सिरहामा प्रहरी हिरासतबाट सात थुनुवा फरार
सिरहा, १४ मंसीर । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीबाट आज साँझ ७ जना थुनुवा फरार भएका छन् ।
विभिन्न मुद्दामा थुनुवाका रुपमा रहेका ११ जना आज साँझ फरार भएकोमा ४ जनालाई तत्कालै प्रहरीले पक्राउ गर्न सफल भए पनि अन्य ७ जना अझै फरार रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए ।
फरार भएका थुनुवाहरुको खोजीका लागि सो क्षेत्रमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सीमाक्षेत्रमा समेत चेकजाँचमा कडाई गरिएको प्रजिअ अधिकारीले बताए ।
इलाका प्रहरी कार्यालय लक्ष्मीपुरमा कार्यरत प्रहरीहरु जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ मा आज भएको उपनिर्वाचन र विवाहपञ्चमीका लागि जनकपुरमा खटिएकाले थोरै संख्यामा मात्र प्रहरी थिए । सोही मौका छोपी थुनुवाहरु फरार भएको हुन सक्ने अनुमान गरिएको छ ।
ठूलो संख्यामा एकै पटक थुनुवाहरु फरार भएकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रजिअ अधिकारीको भनाई छ ।
प्रतिक्रिया