दक्षिण एसियाली खेलकुद : भलिबलमा नेपाली महिला टोली सेमिफाइनल प्रवेश
काठमाण्डौ, १३ मंसिर । नेपाली महिला भलिबल टोली १३ औंँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शुक्रबार भएको समूह चरणको खेलमा भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेपछि नेपाली महिला टिम सेमिफाइनलमा प्रवेश गरेको हो ।
लगातार दुई खेलमा जित निकाल्दै भारत समूह ए बाट समूह विजेताका रूपमा अन्तिम चारमा पुगेको हो भने नेपालले उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको हो ।
प्रतियोगितामा दुवै खेलमा हार बेहोरेको बंगलादेश भने बाहिरिएको छ । समूहको पहिलो खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो भने भारतसँग ३–० ले नै पराजित भएको थियो ।
अब नेपालले सेमिफाइनलमा समूह बी को विजेतासँग खेल्नेछ । जसमा नेपालले श्रीलंका र माल्दिभ्समध्ये एक टिमलाई प्रतिद्वन्दी पाउनेछ ।
प्रतिक्रिया