लमजुङ र पोखराको मतदान केन्द्र नजिकै बम विस्फोट

लमजुङ र पोखराको मतदान केन्द्र नजिकै बम विस्फोट

लमजुङ, १४ मंसिर । सुन्दरबजार नगरपालिका २ को मतदान केन्द्रबाट १ सय ५० मिटर नजिकै टाइम बम विस्फोट भएको छ ।

मतदान केन्द्र महेन्द्र मन्दिर मावि नजिकै टाइम बम बिस्फोट भएको प्रहरीले जनाएको छ । लमजुङका प्रहरी नायब उपरीक्षक रबिन्द्रमान गुरुङका अनुसार बिहान ९ बजेर ५५ मिनेट जाँदा बम विस्फोट भएको हो ।

बम विस्फोट भए पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ । जिल्लामा थप क्षति हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी थप परिचालन गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले बताए ।

सुन्दरबजार नगरपालिका २ मा ३ वटा मतदान केन्द्र र २ वटा मतदानस्थल रहेका छन भने कुल मतदाता संख्या २ हजार २ सय ९७ रहेको छ । वडाध्यक्ष पदका लागि भइरहेको उपचुनावमा ५ जना चुनावी मैदानमा प्रतिस्पर्धामा छन् । यहाँ नेकपा, नेपाली कांग्रेस, राप्रपा, मंगोल अर्गनाइजेसनका साथै स्वतन्त्र उमेद्वार रहेका छन् । स्थानीयहरु उत्साहपूर्वक रुपमा मतदानमा सरिक भएका छन् ।

यसैबीच कास्की क्षेत्र नं  २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ । पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।
मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको स्थानीय प्रत्यक्षदर्शी अर्जुन बस्नेतले बताए । मानिस नभएको स्थानमा बम खसेकाले अप्रिय घटना हुनबाट जोगिएको छ ।
बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको थियो । अहिले अवस्था सामान्य भएको र मतदान सञ्चालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले मतदानस्थल नजिकै बम विस्फोट भए पनि यसमा कसको संलग्नता छ भन्ने नखुलेको जनाएको छ ।