देउवालाई फाल्ने दाउपेच छताछुल्ल

देउवालाई फाल्ने दाउपेच छताछुल्ल

आगामी महाधिवेशनमा शेरबहादुर देउवालाई पाखा लगाउने कोइराला परिवारको रणनीति बाहिर आएको छ । कोइराला परिवारका सदस्यहरु डा. शेखर कोइराला, महामन्त्री डा. शशांक कोइराला र सुजाता कोइरालाले फोटो सेशनमात्रै गरेको होइन । कोइराला परिवारको मातहत नल्याएसम्म कांग्रेसको हविगत नसुध्रने विचारसहित आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् । केही समय अगाडि जीपी कोइराला फाउण्डेशनको सार्वजनिक कार्यक्रममा कोइराला परिवारका तीनैजना सदस्यले देउवाको खोइरो खनेपछि यो रणनीति बाहिर आएको हो । 

कार्यक्रममा कोइराला परिवारका तीन सदस्यमध्ये डा. शशांक कोइरालाले देउवाको नामै लिएर उनको नेतृत्वमा पार्टीको भविष्य नरहने ठाडै भनेका थिए । डा. शेखर र सुजाताले देउवाको नाम त लिएनन् तर देउवालाई इङ्गित गर्दै बोक्रे भाषणले कांग्रेसको भविष्य नसुध्रने खुलै कुरा राखेका थिए ।

कांग्रेसका प्रकार र मुखिया

कांग्रेस नजिकका विश्लेषकहरुले तीनथरीको सङ्घर्षले निर्णायक मोड नलिएसम्म कांग्रेसको भविष्य अनिश्चित नै रहने भन्दै आएका छन् । ती तीनथरीका कांग्रेसहरुमा पहिलो पङ्क्तिमा फाइल बढुवा, दोस्रो पङ्क्तिमा छाताधारी र तेस्रो पङ्क्तिमा रिपब्लिकन कांग्रेस छन् । पहिलो फाइल बढुवा कांग्रेसमा देउवा र रामचन्द्र पौडेलहरु पर्छन् । विगतको कांग्रेसी आन्दोलनमा भाग लिएबापत बढुवा भएकोले उनीहरुका लागि यस्तो नाम जुराइएको हो । दोस्रो छाताधारीमा डा. शशांक, डा. शेखर, विमलेन्द्र निधी र प्रकाशमान सिंहहरु पर्छन् । कांग्रेसको पुस्तेनी नेतृत्व पितापुर्खाले गरेबापत सन्तान दरसन्तानमा आउने नेतृत्वलाई छाताधारी भन्ने गरिन्छ ।  रिपब्लिकन समूहका गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलहरु हुन् । 

दोस्रो जनान्दोलनमा गणतन्त्र स्थापित गर्ने भूमिकामा रहेकाहरु यो समूहमा पर्दछन् । तर, विश्वप्रकाश शर्मा यतिखेर रिपब्लिकन समूहभन्दा टाढा फाइल बढुवाको नजिक पुगिसकेका छन् । यी तीन पक्षको वैचारिक तथा प्राविधिक सङ्घर्षले निष्कर्ष ननिकालेसम्म कांग्रेसको भविष्य अनिश्चित नै देखिएको उनीहरुको ठहर छ । 

यी तीन पक्षहरुको वैचारिक तथा प्राविधिक सङ्घर्षले कुन मोड लिन्छ कांग्रेसको आगामी भविष्य त्यसैमा अन्तरनिहित हुनेछ । तर, दक्षिण एसियाको राजनैतिक नियतिलाई अपवादमा छोड्ने हो भने माथि उल्लेखित पहिलो फाइल बढुवा र तेस्रो रिपब्लिकन कांग्रेसीहरुले पार्टीको सत्ता आफू अनुकूल स्थापित गर्न सक्ने कुरामा विरलै सोच्न सकिन्छ ।

मृत्युपर्यन्त पार्टी नेतृत्व नछाड्ने कांग्रेसी संस्कृतिको अगाडि यसअघि पनि कोइराला परिवार रहुञ्जेल अरु थरीका कांग्रेसीले ढिम्किन पाएका थिएनन् । कोइराला परिवारका सुशील कोइरालासम्मले कांग्रेसको नेतृत्व गर्न भ्याएको पार्टीमा देउवाको आगमन एउटा संयोगमात्र थियो भन्न पनि सकिन्छ । कोइराला परिवारका सदस्यहरुको नेतृत्व लिने एकाकार निर्णय नहुँदा फाइल बढुवा कांग्रेसहरु पौडेल र देउवाबीच मल्लयुद्ध हुँदा देउवाले बाजी मार्न पुगेका हुन् ।

कोइरालालाई फुटाउने रणनीति

महाधिबेशन आउने दिनसम्म नदीहरुमा थुप्रै पानी बगिसकेको हुनेछ । यसर्थ देउवा खेमा अहिलेसम्म ढुक्क नै देखिएको छ । गत महाधिबेशनमा कोइराला परिवारका सदस्यहरुलाई एक ठाउँमा आउन नदिन देउवाले लिएको रणनीतिले उनको वर्चस्व स्थापित भएकोमा शङ्का गर्ने ठाउँ छैन । गत महाधिबेशनमा कोइराला परिवारका सदस्यहरु खुलेर एकमना लड्न सकेनन् ।

डा. शेखर र डा. शशांक एउटा पङ्क्तिमा देखिए पनि उनीहरु आफू स्थापित हुने ध्याउन्नमा मात्र लागेका थिए । तर, डा. शेखरले कांग्रेसीवृत्तको सबैभन्दा बढी मत स्कोर गरेका थिए । शशांकले पनि सजिलै जितेका थिए । यो प्रसङ्ग र समीकरण कोइराला परिवारको पक्षमा अहिले झनै बढेको दावी कांग्रेसीजनको छ । यसर्थ देउवा पक्षधरले कोइराला परिवारको कमजोर कडी डा. शशांकलाई पक्रेर कोइराला परिवारको हातबाट फेरि पनि आफ्नो पक्षमा कांग्रेसको नेतृत्व लिने उत्तिकै सम्भावना छ । उता देउवाले विश्वप्रकाश शर्मालाई फाइल बढुवा समूहअन्तर्गत पार्टीको प्रवक्ता पद दिएर आफ्नै समूहमा लतारिसकेका छन् ।

डा. शेखर भावी सभापति !

कोइराला परिवारको पारिवारिक छलफलमा आउँदो सभापतिका लागि डा. शेखर कोइरालालाई र अर्को पटक डा. शशांक कोइरालालाई सभापति बनाउने विषयमा निर्णय भएको उच्च स्रोतहरुले जनाएका छन् । केही दिन अगाडि सुजाता कोइरालाको निवासमा भएको कोइराला परिवारको जमघटले यो निष्कर्ष निकालेको बताइन्छ । नेतृ सुजाताले आगामी महाधिबेशनमा शेखर’दा र अर्को महाधिबेशनमा शशांक’दा अघि बढ्दा राम्रो हुने सुझाव दिएकी थिइन् । तर, अहिले नै यो कुरा बाहिर ल्याउँदा षडयन्त्र हुने सङ्केत शशांकले दिएका थिए । 

कोइराला परिवारले किलकिले सुरक्षित नराख्दा यो गोप्य बैठकको चुरो कुरो पनि बाहिर छताछुल्ल भइसकेको छ । फाइल बढुवा समूहका तर छाताधारी (कोइराला) पक्ष नजिक रहेका रामचन्द्र पौडेल र छाताधारी समूहकै प्रकाशमान सिंहको सहमति नलिई बाहिर निर्णय चुहाउँदा यी दुई पात्र विच्किने डर पनि त्यत्तिकै छ । 

नेतृ सुजाताले शेखर’दालाई अगाडि प्रस्तावित गर्नुको पनि अन्तरङ्ग महत्व छ । डा. शशांकको कमजोर नेतृत्वका कारण मात्रै उनले डा. शेखरलाई अगाडि सारेकी होइनन् । भविष्यमा पनि कोइराला परिवारभन्दा बाहिर कांग्रेसको नेतृत्व नजाओस् भन्ने उनको मनसुवा देखिन्छ । शशांक’दालाई अगाडि सार्दा कोइराला परिवारबाट फेरि पनि नेतृत्व बाहिर जानसक्ने तर शेखर’दालाई अगाडि सार्दा फेरि पनि कोइराला परिवारबाट नेतृत्व बाहिर जान नसक्ने र कांग्रेसका कमजोर कडी शशांक’दालाई राजनीतिबाट स्वेच्छिक अवकास दिने रणनीतिले काम गरेको छ । 

कोइराला परिवारको नजिकमा रिपब्लिकन समूह अहिलेसम्म देखिएको छैन । रिपब्लिकन समूह नेताविहीन छँदैछन् । वितेको महाधिबेशनमा कृष्ण सिटौलालाई गगन थापाको रिपब्लिकन समूहले नेता बनाउन खोजेको थियो । 

तर यो रणनीति बक्स अफिसमा फ्लप भयो । कृष्ण सिटौला र गगन थापाको उम्मेद्वारी करौंतीजस्तो मात्र भयो । भीमबहादुर तामाङ र नरहरि आचार्यजत्तिको मुद्दासहितको सम्म हुन सकेन ।

यतिमात्र होइन, रिपब्लिकन समूह नै छ्याल्लब्याल्ल भए । यो समूहमा थुप्रै युवा कांग्रेसीहरु छन् तर, प्राविधिक रुपमा एक ठाउँमा छैनन् । विचारमा एक, संगठनमा अनेक भएको समूहले कुनै एक पक्षलाई उठाउन पनि सक्तैन । 

कांग्रेसी राजनीतिको यो आन्तरिक उठापठकसँगै भू–राजनीतिले पनि त्यत्तिकै भूमिका खेल्छ । कांग्रेसमा राजनैतिक मुद्दा आदिले यसको नेतृत्वमा परिवर्तन गर्न सक्ने सम्भावना धेरै कम छ । यसो हुँदो हो त देउवाको तेजोबध अहिले नै भइसक्ने थियो ।

कांग्रेसभित्रको जय–पराजयमा प्राविधिक पक्षको भूमिका निर्णायक हुन्छ । यो प्राविधिक पक्षमा देउवा कमजोर देखिँदैनन् । निर्वाचनको प्राविधिक भूमिकालाई निर्वाह गर्न माहिर देउवालाई पछार्ने रणनीति कोइराला पक्षसँग बलियो उपस्थिति भइसकेको छैन । आगामी निर्वाचनमा प्राविधिक भूमिका निर्वाह गर्न सक्ने पक्षको नेतृत्व स्थापित हुने सम्भावना बढी छ । यसको प्रमुख  कारण हो कांग्रेसमा अब अराजनीति मात्र बाँकी छ । समयबद्ध साप्ताहिकबाट