माधव नेपाल पक्षको ‘एक पद एक जिम्मेवारी’ का कारण पार्टीमा विवाद
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र माधवकुमार नेपाल समूहले एक पद एक जिम्मेवारीका नारालाई उठाइरहेको छ । जुन कुरालाई केपी ओली समूह मान्न तयार छैन ।
माधव नेपाल पक्षको यही विवादका कारणले पनि वादलको नेतृत्वको कार्यदलले सहमतिको प्रतिवेदन ल्याउन सकेन । यो समूहले १० प्रतिशत प्रदेशमा थप्नै पर्ने विषयलाई समेत विशेष रुपमा उठाइरहेको छ ।
पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको बारेमा विशेष ढंगले यो समूहले उठाइरहेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपाका नेता पृथ्वी सुब्बा गुरुङ भन्छन, ‘पार्टी र सरकारको जिम्मेवारीलाई एकीकृत ढंगले लैजानका लागि दाहोरो भूमिका हुँदा सजिलो नै पर्छ । पार्टी र सरकारको दुइटा केन्द्र बनाउँदा काममा जटिलता आउन सक्छ । अझ जुनियरलाई अगाडि सारेर पार्टीमा नेतृत्व दिंदा अप्ठ्यारो हुन्छ ।’
प्रदेश एक र तीनमा पार्टी र सरकार अलग हुँदा त्यहाँ सन्तुलन नमिलेर जटिलता पैदा भएको उनले उदाहरण दिए । प्रदेश एकमा झलनाथ खनाल निकट भीम आचार्य पार्टीका इञ्चार्ज छन् भने मुख्यमन्त्रीमा शेरधर राई ओली निकट मानिन्छिन ।
त्यस्तै तीन नम्बर प्रदेशमा पार्टी इञ्चार्जमा अस्टलक्ष्मी शाक्य माधव नेपाल निकट र मुख्यमन्त्रीमा डोरमणि पौडेल ओली निकट हुन । दुवै ठाउँमा पार्टीका इञ्चार्जले संसदीय दलको निर्वाचनमा हारेर अर्कोले निर्वाचन जितेका थिए ।
माधवकुमार नेपाल महासचिव हुँदा यस्तो मागको सम्बोधन भएको थियो र भन्दै गुरुङ भन्छन, ‘यो अवसरवादी तरिका हो । आफ्नो अनुकूलको व्याख्या गर्ने ।’
माधव नेपाल महासचिव हुँदा संगठन, अन्तर्राष्ट्रिय विभाग सबै मुख्य जिम्मेवारी आफैं पोको पारेर राख्थे, ओली निकट एक नेताले बताए । पार्टीको जुनियर नेता इञ्चार्ज भएर मुख्यमन्त्रीलाई निर्देशन दिंदा त्यसले अपेक्षित परिणाम ल्याउन नसक्ने उनको बुझाइ रहेको छ ।
प्रतिक्रिया