विप्लव नेतृत्वको पार्टीले जिम्मा लियो नख्खुको बम आक्रमण

विप्लव नेतृत्वको पार्टीले जिम्मा लियो नख्खुको बम आक्रमण

काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा शुक्रवार साँझ गराइएको बम विष्फोटको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको छ ।

उक्त घटनामा एक सर्वसाधारणको ज्यान गएको थियो भने अन्य दुई जना घाइते छन् । 

विप्लव नेतृत्वको पार्टीले विष्फोटमा सर्वसाधारण मारिएको दुःखसमेत व्यक्त गरेको छ । 

सो पार्टीका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज तथा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले बीबीसी नेपालीसँग बम विष्फोटको जिम्मा लिएका हुन् ।

उनले बीबीसीसँगको कुराकानीमा सो विष्फोटमा परी सर्वसाधारण मारिएकोमा दुःख लागेको बताएका छन् ।

 


एनसेलले तिर्न बाँकी रहेको पूँजीगत लाभकरतर्फ इङ्गित गर्दै उनले ‘लुटको प्रतिकारस्वरुप’ सो कदम चालिएको तर्क गरेको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

संसद्‌को राज्य व्यवस्था समितिमा गृहमन्त्री रामबहादुर थापाले विस्फोटमा ‘संविधानविरोधी तत्व’को संलग्नता भएको बताएकै दिन विप्लव नेतृत्वको नेकपाले विस्फोटको जिम्मेवारी लिएको हो।


ललितपुरको नख्खुमा जस्तै एनसेलको टावरमाथि अछाम, कञ्चनपुर, नवलपरासी, नुवाकोट, गोरखा, कास्की र म्याग्दीमा आक्रमण भएको थियो । 

कञ्चनपुरमा एनसेल टावर नजिकै ‘जय जनता’ को नाममा एउटा पर्चा फालिएको भेटिएको छ । 

त्यसमा एनसेलको विरोध, वैज्ञानिक समाजवाद जिन्दावाद लेखिएको छ । 

विप्लव माओवादीतिर शंकाको सुइ तेस्र्याएर प्रहरीले तिनका निकटका नेता तथा कार्यकर्ताहरुलाई घटना भएका ठाउँ निकटबाट गिरफ्तार गरिरहेको थियो । 

सुदर्शनको भनाइले विदेशी वहुराष्ट्रिय कम्पनीमाथि नभएर राज्यलाई कर तिराउन दवाव दिनका लागि आक्रमण गरेको संकेत गरेका छन् ।