राखेपको लाज चैते हुरीले जोगाउला ?
फणीन्द्र फुयाल ज्वाला
जव कुनै पनि खेलकुदका प्रतियोगिता नेपालमा सञ्चालन हुने मिति तय हुन्छ तव नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा उही ‘रेडिमेट’ प्रश्न तेर्सिन्छ खेलकुद पूर्वाधार निर्माण र मर्मत सम्भारको ।
खेल क्षेत्रका पूर्वाधरहरु एकातिर ‘माल पाएर पनि चाल नपाएको’ स्थितिमा रहेका छन् भने कतिपय स्थानमा खेलकुदका संरचना नै नबन्दा खेलाडी उत्पादनमा कठिनाई उत्पन्न भएको छ ।
नेपालको आयोजनामा १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) काठमाडौैं, पोखरा र जनकपुरमा भइरहेको छ । करोडौँ रकम खर्चेर बनाइएका खेलकुदका पूर्वाधार र संरचनाहरु ‘फास्ट ट्रयाक’ बिधि अपनाएर रातारात निर्माण भएका हुन् । देशको इज्जत र प्रतिष्ठासँग जोडिएका यी संरचनाहरु प्रतियोगिता सम्पन्न हुनै लाग्दा केही भने पुनः निर्माणको स्थितीमा पुगिसकेका छन् । कमसल खालका सामान गरिद गर्ने र प्रतियोगिताको नाममा बजेट बिनियोजन गरेर बजेट बाँडिचुँडी खल्तीमा हाल्ने खेल क्षेत्रमा मौलाएको पुरानै धन्दा हो । यो धन्दा यस पटकको सागमा पनि प्रस्टै देखिएको छ ।
भाँचिन थाले रंगशालाका कुर्सी
साग प्रतियोगिता सञ्चालन गर्ने बहानामा काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको प्यापिटमा पेच कँसेर जडान गरिएका कुर्सी टुटफुट हुन र उप्किन थालेका छन् । दर्शकहरु बस्नका लागि राखिएका कुर्सी कमसल भएकै कारण र राखेपले बजेट दुरुपयोग गरेर झारा टार्ने काम गरेकै कारण कुर्सी यति चाँडै भाँचिएको राखेप प्रशासन शाखाका एक अधिकारीले समयबद्धलाई बताए । उनका अनुसार हरेक प्रतियोगिता सम्पन्न भएपछि यहाँका खेल पूर्वाधारहरुको उचित रक्षा नगर्नु खेलकुद पदाधिकारीहरुको कमाई खाने अभियान नै हो ।
खेलकुदको कुम्भ मेलाका रुपमा लिइएको साग प्रतियोगिता सम्पन्न गर्नका लागि लाखौँ रकम खर्चेर रातारात बनाईएका बगैँचा, बिरुवा, फूल र दूवो काम नलाग्ने अवस्थामा पुगेका छन् । त्यसको न त उचित रेखचेख, घेराबारा भएको छ न त पानी नै हालिएको छ । जनताले कर तिरेर संकलन गरेको रकममा खेलकुदका पदाधिकारीहरुले मोज मस्ती गर्ने गरेको यो पुरानै रोग हो ।
खेलकुद क्षेत्रमा बलबहादुर केशी शैली कायमै
खेलक्षेत्र कमै नेपाली नागरिकले बुझेको र सरोकार राख्ने गरेको क्षेत्र हो । त्यसैको फाइदा स्वरुप खेलकुदका पदाधिकारीहरले रंगशाला, खेल मैदान, कभर्डहल, खेल सामग्री, खेलाडी तयारी, प्रशिक्षक, तथा अन्य अफिसियलको ब्यबस्थापनका नममा राज्यको ढुकुटी दोहन गरिरहेका छन् ।
नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री बलबहादुर केसीले खेलकुद क्षेत्रलाई निकै बदनाम गराएको चर्चा यतिबेला पनि खेलकुद क्षेत्रमा उत्तिकै ताजा छ । सोलुखुम्बुबाट साँसद जितेर मन्त्री बनेका केसीले डेढ दश भन्दा अघि राष्ट्रिय खेलकुद परिषद्मा काँग्रेसका कार्यकर्ताहरु लाइन लगाएर कर्मचारीको रुपमा प्रवेश गराएका थिए । तीनै अधिकाँश कर्मचारीहरु अहिले शैक्षिक योग्यता नपुगेता पनि फाइल बढुवा हुँदै अधिकृतको पद कव्जा गर्न सफल भएका छन् ।
करिव ६ महिना अघि सदस्य सचिवको चर वर्षे कार्यकाल सम्पन्न गरी बिदावारी भएका केशवकुमार विष्टले दुई वटा राष्ट्रिय खेलकुदहरुको आयोजन ागर्ने अवसर पाए । त्यतिबेला उनले पनि आफु निकट पार्टीका कार्यकर्ताहरु खेलकुदमा भर्ति गरेका थिए । वर्तमान सदस्य सचिव रमेश शिलवालले पनि सागको नाममा केही कार्यकर्ताहरु भर्ति गरेको राखेप श्रोतको दावी छ । शिलवालले आफ्नो कार्यकालको सुरुआतमै सागको सामना गर्न पाउनु उनका लागि राम्रो ‘इनिङ’ भएको खेल क्षेत्रमा चर्चा छ । ‘यो नै खेल क्षेत्रमा मौलाउँदै गएको बलबहादुर शैली हो’ भन्ने कुरा बलबहादुरले जागिर खुवाएका स्वयम् कर्मचारीहरुकै कथन छ ।
रंगशालाको छानो हावाले उडाउने चिन्ता
गत २०७२ सालको भूकम्पका कारण क्षति भएको रंगशाला पुनर्निर्माण भएतापनि भूकम्प पुनर्निर्माण प्राधिकरण, काठमाडौं उपत्यकाको भवन निर्माण सम्बन्धी कार्यालयले भने निर्माण सम्पन्न भई खेल खेलाउन र दर्शकहरु बस्न योग्य भनि प्रमाण पत्र दिइसकेको छैन । यस्तो अधकल्चो र निर्माणाधिन संरचनामा सागका प्रतियोगिता संचालन गर्नु आफैमा चुनौतिपूर्ण कार्य हो भने रातारात चीनबाट झिकाइएको रंगशालाको छानो साग नसकिँदै हावाको सानो झोक्काले उडाइदिने त होइन भन्ने खेलकुदका पदाधिकारीहरुलाई ठूलो चिन्ता थियो ।
तर बलियो हावा नलागेर जोगिएको राखेपका पदाधिकारीहरुको लाज चैत बैशाखको हुरीले उदाङ्गो पार्ला कि जोगाइदेला ? त्यो भने हेर्न बाँकी नै छ । समयबद्ध साप्ताहिकबाट
प्रतिक्रिया