१८ करोडको कोकिनसहित बेलारुस र बोलिभियाका नागरिक पक्राउ
काठमाडौँ, ६ पुस । नेपाल प्रहरीको लागुऔषध ब्यूरोले ६ केजी कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना बेलारुसका नागरिक पक्राउ गरेको छ । त्यसैगरी लाजिम्पाटबाट दुईजना बोलेभियन नागरिकलाई समेत पक्राउ गरेको छ । उनीहरुबाट बरामद भएको कोकिनको बजार मूल्य करिब १८ करोड रुपैयाँ बराबरको रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार सो परिमाणको कोकिन बोलेभियाबाट इथियोपिया दिल्ली हुँदै काठमाडौं ल्याइपुर्याइएको र यहाँबाट हङकङ लैजाने योजनामा उनीहरु थिए । प्रहरी टोलीले शनिबार साँझ विमानस्थल क्षेत्र र लाजिम्पाटबाट उनीहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
पछिल्लो समय कोकिन उत्पादन हुने दक्षिण अमेरिकी मुलुकहरु कोलम्बिया, ब्राजिल, मेक्सिकोबाट भरियाको साहयतामा कमजोर विमानस्थल सुरक्षा भएका देशहरुको बाटो हुँदै नेपाल भित्र्याउने र यहाँबाट यूरोप, अस्ट्रेलिया, चीन र भारत जस्ता मुलुकमा तस्करी गर्ने ट्रेण्ड देखिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रतिक्रिया