सुनको भाउ बढने संकेत

सुनको भाउ बढने संकेत

काठमाडौ । आागामी वर्ष सुनको भाउ बढने संकेत देखापरेको छ । अमेरिकाको वालस्ट्रिट बैंक गोल्डम्यान स्याक्सले  गरेको अध्ययन अनुसार यस्तो देखिएको छ । आगामी वर्ष प्रति आउन्स १६०० अमेरिकी डलर बराबर हुने उसको अनुमान छ ।यो पहेलो धातुको विश्वमा भइरहेको आपूर्तिको पाँचौं भाग विश्वका केन्द्रीय बैंकहरूले उपभोग गर्न थालेको देखिएको जनाउँदै गोल्ड म्यान स्याक्सले आगामी वर्ष सुनको भाउ बढने जनाएको छ ।

विश्वका केन्द्रीय बैंकहरूले डलरको ठाउँमा सुन राख्न थालेको देखिएको छ ।अमेरिकी राष्ट्रपति निक्सनको समययता केन्द्रीय बैंकहरूबाट आएको सुनको माग सबै भन्दा ठूलो रहेको देखिएको हो । यो माग अहिलेको विश्वको कुल मागको २० प्रतिशत रहेको छ । वस्तुबारे अनुसन्धान गर्ने गोल्डम्यानको विभाग प्रमुख जेफ कुरीले ब्लुमबर्गलाई यस्तो जानकारी दिएका हुन् । जेफले भने “ ऋणपत्रले डलरको मागमा आउने कमी वा डलरमा आउने ह्रास(डि डलराइजेशन)लाई नदर्शाउने भएकाले ऋणपत्र भन्दा म सुनलाई बढी प्राथमिकता दिन गइरहेको छु ”

डि डलराइजेशन भएर मूल्यवान धातु सुनको मागमा बृद्धि हुने आंशका रहेको भन्दै जेफले लगानीकर्ताहरूलाई आफ्नो लगानी विविध क्षेत्रमा लगाउन र दीर्घकालका लागि सुनमा लगानी लगाउन सल्लाह दिएका हुन् ।
उनले भने “विश्वको आर्थिक बृद्धि दीर्घकालमा के हुने भनिरहँदा अमेरिका मन्दीमा जाने सम्भावना रहेको छ ।”रूस, टर्की, चीन र पोल्यान्डसमेत गरी अन्य देशका केन्द्रीय बैंकहरूको माग बढीरहेको र यसले मंगलबार प्रति अउन्स १४६३.३० अमेरिकी डलर रहेको सुनको भाउ १६०० अमेरिकी डलर पुग्ने देखिएको अनुसन्धानकर्ताहरूले जनाएका छन् ।