अमेरिकी राजदूतसँगको भेटपछि किन पछि हटे शशांक ?  

अमेरिकी राजदूतसँगको भेटपछि किन पछि हटे शशांक  ?  

काठमाडौं । महामन्त्री डा. शशांक कोइराला र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरीबीच भएको गोप्य भेटघाटपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको गतिरोध अन्त्य भएको छ । संस्थापन पक्ष र प्रतिपक्षबीच गतिरोध उत्पन्न भएका कारण गत मंसीर २६ गतेदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रयि समितिको बैठक विथोलिएको थियो ।

१४ औं महाधिबेशनको कार्यतालिका निर्माणलाई एजेण्डाको पहिलो बुँदामा राख्नुपर्ने वरिष्ठ नेता पौडेल पक्षको अडान र पार्टी संगठनलाई पूर्णता नदिई महाधिबेशनको कार्यातालिका निर्माण सार्वजनिक गर्न नमिल्ने संस्थापन पक्षको अडानका कारण नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक विथोलिएको थियो । इतर पक्षले वहिस्कार गरे पनि संस्थापन पक्षले एक दुई–दिन बैठक अघि बढायो, तर इतर पक्षले घुँडा नटेकेपछि बैठक स्थगित गर्न संस्थापन पक्ष वाध्य भयो ।

यस अवधिमा गतिरोध अन्त्यका लागि उपसभापति विमलेन्द्र निधिले अहोरात्र मेहनत गरे । सभापति शेरबहादुर देउवालाई समेत लिएर उपसभापति निधि वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास पुगे । दुई पक्षबीच करिव १५/२० चरणमा वार्ता तथा छलफल भयो । यसका लागि सभापति देउवाले उपसभापति निधिको नेतृत्वमा र वरिष्ठ नेता पौडेलले पूर्व उपसभापति प्रकाशमान सिँहको नेतृत्वमा समस्या समाधान टोली बनाएका थिए । यी टोलीबीच धेरै लामो छलफल हुँदा पनि निकास ननिस्किएपछि सभापति देउवाले अन्तिम तुरुप प्रयोग गरे । त्यो अन्तिम तुरुप थियो–  ‘महामन्त्री डा. शशांक कोइराला र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरीबीचको  भेटघाट ।

राजधानी काठमाडौंको कुनै होटलमा यो भेटाघाट भएको बुझिएको छ । समाचार स्रोतका अनुसार  इण्डो प्यासिफिक रणनीति अन्तर्गतको मिलेनियम च्यालेन्ज कार्पोरेशन ( एमसीसी) अभियानका सन्दर्भमा सत्तारुढ पार्टी नेकपामा उत्पन्न किचलोको बारेमा छलफल गर्ने भन्दै अमेरिकी राजदूत बेरीले कांग्रेस महामन्त्री कोइरालालाई भेटेका थिए । भेटघाटका क्रममा नेपाली कांग्रेसमा अहिले उत्पन्न विवादका बारेमा छलफल भएको थियो । समाचार स्रोतका अनुसार   अहिलेको विवादमा लचिलो बन्न राजदूत बेरीले गरेको आग्रह महामन्त्री डा.कोइरालाले स्वीकार गरेका हु्न् ।

महामन्त्री कोइरालालाई बैठकमा सहभागी गराउने आफ्नो प्रयास सफल भएपछि सभापति देउवाले यही पुस १० गतेदेखि बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएका छन् । महामन्त्री कोइराला नै बैठकमा सहभागी हुने भएपछि वरिष्ठ नेता पौडेल पक्षले गर्दै आएको बहिस्कार प्रभावित हुने भएको छ । विगतमा पनि पौडेल पक्षले बहिस्कार गर्दा महामन्त्री कोइरालाले एक दुई दिन साथ दिने र त्यसपछि बैठकमा भाग लिने रणनीति अपनाएका थिए । महामन्त्री कोइरालाले साथ छाडेपछि पौडेल पक्षले वहिस्कार अभियान स्थगित गर्ने गरेको थियो । तर, यसपटक के हुन्छ ? एकिन भइसकेको छैन । सभापति देउवा भने महामन्त्री कोइरालाले भाग लिएपछि वरिष्ठ नेता पौडेल नाकाचालले बैठकमा सहभागी हुने कुरामा ढुक्क छन् ।

महामन्त्री कोइराला बैठकमा सहभागी हुने निश्चित भइसकेको अवस्थामा पौडेल पक्षको रणनीति बुझ्न सभापति देउवाले उपसभापति निधिलाई पठाएका थिए । समाचार स्रोतका अनुसार उपसभापति पौडेल धेरै गलिसेकका छन् । निधिसँगको भेटघाटमा वरिष्ठ नेता पौडेलले भनेका छन्–‘दुबै पक्षले जित्ने गरी ‘सेफल्याण्डिङ’ का बुँदा तयार गर्नू, यसरी धेरै दिन पार्टीलाई अनिर्णयको बन्दी बनाउने पक्षमा म पनि छैन ।’

वरिष्ठ नेता पौडेलको यो आग्रहपछि उपसभापति निधिले १४ औं महाधिबेशनको कार्यतालिका र पार्टी तथा भ्रातृ संस्थाहरुलाई पूर्णता दिने प्रस्ताव एउटै प्याकेजमा छलफल तथा निर्णय गर्ने गरी सहमतिका बुँदा निर्धारण गरेका छन् ।  विभागको संख्या ४२ वटा नै हुने भएको छ । विधानमा २८ विभागको प्रावधान राखिएका कारण एउटा पनि बढाउन नहुने अडान पौडेल पक्षले राखेको थियो । यसैगरी पौडेल पक्षले नेपाल तरुणदल र नेवि संघमध्ये एउटा संगठनको अध्यक्ष पद आफ्नो पक्षलाई चाहिने दावी गरेको थियो । तर यो दावी पौडेल पक्षले छाडेको छ ।

वरिष्ठ नेता पौडेल र महामन्त्री डा. कोइरालाबीच फाटो उत्पन्न गराउन नसकेसम्म १४ औं महाधिबेशनमा चुनाव जित्न आफूले नसक्ने जोडघटाउ सभापति देउवाको छ । यही रणनीतिका लागि देउवाले  महाधिबेशन पर धकेल्ने र विधान विपरीत विभागको संख्या थप्ने प्रस्ताव लगेका थिए । सुरुमा पौडेल र कोइराला एकै ठाउँमा देखिए पनि अन्तिममा कोइरालाले हात झिके । महामन्त्री कोइरालाको यो कदमबाट पौडेल के कति रुष्ट बनेका छन् ? त्यसको आँकलन हुन भने बाँकी नै छ । समयबद्ध साप्ताहिकबाट