सिन्धुलीगढीमा राष्ट्रिय युद्ध संग्रहालय बनाउने काम सुरु
सिन्धुली, २ पुस । सिन्धुली जिल्लामा अवस्थित सिन्धुलीगढीमा राष्ट्रिय युद्ध संग्रहालय बनाउने काम सुरु भएको छ । ४ करोड ५० लाख रुपैयाँको लागतमा नेपाली सेनाको निगरानीमा युद्ध संग्रहालय निर्माण सुरु भएको हो ।
नेपाल आक्रमण गर्न आएको ब्रिटिस सैनिकलाई नेपाली सेनाले पराजय गरेको सिन्धुलीगढीमा गढी दरबार र युद्धकला संग्रहालय निर्माण सुरु भएको हो । ऐतिहासिक सिन्धुली गढीमा प्रदेश ३ सरकारले दरबार निर्माण थालेको छ । युद्ध संग्रहालय भने नेपाली सेनाले बनाउँदै छ ।
युद्ध संग्रहालय बनाउनका लागि ठेक्का सम्झौता भइसकेको र पुसको दोस्रो हप्ताबाट निर्माण कार्य सुरु गरी असार मसान्तसम्ममा सक्ने लक्ष्य रहेको नेपाली सेना बर्दबहादुर गणका गणपति राजिव थापाले बताए ।
४ करोड ५० लाख रुपैयाँको लागतमा बन्ने युद्ध संग्रहालयको बाहिरी संरचना मौलिकपन झल्किने, भित्री भागमा केही आधुनिकता झल्किने गणपति थापाले जानकारी दिए ।
संग्रहालयमा श्रव्यदृस्य, कार्टुन, पुराना सामग्री प्रदर्शन कक्ष ३ वटा, पुस्तकालय,खाजा घर, रेस्ट रुमलगायतको संरचना बन्नेछन् । संग्रहालयमा अंग्रेज सेनासँग नेपाली सेनाले लड्दा प्रयोग गरिएका सामग्रीहरु व्यवस्थित तरिकाले राखिने उनले बताए ।
गढी दरबार बनाउनका लागि प्रदेश सरकाले बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले दरबार निर्माणका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
उत्खननको क्रममा गढीमा पानी खान बनाएको इनार, ढुंगा खोपेर पानी खान बनाइएको ट्याङ्की, बंकरहरु, तोप, तोप हान्ने ठाउँलगायतका स्थान र सामाग्री फेला परेका छन् । तिनको संरक्षण गर्दै पर्यटकीय स्थलको रुपमा विकसित गरिँदै आएको गढीमा अब पुनः गढी दरबार र युद्ध संग्रहालय बन्ने भएको हो ।
सिन्धुलीको कमलामाई नगरपालिकाले पनि गढीलाई ऐतिहासिक पर्यटकीयस्थलको रुपमा विकास गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । मेयर खड्गबहादुर खत्रीले सिन्धुली गढीलाई देश भित्रमात्र नभइ विश्वमा चिनाउनका लागि पुरातत्व विभाग, नेपाली सेना र कमलामाई नगरपालिका संयुक्त रुपमा मिलेर काम गरिरहेको बताए। संघीय सरकार, प्रदेश सरकारको समेत गरी ९ करोड रुपैयाँ बराबरको काम हुन लागेको उनले बताए ।
युद्ध संग्रहालय,दरबार संग्रहालय, गढी संरक्षण,पार्क निर्माण,६ जना योद्धाको शालिक निर्माण,नेपाल एकीकरणका प्रतीक पृथ्वीनारायण शाहको शालिकलगायतको संरचना निर्माण गरिने मेयर खत्रीले बताए ।
अंग्रेजी फौज किनलकको नेतृत्वमा आएको दुई हजार ४ सय सिपाहीलाई खुकुरीको भरमा परास्त गरेर नेपाली वीरहरुले इतिहास रच्नुका साथै नेपालको सार्वभौमसत्ता र स्वाभिमान पनि उत्तिकै महत्वपूर्ण ढंगले जोगाएका थिए । दुई हजार ४ सय जनाको अंग्रेजी फौजलाई गोर्खालीहरुको ७ सय जनाको फौजले आक्रमण गर्दा एक हजार ६ सय जनाभन्दा बढी मारिएका र अरु ज्यान जोगाएर भागेका इतिहासमा उल्लेख छ ।
प्रतिक्रिया