वर्षेनी बढ्दैछ घुस खाने कर्मचारीको संख्या, यो वर्ष एक सय ५४ जना सरकारी कर्मचारी पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिभिन्न सेवाग्राहीबाट रंगेहात घुस लिइरहेका एक सय ५४ सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पछिल्लो वित्त वर्षको तुलनामा यो वर्ष ९२ प्रतिशतले संख्यामा वृद्धि भएको अख्तियारले जनाएको छ ।
अख्तियारले ६४ स्थानबाट ती कर्मचारी पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेहरुमा सहायक स्तरका कर्मचारीदेखि सहसचिव स्तरका रहेका छन् । पक्राउ पर्नेहरुमा ९७ जना घुस, ६४ जनाले नक्कली शैक्षिक प्रमाण पत्र, १३ जनाले सरकारी सम्पत्तिको दुरुपयोग, आठ जनाले पदको दुरुपयोग, पाँच जना राजश्व चुहावट लगायतका रहेको जनाइएको छ ।
त्यसैगरी अख्तियारले यस आर्थिक वर्ष आर्थिक अनियमितता र घुस सम्बधी १९ हजार चार सय ८८ उजूरी परेको समेत जनाएको छ । जस अनुसार पाँच सय ४६ उजुरीमाथि अनुसन्धान भइरहेको र पाँच हजार एक सय ५३ उजुरीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।
प्रतिक्रिया