नयाँ दिल्लीमा भीषण अगलागी, ३४ जनाको मृत्यु

 नयाँ दिल्लीमा भीषण अगलागी, ३४ जनाको मृत्यु

\एजेन्सी, २२ मंसिर । भारतको राजधानी नयाँ दिल्लीको रानी झांसीरोडस्थित अन्नभण्डारमा भीषण आगलागी हुँदा ३४ जनाको मृत्यु भएको छ ।

सो आगलागीमा घाइते भएकाहरुलाई लोक नायक अस्पतालमा भर्ना गरिएको छ । अस्पतालकी डाक्टर रितु सक्सेनाले मृतकको संख्या ३४ पुगेको जानकारी दिएकी छन् ।

दिल्लीको पुरानो बजार क्षेत्रमा रहेको भवनमा आइतबार बिहानै आगो लागेको थियो । आगो नियन्त्रणमा लिनका लागि २५ वटा दमकल घटनास्थलमा परिचालन गरिएका छन्।

दिल्ली दमकल विभागका प्रमुख अतुल गर्गले आगलागीमा परेका ५० जना बढीको उद्दार गरिएको जानकारी दिएका छन् ।
उनका अनुसार अझै उद्धार कार्य जारी छ। उनले भने, ‘साँघुरो गल्ली भएकाले दमकल र एम्बुलेन्स भित्र जान सकिरहेका छैनन् । त्यसैले उद्धारकर्ताहरूले घाइतेलाई बोकेर बाहिर ल्याइरहेका छन्।’ आगलागीबाट भवनमा रहेका कागजहरु जलेर निस्किएको धुवाँका कारण उद्दारकार्यमा कठिनाई भएको थियो ।

आगो लागेको बहुतल्ले भवनभित्र दर्जनौं कामदारहरु सुतिरहेका थिए । घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले दुःख व्यक्त गरेका छन् । आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।