अन्य भागमा भएको एनसेलमाथिको आक्रमणमा भौतिक क्षति भए पनि मानवीय क्षति भएको थाहा भएको छैन । 

एनसेलमाथि निशाना बनाएर गरिएको आक्रमणको कारण दुइटा हुनसक्छ । पहिलो, राजनीतिक कारण । दोस्रो, आर्थिक उठाउन दवाव ।

राजनीतिक कारण

विदेशी लगानीको वहुराष्ट्रिय कम्पनीलाई विस्थापित, निरुत्साहित गरी राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको पक्षमा जागरण ल्याउने । गलत विधि अपनाइए पनि यसले देशको अर्थतन्त्रलाई विकास गराउन सकारात्मक उद्देश्य राखेको मान्नुपर्छ । राष्ट्रिय पुँजीलाई सिध्याउने गरी विदेशी एकाधिकार पुँजीवाद हावी भएको, प्रात्साहन पाइरहेको अहिलेको अवस्थामा राष्ट्रिय पुँजी निर्माणमा दवावमुलक संघर्ष गरेको हुनसक्छ । यदि त्यसो हो भने अहिले अपनाएको संघर्षको तरिकालाई विरोध गर्दागर्दै पनि उनीहरुलाई राष्ट्रिय अर्थतन्त्र निर्माणको अभियानमा जोड्न सरकारले विशेष पहल बढाउनु पर्छ । 

यो सम्भावना एकदमै न्यून छ । बरु सापेक्ष रुपमा सही राष्ट्रिय स्वाधीनताको पक्षमा यो सरकारले अडान लिएका कारण यसलाई अप्ठ्यारो पार्न, दवाव दिन यस्तो खालको आक्रमण गरेको हुनसक्छ । 

आर्थिक उपार्जन

आर्थिक उपार्जनका लागि आक्रमण । एनसेलले राज्यलाई कर नदिएकोको विरोधका नाममा आक्रमण । एनसेलले राज्यलाई कर नतिरेको चौतर्फी विरोध भएकै छ । यसमा सहानुभूति पाइने तर यसमा आफ्नो अस्तित्व देखाएर कुनै अमुक शक्तिले आर्थिक संकलन गर्ने गतिलो माध्यम बनाएको हुनसक्छ बम आक्रमण गरेर । त्यसो हो भने यो एकदमै वेठीक हो । यस्तो उद्देश्य राखेर आक्रमण गरिएको हो भने त्यो शक्ति कमजोर मात्र हुने छैन, अस्तित्व नै धरासायी हुन्छ ।  

अस्थिरता नै मूृल उद्देश्य

नेपालमा अस्थिरता पैदा गराउन पश्चिमा र भारतीय शक्ति निरन्तर लागिरहेका छन् । धमिलो पानीमा माछा मार्न दरवारिया तत्व पनि लागेकै छन् । नेपालमा ठूलठूला बिस्फोट गराउनका लागि कैलालीबाट ठूलो मात्रामा हतियार भित्र्याएको कुरा विभिन्न स्रोतले बताएको छ । यस्ता गतिविधि निरन्तरतामा जानसक्ने सम्भावना बढेको छ । 

यो सरकार घाँडो

रिमोटबाट देशमा शासन गर्न चाहनेहरुका लागि मुलतः के पी ओलीको नेतृत्वको यो सरकार घाँडो सावित भएको छ । जनअपेक्षा अनुसार केपी ओली नेतृत्वको यो सरकारले धेरै दैन्दिनका काम गर्न नसके पनि देश र जनताको पक्षमा रणनीतिक महत्व राख्ने कामहरु गरेकै छ । सीमा कमजोरीका बाबजुद राष्ट्रिय स्वाधीनताको पक्षमा के पी ओली सरकारले स्वतन्त्र अडान लिएकै छ । पार्टीभित्रैबाट घेर्ने, आक्रमण गर्ने काम भइरहेको बेलामा वाह्य पक्षबाट समेत यो सरकारलाई तीब्र आक्रमण गरिएको छ । 

देशमा शान्ति, स्थिरता, स्वाधीनता र समृद्धिको पक्षमा इमान्दार प्रयास गरिरहेको केपी ओलीको सरकारलाई कमजोर पार्दा, अप्ठ्यारो पार्दा नै आफ्नो कुत्सित उद्देश्य पूरा गर्न सकिन्छ भनेर चौतर्फी र सबै संघर्षको तरिका एकीकृत ढंगले चलाइएको छ ।