प्रदेश सरकारका मन्त्री र मुख्यमन्त्री परिवर्तनको चर्चा

प्रदेश सरकारका मन्त्री र मुख्यमन्त्री परिवर्तनको चर्चा

काठमाडौं, १२ मंसिर । कार्यसम्पादनमा चित्त नबुझेपछि भर्खरैमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकारका केही मन्त्रीहरुलाई हटाए । केहीको जिम्मेवारी हेरफेर गरे र नयाँलाई नियुक्त गरे । केन्द्र सरकारमा गरिएको मन्त्रीहरुको फेरबदलसँगै अब प्रदेश सरकारका मन्त्री र मुख्यमन्त्री परिवर्तनको चर्चा चलेको छ । संघीयता कार्यान्वयनमा सबैभन्दा प्रभावकारी भूमिका खेल्नु पर्ने प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु कामयावी बन्न नसकेको गुनासो जनस्तरबाट आइरहेको छ ।

प्रदेशहरुमध्ये पनि प्रदेश नं. ३ स्रोत, साधन र प्रभावका हिसाबले सबैभन्दा महत्वपूर्ण मानिन्छ । तर, ३ नम्बर प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु पनि झण्डावाला गाडीमा शयर गर्दै रिवन काट्न र भाषण गर्नमै मात्र व्यस्त रहेको आरोप लागेको छ ।
गठन भएको २ वर्ष पूरा हुन लागिसक्दासमेत प्रदेश नं. ३ सरकारले कुनै पनि उल्लेख्य काम गर्न नसकेको आवाज यतिबेला उठेको छ । यतिका समयसम्म न प्रदेश सरकारले प्रदेश राजधानीको टुङ्गो लगाउन सक्यो न त प्रदेशको नामाकरण नै !

मुख्यमन्त्री डोरमणि पौडेल हेटौंडा निवासी भएको हुँदा प्रदेश राजधानी हेटौंडाबाट अन्यत्र नसार्न देखिने गरी लविङ् गरिरहेका छन् । सिङ्गो प्रदेशको मुख्यमन्त्रीले आफ्नो गाउँटोलमै प्रदेश राजधानी राखिराख्न आवश्यकताभन्दा बढी ‘इनर्जी’ खर्च गरिरहेको आरोप खेप्नु परेको छ । राजधानी हेटौंडा कायम राख्नै लविङ्मा अल्झिएका कारण मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा गर्नु पर्ने अन्य विषयमा ध्यान दिन नसकेको बताइन्छ ।

त्यसो त कमिशन र विभिन्न एनजीओ÷आईएनजीओको स्वार्थअनुकूलको धन्दामा समेत ३ नम्बर प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीहरुको नाम जोडिएर समाचार आइरहेका छन् । ललितपुरमा मुख्यमन्त्रीको निवासमा मर्मतसम्भारमा विदेशी लगानीको विवादासँगै कमिशनको खेलोमा प्रदेशका मन्त्रीहरुको नाम जोडिएर समाचारहरु सार्वजनिक भइरहेका छन् ।

तत्कालीन माओवादी केन्द्र र एमालेले प्रदेश र संघीय संसदमा कार्यगत एकता गरेर चुनाव लडेका थिए । पछि यी दुई पार्टीबीच पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो । २ नम्बरबाहेक सबै प्रदेशमा यतिबेला नेकपाको सरकार छ ।
३ नम्बर प्रदेशमा तत्कालीन एमालेबाट मुख्यमन्त्री डोरमणि पौडेल, कैलाश प्रसाद ढुङ्गेल    (आर्थिक मामिला तथा योजना), अरुण प्रसाद नेपाल    (उद्योग, पर्यटन वन तथा वातावरण) र दावा दोर्जे लामा (भूमि व्यवस्था, कृषि तथा सहकारी) मन्त्री रहेका छन् । तत्कालीन माओवादी केन्द्रबाट शालिकराम जमकट्टेल    आन्तरिक मामिला तथा कानुन र युवराज दुलाल (शरद) सामाजिक विकास गरी दुई मन्त्री रहेका छन् ।

कैलाशप्रसाद ढुङ्गेल र अरुण नेपाल विद्यार्थी आन्दोलनमा लामो समय गुजारेर आएका हुन् । कुनै बेला शालिकराम जम्कट्टेल मजदुर आन्दोलनका चर्चित नेता थिए । युवराज दुलाल (शरद) पनि जनमुक्ति सेनाका सफल कमाण्डर थिए । तर, यतिबेला मुख्यमन्त्रीसहित अन्य कुनै पनि मन्त्रीले प्रभावकारी र परिणाममुखी काम गर्न नसकेको आरोप खेपिरहेका छन् ।

३ नम्बर प्रदेशको मुख्यमन्त्री चयनका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बचन दिएर अन्याय गरेको भन्दै तत्कालीन एमाले नेतृ अष्टलक्ष्मी शाक्यले गुनासो गरेकी थिइन् । प्रधानमन्त्री ओलीले त्यति धेरै असन्तुष्टिकाबीच मुख्यमन्त्रीको जिम्मा डोमणि पौडेललाई दिएका थिए । यतिबेला मुख्यमन्त्रीसहित ३ नम्बर प्रदेशका अन्य मन्त्रीहरुले पनि राम्रो नतिजा दिन नसकेको गुनासो बढ्दो छ । आफ्नो स्पिरिटि अनुसार परिणाममुखी काम गर्न नसकेको भन्दै आफ्नै मन्त्रिमण्डलका सदस्यलाई हटाउने र जिम्मेवारी हेरफेर गर्ने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले ३ नम्बर प्रदेशका त्यस्तै ढङ्गका मुख्यमन्त्री र मन्त्रीहरु परिवर्तन गर्ने प्रयास थालेको स्रोत बताउँछ ।