सडक दुर्घटनाले दुखेको देश

सडक दुर्घटनाले दुखेको देश

फणीन्द्र फुयाल जवाला

यो आलेख तयार पार्न सोमबार बिहान कम्प्युटरका किवोर्डमा औँलाहरु चलाइरहँदा काठमाडौंको सुकेधारामा बाटो काट्दै गर्दा बसको ठक्करबाट एक छात्राको निधन भएको समाचार ‘अनलाइन न्युज पोर्टल’ र सामाजिक सञ्जालका भित्ताहरु भरिभराउ भइसकेका थिए । 

भक्तपुर–काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट बिहान पौने ६ बजे गोरखा स्थायी भएकी सृष्टि पन्तको ज्यान गएको हो । गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित एक अस्पतालमा पु¥याइएकोमा त्यहीँ उनको निधन भएको हो ।

पछिल्लो समय नेपालमा सडक दुर्घटना दिनानुदिन बृद्धि हुँदै जाँदा आम सर्वसाधारण जनताले प्रश्न गर्न थालेका छन्, ५ जना यात्रु बोक्ने हेलिकोप्टर र ५० जना यात्रु बोक्ने सार्वजनिक यातायातका चालकको योग्यता, दक्षता र क्षमता जाँच आवश्यकता हुन्छ कि हँदैन ? यो प्रश्नसँगै अर्को प्रश्न पनि उठ्ने गरेको छ, के महंगो भाडा तिरेर हवाई यात्रा गर्ने र सस्तो भाडादरमा सडक यात्रा गर्ने यात्रुको ज्यानको हिसाब किताब र मोलतोल फरक–फरक हुन्छ ?

चालु अर्थिक वर्षको मंसिर मसान्तसम्म मुलुकभरी सवारी दुर्घटनामा ९२१ जनाको मृत्यु भइसकेको सरकारी तथ्याङ्कले देखाउँछ । यसैगरी गत आर्थिक वर्ष २०७५/७६ मा मुलुकभरि सवारी दुर्घटनामा दुई हजार ७८९  जनाको ज्यान गएको महानगरिय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ ।

गत मंसिर २९ गते सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिकास्थित लामोसाँघु–जिरी, सडकखण्डको छ किलो घुम्तीमा भएको सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु भएको खबर सञ्चारमाध्यममा प्रकाशन÷प्रसारण भइसकेपछि बल्ल प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकृष्ट भयो ।

दोलखाको मुडेबाट भक्तपुर आउँदै गरेको तीब्र गतिको बस स्टेरिङ र ब्रेकमा समस्या आउँदा दुर्घटना भएको प्रहरीले पुष्टि गरेको छ । सो दुर्घटना पछि प्रधानमन्त्री ओलीले सडक दुर्घटना न्यून गर्ने कार्यक्रम बनाएर तत्काल लागू गर्न सम्बन्धित निकायलाई निर्देशन दिई सकेका छन् । सिन्धुपाल्चोक दुर्घटनामा परी एक बालिकाकी आमाको निधन भएको र गाडी चालक बाबु पनि फरार रहेकाले ती बालिका अभिभावकबिहीन भएको समाचार पढ्दा आफुलाई निद्रा समेत नपरेको भन्दै प्रधानमन्त्री ओलीले दुःख ब्यक्त गरे ।

तत्कालै प्रधानमन्त्री ओलीले सडक तथा यातायात दुर्घटनाको न्यूनिकरण खोज्न गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुमख, सडक विभाग र यातायात ब्यबस्था विभागका महानिर्देशक लगायतलाई आफ्नो सरकारी निवासमा बोलाई संयुक्र रुपमा निर्देशन दिँदै दुर्घटना घटाउनेतर्फ आवश्क कदम तत्काल चाल्न आग्रह गरे । 

प्रधानमन्त्री ओलीले निजी सवारी साधनको तुलनामा सार्वजनिक यातायात दुर्घटना हुँदा ठूलो धनजनको क्षति हने गरेको औँल्याउँदै सार्वजनिक यातायातका चालकलाई तालिम, चालक अनुमतिपत्र (लाइसेन्स)को पुनः परीक्षण, सडक पूर्वाधार प्रायोगको अनुमतिमा गम्भीर परिक्षण गर्न पनि निर्देशन दिएका छन् ।

तर प्रधानमन्त्रीले जति नै दुःख र चासो ब्यक्त गरे पनि देशका बिभिन्न स्थानमा विकासका नाममा हुने आफुखुसी सडक निर्माण र डोजर आतङ्क भने हट्न मात्र होइन घट्न पनि सकेको छैन । ठेकेदारहरुमा इमानर र नैतिकता भन्दा पनि पार्टीकारिता, दलगत स्वार्थ, भ्रष्टाचार र ढिलासुस्तीले जरो गाडेको छ । नेपालको सडक दुर्घटनाको तथ्याङ्क हेर्दा दक्षिण एसियाली मुलुकबीच प्रथम स्थान ओगटेको छ । सडक निर्माणमा इन्जिनियरिङ पक्षलाई बेवास्ता गर्दै आफ्नो जग्गा र घडेरीलाई पायक पर्ने गरी जथाभावी सडक खन्दा त्यसले एकतिर सडकको मापदण्ड पुरा गर्न सकेको छैन भने अर्कातिर सडक दुर्घटना र जनधनको क्षतिको प्रमुख कारक तत्व नै यही बन्ने गरेको छ । यस कार्यले गर्दा आगामी वर्षहरुमा  सडक दुर्घटना घटाउने होइन बढाउँदै लैजाने प्रस्टै देखिन्छ । 

सडक दुर्घटना न्यूनिकरण गर्नका लागि सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षा कडा (घूसरहित) बनाउन जरुरी छ । त्यसैगरी निर्माणाधिन सडकमा यात्रुबाहक सबारी साधन सञ्चालनका लागि पूर्णं रुपमा बन्देज लगाउनु उत्तम उपाय हो । त्यसैगरी सवारीको स्पिड घटाउनका लागि ठाउँ ठाउँमा स्पिड ब्रेकर राख्ने, हुटमा यात्रु नराख्ने, र सिट क्षमता भन्दा बढि यात्रु बोक्ने जस्ता कार्य कडाइकासाथ पालना गर्नुपर्छ । यसका लागि सडकमा खटिएका ट्राफिक प्रहरी तथा नेपाल प्रहरीले कडाइका साथ यो निमलाई पालना गर्ने हो भने सडक दुर्घटना अहिलेको तुलनामा ८० प्रतिशत कमी हुने निश्चित छ । सडक दुर्घटना पूर्णं रुपमा रोक्न त नसकिला तर चालक र सहचालकले यात्रुहरुप्रति गर्ने ब्यबहारले पनि केही दुर्घटना न्यूनिकरण गर्न सक्छ । सवारी साधन चलाउँदा मोवाइल फोनको प्रयोग गर्ने, ध्यान गित तथा भिडियोमा केन्द्रित गर्ने लगायतका कार्यले पनि दुर्घटनाको जोखिम बढी हुने गरेको ट्राफिक प्रहरीको अनुसन्धानले देखाउँछ । 

जसरी कुनै पनि हवाईजहाज वा हेलिकोप्टर दुर्घटना हुँदा त्यसको सत्यतथ्य पत्ता लगाउन जाँचबुझ समिति गठन हुन्छ । त्यसैगरी प्रत्येक सडकमा सबारी साधन दुर्घटना हुँदा पनि त्यो कसरी, किन, कसका कारणले भयो ? भन्ने जस्ता प्रश्नहरुको उत्तर खोजी गर्दै आगामी दिनमा सोही प्रकृतिका अन्य दुर्घटना हुन नदिनका लागि तत्परता देखाउनु अनिवार्य आवश्यकता हो ।

नेपालमा पछिल्लो पटक छोटो समयको अन्तरालमा धेरै ठूला सडक दुर्घटनाहरु बढ्दै गएको तथ्याङ्कहरुले देखाउँछन् । मंसिरकै दोस्रो साता मध्यपहाडी लोकमार्ग अन्र्गत बागलुड–बुर्तिवाङ सडक खण्डमा जीप दुर्घटना हुँदा १४ जनाको ज्यान गयो । त्यसैगरी गत कात्तिकमा सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोसी नदीमा बस खस्दा १७ जनाको मृत्यु भयो । दैनिक मात्रामा हुने साना सबारी तथा मोटरसाइकल दुर्घटनाको संख्या त कत्ति हो कत्ति ! त्यसको कुनै लेखाजोखा नै छैन । 
यसले नेपालका सडक मृत्यु मार्ग भएको पुष्टि गर्छ भने एकै र उस्तै प्रकृतिका सडकमा पटक पटक दुर्घटना हुनु चालकको गम्भीर कमजोरी मात्र नभई लापरवाही नै हो भन्ने पुष्टि हुन्छ । 

सडक दुर्घटनालाई कमी गर्दै यसका दोषिहरुलाई कारवाही गर्नका लागि मुलुकभरि सडक दुर्घटना भएका ठाउँहरुको स्थलगत अध्ययन गरी दुर्घटनाका कारण, सो सडकको स्थितिबारे गहन अध्ययन गरी प्रतिवेदन तयार पार्नुपर्ने आजको आवश्कता हो । यस्ता दुर्घटनाले देश नै दुखिरहेको वर्तमान सन्दर्भमा एउटा मात्र ब्यक्तिको मृत्युले पनि एक अभिभावकले आफ्नो एक मात्र सन्तान गुमाएको हुन्छ, एक व्यक्तिले आफ्नो जीवन साथी गुमाएको हुन्छ भने सिङ्गो देशले एक होनहार कर्मठ नागरिक गुमाएको हुन्छ । 

त्यसैले सडक दुर्घटना न्यूनिकरण गर्नका लागि चालक अनुमति पत्रमा कडाई, सडकको मर्मत तथा स्तरोन्नती, चालकले चप्पलको सट्टा अनिवार्य जुत्ता लगाउने, सिट बेल्ट बाँध्ने, ट्राफिक नियम तथा संकेतहरुको पालना गर्ने, चालकलाई तालिम, सडक तथा राजमार्गहरुमा सिसीटिभी जडान, मापसे जाँचमा कडाई, चालकको उचित शिक्षा र उमेर तोक्ने, तालिमको प्रमाणपत्र अनिवार्य, जरिवाना रकम परिवर्तन, साधन श्रोत सम्पन्न ट्राफिक प्रहरी, सवारी साधनको उचित मर्मत सम्भार र पूर्ण रुपमा चेकजाँचमा कडाई गर्ने हो भने बर्तमान बिकराल सडक दुर्घटनामा केही कमी ल्याउन सक्ने विश्वास गर्न सकिन्छ ।