प्रेस काउन्सिलको विभेद विरुद्ध पत्रकारहरु थप आन्दोलित, भोलि काउन्सिल धर्ना 

प्रेस काउन्सिलको विभेद विरुद्ध पत्रकारहरु थप आन्दोलित, भोलि काउन्सिल धर्ना 

काठमाडौं, २६ मंसिर । प्रेस काउन्सिल नेपालले हरेक वर्ष पत्र पत्रिका वर्गीकरण गर्दा विभेद गर्ने गरेको भन्दै सो कार्य तत्काल सच्याउन माग गर्दै पत्रकार दीपक पण्डे संयोजक रहेको केन्द्रीय संघर्ष समितिले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । 

बिहीबार पाण्डेद्वारा हस्ताक्षर गरि जारी गरिएको प्रेस विज्ञप्ति अनुसार मंसिर २७ गते शुक्रबार बिहान ११ बजे प्रेस काउसिन्सलको कार्यालय घेराउ गर्ने जनाइएको छ । विज्ञप्ति अनुसार काउन्सिलका पछिल्ला गतिविधिले नेपाली पत्रकारले शिर झुकाउनु पर्ने अवस्थामा पुगेको भन्दै सूचना तथा प्रसारण विभागले गर्नु पर्ने पत्रपत्रिकाको वर्गीकरणमा हस्तक्षेप गर्दै आग्रह–पूर्वाग्रहका आधारमा पत्रकार र पत्रिकाप्रति प्रतिशोध साँध्ने काम काउन्सिलका पदाधिकारीबाट भइरहेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, 'पत्रकार र सञ्चारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल आफैँ आचारसंहिता उल्लंघन गर्ने, पत्रकाररिताको मर्यादा विपरित कार्य गर्ने, पत्रकार र संञ्चारमाध्यमको हुर्मत लिने जस्ता कार्यले प्रेस काउन्सिल बिवादको घेरामा पर्दै आएको छ ।'

काउन्सिलका पदाधिकारीको हस्तक्षेपका कारण निस्पक्ष, स्वतन्त्र र पारदर्शी रुपमा पत्रिका वर्गीकरण हुन नसकेको भन्दै काउन्सिलले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/०७५ को पत्रपत्रिका वर्गीकरण खारेज गरी पारदर्शी रुपमा पुर्नवर्गीकरण गर्न प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष, नेपाल पत्रकार महासंघका अध्यक्ष, सूचना तथा प्रसारण विभागका महानिर्देशक र सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई ज्ञापनपत्र बुझाइ सकिएको संयोज दिपक पाण्डेले बताए । तर, अहिलेसम्म काउन्सिलले आफुहरुका माग पूरा नगरेकाले काउन्सिल शुद्धिकरण तथा पत्रिका वर्गीकरण पारदर्शी बनाउन दबाब दिने उद्देश्यले शुक्रवार बिहान ११ देखि १२ बजेसम्म प्रेस काउन्सिल घेराउ कार्यक्रम राखिएको पाण्डेको भनाई छ ।

विज्ञप्तिमा जनाइए अनुसार नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति, काठमाडौं, ललितपुर र भक्तपुर शाखाका साथै झापा, उदयपुर र पर्सा जिल्ला शाखाहरुले आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् । यो अभियानलाई सफल पार्न र देशव्यापी रुपमा ऐक्यवद्धता जनाउन पत्रकार महासंघका सबै शाखाहरुलाई आग्रह गरिएको छ ।