प्रारम्भिक मतगणनामा विद्या भट्टराईको अग्रता

प्रारम्भिक मतगणनामा विद्या भट्टराईको अग्रता

१५ मंसिर, कास्की । नेकपाकी उम्मेदवार विद्या भट्टराईले पोखरा महानगरपालिका वडा नम्बर ३३ को मत परिणाम सार्वजनिक भएसँगै अग्रस्थान हासिल गर्न सफल भएकी छिन्। 

कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि शनिबार भएको निर्वाचन पश्चात आज बिहान १ः४० बजेदेखि शुरु भएको मतगणमा नेकपाकी भट्टराईले ३ हजार २ सय ७६ मत ल्याउदै अग्रस्थान हासिल गर्न सफल भएकी हुन् ।

नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेलले २ हजार १ सय १५ मत ल्याएका छन् । २१ जना चुनावी मैदानमा उत्रिए  पनि मुख्य प्रतिस्पर्धा नेकपाकी उम्मेदवार भट्टराई र काँग्रेसका उम्मेदवार पौडेलबीच प्रतिस्पर्धा  हुने भएको देखिन्छ । वडा नम्बर ३३ मा भट्टराईले १ हजार १ सय १६ मत अन्तरले अग्रता हासिल गरेकी हुन् । समाजवादी पार्टीका धर्मराज गुरुङले ९५ मत प्राप्त गर्दा साझा पार्टीकी रजनी केसीले भने ३२ मत ल्याएकी हुन् ।

कास्की २ मा ७१ हजार ८ सय ७१ मतदाता सङख्यामध्ये शनिबारको उपनिर्वाचनमा ६३.४० प्रतिशत अर्थात ४५ हजार ५ सय ६३ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

निर्वाचनमा पुरुष भन्दा ८.७६ प्रतिशत अर्थात ४ हजार ३५ जना बढी महिला सहभागिता भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए । 

कास्की उपनिर्वाचनमा ३८ हजार ७ सय ६४ महिला मतदाता सङख्या रहेको छ भने ३३ हजार १ सय ६ पुरुष मतदाता सङख्या रहेको छ । महिला मतदाता पुरुषको तुलनामा ७.८६ अर्थात ५ हजार ६ सय ५८ जनाले बढी रहेका छन् । उनका अनुसार महिला ५४.३८ प्रतिशत अर्थात २४ हजार ७ सय ७९ र पुरुष ४५.5६१ प्रतिशत अर्थात २० हजार ७ सय ८४ मतदानमा सहभागी भएका हुन् ।

यहाँ स्मरणीय छ, २०७४ सालको चुनावमा वाम गठबन्धनका रवीन्द्र अधिकारीले जित हासिल गरेका थिए । उनले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए । अधिकारीले २७ हजार २ सय ७ मत पाएकोमा चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए । सो बेलाको चुनावमा ७० हजार ६ सय ५१ मतदातामध्ये ४९ हजार ९ सय मत खसेको थियो ।