चिनियाँ प्रभाव सन्तुलनमा राख्न भारतद्वारा श्रीलंकालाई अनुदान सहयोग प्रस्ताव
काठमाडौ ।चिनियाँ उदयसँगै भारतको परम्परागत प्रभावमा देखिएको ह्रासलाई सन्तुलनमा ल्याउन भारत हरसम्भव प्रयास गरिरहेको छ । दक्षिणी छिमेकी श्रीलंकामा चिनियाँ प्रभावलाई सन्तुलनमा राख्न भारतले नवनियुक्त राष्ट्रपति गोताबाया राजापाक्षेसमक्ष करोडौं डलरको अनुदान सहयोगको प्रस्ताव गरेको छ ।
सपथ ग्रहणको दुई साता नबित्दै पहिलो विदेश भ्रमणको रूपमा नवनियुक्त राष्ट्रपति गोताबायालाई नयाँ दिल्लीमा स्वागत गरिएको छ । हिन्द महासागर र यस क्षेत्रको सामुद्रिक मार्गको रणनीतिमा चीनसँग प्रतिस्पर्धामा नियन्त्रण कायम गर्न भारतको यो पहल भएको देखिएको छ ।
परम्परागतरूपमा श्रीलंका भारतको मित्र रही आएकोमा पछिल्लो समय चीनले अर्बौ अमेरिकी डलरको ऋण प्रवाह श्रीलंकामा गरी प्रभाव बृद्धि गरेको देखिएको छ । नवनियुक्त राष्ट्रपति गोताबायाका जेठा दाजु महिन्दा राजापाक्षेको दशक लामो शासन कालमा चीनले श्रीलंकामा अर्बौ डलरको ऋण प्रवाह गरेको थियो ।
गोताबायाको नयाँ दिल्ली भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकाको अर्थतन्त्र तथा पूर्वाधार क्षेत्रमा सुधार गर्न भारत ४० करोडको सहुलियत ऋण उपलब्ध गराउने प्रस्ताव गरे । साथै उनले सुरक्षा तथा गुप्तचर सूचना संकलन क्षेत्रलाई बलियो पार्न ५ करोड अमेरिकी डलरको सहयोगको प्रस्ताव गर्न भारत तयार रहेको बताए । गोताबायाले विदेश नीति तटस्थ्य रही सबैसँग मित्रता राख्ने चाहना आफ्नो भएको बताए ।
प्रतिक्रिया