यस कारण प¥यो धरानमा नेपाली कांग्रेसलाई बम्पर उपहार
धरान उप–महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई निर्वाचित भएका छन् । नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतले पछि पार्दै तिलक निर्वाचित भएका हुन् । उनले २६ हजार ७ सय ९ मत प्राप्त गरी जित हात पारे । नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत पाए । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचत तारा सुब्बाको निधन भएपछि उपनिर्वाचन भएको हो ।
५९ वर्षपछि कांग्रेस
नेपालको पहिलो नगरपालिकाहरुमध्येको धरान उप–महानगरपालिकामा पहिलो पटक नेपाली कांग्रेसले नगरको मेयर पद आफ्नो पक्षमा पारेको छ । धरान नगर स्थापनाको ५९ वर्षपछि पहिलो पटक कांग्रेसले जितेको हो । यसअघि पहिलो विसं २०१५ सालमा धरान नगरपालिकाको निर्वाचनमा समेत तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका उम्मेद्वारले जितेका थिए । त्यो निर्वाचनमा कम्युनिस्ट पार्टीका उम्मेदवार स्व. केदारनाथ खनाल अध्यक्ष (मेयर) र उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ (विए) निर्वाचित भएका थिए । पञ्चायतकालमा समेत कम्युनिस्ट पार्टीका उम्मेद्वारहरुले नै र कम्युनिस्ट पार्टीको अनुमोदन भएका उम्मेद्वारले विजय हासिल गर्दै आएको यो क्षेत्र हो । यसमध्ये २०४४ सालको नगर पञ्चायतको निर्वाचनमा जनपक्षीय उम्मेदारको व्यानरमा नेकपा (माले) नेतृत्वको वाम मोर्चामार्फत बम देवानले प्रधानपञ्चमा विजय हासिल गरेका थिए ।
त्यसअघि पञ्चायतकालमा कम्युनिष्ट उम्मेदवार गोविन्द मोक्तानले अप्रत्यक्ष निर्वाचनमार्फत धरान नगरपञ्चायतको प्रधानपञ्च निर्वाचित भएका थिए । बहुदलीय व्यवस्थाको पुनस्र्थापना पश्चात् भएको नगर निर्वाचनमा नेपाली कांग्रेसले केही वडामा निर्वाचन जितेका थिए । तर, मेयर, उपमेयर पदमा कांग्रेसका उम्मेदवारले चियाउन समेत सकेका थिएनन् । कांग्रेसले जितेको यो नै पहिलो ऐतिहासिक विजय हो ।
गणित स्वाहा
यसअघि ०७४ सालमा भएको स्थानीय निर्वाचनमा साविक नेकपा एमाले एक्लैले मेयर, उपमेयर र बहुमत वडा सदस्यसहित निर्वाचनमा बर्चस्व कायम गरेको थियो । त्यो निर्वाचनमा साविक नेकपा (माओवादी केन्द्र)को उम्मेद्वारले ११ हजार बढी सम्मानित मतादेश पाएको थियो । यता साविक नेकपा एमालेको २४ हजार मत र माओवादी केन्द्रको मत जोड्दा हुन आउने अंकले सहज विजय हुने आँकलन गरिएको थियो । तर, परिणाम यसको ठीक विपरीत हुन आयो । साविक नेकपा एमालेले ल्याएको मत समेत सुरक्षित रहेन । यसको अर्थ साविक माओवादीको मत नआएको भन्ने होइन । तत्कालीन माओवादी केन्द्रको तर्फबाट कुनै मत चुहिएको सादर प्रमाण छैन । र, मतभेद पनि बाहिर देखिएको थिएन ।
बेथिति नै हारको कारण
धरानको निर्वाचनमा हार व्यहोर्नु परेको नगरपालिकाको बेथिति पहिलो नम्बरमा जिम्मेवार छ । दोस्रो नगरपालिकामा हुने गरेको भ्रष्टाचारलाई संस्थागत गरिनु, तेस्रो नेकपा (नेकपा)को एकीकरणको सन्देश पैदा नहुनु हो । निर्वाचन अवधिभर नेकपा एमाले र कांग्रेसबीचको प्रतिष्पर्धा जस्तो देखिएको थियो । पूर्व माओवादीका कार्यकर्ताहरु भूमिकाविहीन थिए । उनीहरु पूर्व एमालेको पिछलग्गु भूमिकामा सीमित थिए । चौथो धरान नगरलाई पानी आपूर्ति गर्ने जलाधार क्षेत्रमा भएको भू–माफियाकरण, जनप्रतिनिधिहरुको ठेक्कापट्टामा हालीमुहाली, प्राकृतिक स्रोतसाधन (ढुंगागिटी, बालुवा)मा ब्रम्हलुटलाई छुट दिएको सन्दर्भ पनि त्यत्तिकै जिम्मेवार छ ।
एसियाली विकास वैंकद्वारा अनुदान सहयोगमा बन्दै गरेको पानी आयोजनाको व्यवस्था गर्न नसक्नु हो । सबैभन्दा महत्वपूर्ण यो निर्वाचनमा नेकपा (नेकपा) को कुनै मुद्धा स्थापित थिएन । पूर्व मेयर सुब्बाको निधनपछि नेकपाले नगरको यावत मुद्धाको न्यायिक सम्बोधन पनि गर्न सकेन ।
पार्टीले विचारधारात्मक काम पनि गरेन । उमेर पुगेर नयाँ थपिएका करिव १३ हजार मतदातामा नेकपाको ‘ने’ को अर्थ र कम्युनिस्टको ‘क’ को परिभाषा पनि पुगेको थिएन ।
बुद्धिजीवी भूमिका विहीन
धरानका बाम बुद्धिजीवीहरुलाई नेकपाले भूमिकाविहीन बनाएको थियो । धरान बाहिरबाट स्वस्फुर्तरुपमा आएका बुद्धिजीवीहरुलाई पनि पार्टीले परिचालन गर्न सकेन । भूमिका विहीन भए लगत्तै उनीहरु धरान छाडेर गए । उनीहरुले निर्वाचनलाई प्रभावित गर्ने कामको जाँगर नदेखाइ निरास हुँदै फर्किए ।
कांग्रेसलाई बम्पर उपहार
नेपाली कांग्रेसको जनाधार, सांगठानिक आधारबाट बलियो भएर यो निर्वाचनमा प्रभाव परेको होइन । नेकपाको एमाले दम्भ, र नेकपाले बामपन्थी मताधारलाई अबमूल्यन गर्दा आएको परिणाम हो । समाजवादी पार्टीले आफ्नो उम्मेदवारलाई वली चढाउँदा कांग्रेसलाइ फाइदा पुगेको हो । कांग्रेसको खास मतादेशमा अहिले पनि कुनै उल्लेख्य मत प्रभावित भएको होइन । धरानको लोकप्रिय मतादेश कांग्रेसलाई दिएर नेकपालाई सच्चिन दिएको यो शिक्षा हो । अबको निर्वाचनमा पार्टी संगठनमा पहँुच पुग्ने उम्मेद्वार नथोपर भन्ने जनादेश हो । लोकप्रियता र इमान्दारीतालाई ख्याल गर, माथिबाट गुटीय आधारमा उम्मेद्वार चयन नगर भन्ने नयाँ तर गम्भीर सन्देश हो ।
किल्ला भत्केको हैन
यो निर्वाचनको परिणामले कथित वाम किल्ला भत्केको अर्थ चाहिं लाग्दैन । पार्टी संगठनभित्रकै बेथितिको परिणाम हो । कुनै समय संघाइ र केरलाको नाम पाएको धरान अझै पनि वैचारिक रुपले भत्केको छैन । भत्केको छ भने बाम पार्टी हाँक्ने कथित नेताको मानसिकता हो । बाम जनमतले दिएको जनादेशलाई अनादार गर्नेलाई दण्ड दिएको मात्र हो । विचार कहिल्यै भत्किन्न, विचार बोक्नेहरु ठीकठाक भए । समयबद्ध साप्ताहिकबाट
प्रतिक्रिया