जनयुद्धको विचार नै प्वाल पार्नेलाई पोलको प्वालको चिन्ता

जनयुद्धको विचार नै प्वाल पार्नेलाई पोलको प्वालको चिन्ता

काठमाडौं । दश वर्षे जनयुद्ध र त्यसले लिएको विचार र मुद्धालाई चटक्कै छोडेर यतिबेला डा. बाबुराम भट्टराई नयाँ शक्ति नेपाल पार्टीको संयोजक बनेर देश बनाउने भन्दै मेची महाकाली यात्रामा दौडिएका छन् । उनको यात्रालाई साथ दिएका छन् जनयुद्धकै क्रममा जेल नेल भोगेका सिन्धुलीका अर्का युवा नेता गंगानारायण श्रेष्ठले ।

यात्राका क्रममा यतिबेला गंगा नारायण, बाबुराम पत्नी हिसिला र बाबुराम भट्टराई अछामको मंगलसेन बजार पुगेका छन् । दौरा सुरुवालमा ठाँट्टिएर अघि लागेका बाबुरामको पछि लागेका गंगा नारायणलाई भने यतिबेला बिजुलीका पोलमा परेका प्वालको मायाँ लागेर आएको छ ।

जनयुद्धका क्रममा घाइते भएका हजारौँ जनता, बेपत्ता योद्धा र शहीद परिवारको कुनै चिन्ता नलिई उनीहरुका सपना साकार पार्नुपर्ने र घाइतेको जलिरहेको घाउमा मल्हम पट्टी लगाउन छोडेर बाबुरामको बहकाउमा कम्युनिष्ट र वामपन्थीको साइनो नै नामेट पारेका गंगानारायणलाई भने युद्धका क्रममा गोलीले प्वाल पारेको बिजुलीको पोलको मोह बढेको छ । 

उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन्, ‘२०५८ मा भएको भयानक भिडन्तमा घाइते पोल । जो आजसम्म युद्धको डोब बोकेर इतिहास बाँचिरहेको छ । त्यही बेला ध्वस्त दरबार अहिलेसम्म पुननिर्माण भइसकेको छैन । शीघ्र पुनर्निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित पक्षको ध्यान जावस् ।’

युद्धका क्रममा घाइते भएका योद्धाहरु अझै शरीरमा गोलीका छर्रा बोकेर उपचारको अभावमा भौतारिरहेका छन् । बेपत्ताका परिवारहरु अझै कि शास चाहियो कि लाश चाहियो भन्दै धर्ना र आन्दोलन गरिरहेका छन् । युद्धमा लागेका नेताहरुलाई व्यक्ति व्यक्ति छानेर बिभिन्न डलरवादीहरु मुद्धा लगाउँदै छन् । वलिदानीपूर्ण आन्दोलनको जग र प्रभावबाट डा. बाबुराम भट्टराई प्रधानमन्त्री, अर्थमन्त्री भए । उनकी पत्नी हिसिलाले पनि भौतिक र अन्य मन्त्रालय सम्हालिन । स्वयम् गंगा श्रेष्ठले पनि लाभको पद पाएकै हुन् । 

तर, जनयुद्धका पीडितहरुको चासो गंगानारायण र उनको नेतृत्वलाई छैन । दुला परेका पोलहरु फेर्नुपर्ने र ध्वस्त भएका दरवार पुनर्निर्माण गर्नुपर्ने उनको चासोले उनी र उनको नेतृत्व पानीमाथिको ओभानो बन्नेमा व्यस्त ररहेको देखिन्छ ।  जनयुद्धकालको भौतिक र मानवीय क्षतिको नैतिक दायित्व डा. बाबुराम भट्टराई र उनको टिमले लिनुपर्दैन ?