शान्ति सुरक्षाको कोणबाट गृहमन्त्री वादलको एक वर्ष

शान्ति सुरक्षाको कोणबाट गृहमन्त्री वादलको एक वर्ष

गताङ्कमा गृहमन्त्री रामबहादुर थापा ‘वादल’ को एक वर्षको बारेमा टिप्पणी गरिएको थियो । त्यसमा यातायात सिण्डिकेटमा भएको सङ्घर्ष र त्यसको सफलताका बारेमा विस्तृत लेखिएको थियो । यही शृङ्खलाको दोस्रो कडीको रुपमा शान्ति सुरक्षाको अवस्थाका बारेमा विवेचना गरिएको छ । 

नेपालमा भएका महान् जनयुद्ध र जनक्रान्तिहरुको कूल योगबाट पुरानो सामन्ती युगको अन्त्य भई देशमा एक प्रकारको पुँजीवाद आएको छ । अबको नयाँ सन्दर्भमा नेपालका कम्युनिस्टहरुको कार्यभार भनेको बचेखुचेको सामन्ती अवशेषको समाप्त गर्नु,  दलाल तथा नोकरशाही पुँजीवादलाई परास्त गर्नु र प्रगतिशील पुँजीवादको विकास गर्नु पहिलो र महत्वपूर्ण अभिभारा हो । नेपालमा कम्युनिस्टहरुको नेतृत्वमा यो अभिभारा इमान्दारीपूर्वक पूरा गर्दैगर्दा समाजवादको नयाँ ढोका खोल्ने निश्चित छ ।

प्रगतिशील पुँजीवादले देशमा तीब्र बेगमा औधोगिकीकरण गर्दछ । यसले कृषिको आधुनिकीकरणमा जोड गर्न पुग्दछ । सडक, बिजुली, सिंचाई, खानेपानी, यातायात, पर्यटन आदि जस्ता पूर्वाधारमा गुणात्मक विकास गर्नु अनिवार्य हुन्छ । शिक्षा, स्वास्थ्यमा क्रमशः राज्यले आफ्नो लगानी बढाएर यसलाई पूर्ण रुपमा आफ्नोे दायित्वभित्र पार्नु, वैदेशिक सम्बन्धमा देशको हितलाई पहिलो प्राथमिकता दिएर सबन्धहरु पुनः ताजगी गर्नु आदि प्रगतिशील पुँजीवादका अहिलेका कार्यभारहरु हुन् । 

पुँजीवादको तीब्र विकासले नेपालमा बचेखुचेका सामन्ती अवशेषलाई समेत समाप्त पार्दछ  । यसले वर्तमानमा देखिएको आयात–निर्यातको असन्तुलनलाई हटाई सन्तुलित ब्यापार सम्बन्ध विकास गर्दछ्र । यी अभिभारा प्राप्त गर्न हाम्रो मुलुक शान्त र स्थिर रहिरहनु पर्दछ । यहाँ विकास र समृद्धिका लागि उचित शान्तिपूर्ण वातावरण बन्न जरुरी छ ।

तसर्थ, अहिले हाम्रो देशमा कम्युनिस्ट सरकारका मुख्य दुई वटा कामहरु छन्– शान्ति र समृद्धि । यी एक अर्कासँग अविभाज्य रुपमा सम्बन्धित छन् । एकको अभावमा अर्को पूरा हुनै सक्तैनन् । समृद्धिको योजना र कार्यान्वयनका लागि नेपालमा थुप्रै मन्त्रालय छन् र तिनले आफ्नो योजना बनाइरहेका छन् । जसको चर्चा गर्नु यो लेखको उद्देश्य होइन । यहाँ शान्ति र स्थिरताको सवालमा विगत एक बर्षको संक्षिप्त रेखाङ्कन गर्न लागिएको छ ।

क.रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएपछि सबैभन्दा ध्यान दिइएको विषय भनेकै देशमा शान्ति अक्षुण्ण बनिरहोस् भन्ने नै मुख्य रहेको छ । यसका लागि शान्ति भङ्ग गर्ने पात्र र प्रवृत्तिको पहिचान गरी त्यसको उचित व्यवस्थापन गर्नु हो । नेपालमा शान्ति र स्थिरताका लागि मूलतः पाँच वटा शक्ति र प्रवृत्ति बाधक छन् ।

क. विखण्डनकारी शक्तिहरु


नेपालको सार्वभौमसत्ता र एकतालाई विखण्डन गर्ने र यसको एकीकृत भूगोलबाट अलग भई स्वतन्त्र बन्ने सोचाइ राख्ने प्रवृत्ति केही वर्ष यता यहाँ बाह्य डिजाइनमा जबर्जस्ती लादिएको छ । खासगरी तराई/मधेसमा यो प्रवृत्तिले टाउको उठाउने कसरत गरिरहेको छ । यो नेपालको शान्ति र स्थिरता, देशको विकास र समृद्धिको एक नम्बरको समस्या हो । योसँग अत्यन्त कडाइपूर्वक राज्य पेश हुनु पर्दछ । यसका लागि सबै देशभक्त र राष्ट्रवादी शक्तिहरुको एकरूप समझदारी आवश्यक छ । 

विगतमा यस्ता विखण्डनकारी राष्ट्रविरोधी तत्वहरुलाई  बुझ्ने र हल गर्ने सवालमा केही कमी र सीमा देखिएका थिए । तर, विगत एक बर्ष यता बादल नेतृत्वको गृह मन्त्रालयले यस्ता अवाञ्छित तत्वहरुलाई कुनै पनि खेल्ने ठाउँ नदिई कडाइपूर्वक प्रस्तुत भएको छ । अहिले यसका मुख्य नेताहरु प्रहरीको नियन्त्रणमा छन् । गतिविधि अत्यन्त कमजोर र शून्यप्रायः छ । विगतमा केही छिटफुट हिंसात्मक गतिविधि हुने गरे पनि अहिले नियन्त्रणमा छ ।

ख. संविधान र व्यवस्था विरोधी शक्तिहरु

नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेकपाले लिएका विचार र उनका गतिविधि नेपालको मूल संविधान, कानुन र संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध छ । विप्लव समूह दिन प्रतिदिन उग्र र अतिवादतिरको उल्टो बाटोमा हिंडिरहेको छ । यसका वरिपरि क्रमशः संविधान र व्यवस्था विरोधी शक्तिहरु गोलबन्द हुने प्रक्रिया चलेको छ ।

रामबहादुर थापा ‘बादल’ गृहमन्त्रीमा आएपछि विप्लव समूहको उग्र र अतिवादलाई परास्त गर्ने र राज्यको मूल धारमा ल्याउने नीति लियो । उनीहरुको अवैधानिक र हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्ने काम तीब्र पा¥यो । कानुन र नियम आफ्नो हातमा लिएर गरिने कुनै पनि कामलाई राज्यले कहीं कतै सम्झौता गर्दैन भन्ने स्पष्ट अडान लियो । 

यति हुँदाहुँदै पनि विप्लव समूह उग्र र अतिवादी धाराकै भए पनि एउटा राजनीतिक समूह हो र ऊसँग राज्यले अभिभावकका रुपमा प्रस्तुत हुनु पर्दछ भन्ने मान्यता स्वरूप वार्ताको आह्वान भयो । उनीहरु वार्ताका माध्यमबाट मूल धारको राजनीतिमा आएर देशको सेवामा लागून भन्ने चाहना थियो । तर, वार्ताको समयलाई यो समूहले आफ्नो शक्ति सुदृढ गर्ने एक सूत्रीय अभियानमा लगायो र अवसर गुमायो ।

गत शुक्रवार देशका विभिन्न स्थानमा रहेका एनसेलका टावरहरुमाथि गरिएको नियोजित कारवाही, बिष्फोट र एक जनाको मृत्युका घटनाले उनीहरुको पछिल्लो रबैया उजागर भएको छ । सो समूह शान्तिपूर्ण राजनीतिक गतिविधिबाट हटेर हिंसात्मक कामतर्फ उद्दत भएको देखिन्छ । देशलाई अस्थिरतातर्फ लाने यो प्रवृत्ति शान्ति र समृद्धिको बाधक हो । यसका विरुद्ध कडाइपूर्वक जान बाध्य पारिंदैछ । आफूलाई राजनीतिक रुपमा नलगेर फौजी घटनालाई प्राथमिकता दिंदा उनीहरुलाई नै बढी घाटा छ । भावनाको कुरा उठाएर कसैले नरम रुख पनि अपनाउला तर राज्य निर्मम हुन्छ भन्ने मान्यतालाई उनीहरुले विशेष ढङ्गले बुझ्नैपर्छ ।  

ग. सरकारविरोधी समूह 

देशको मूल सविधान र कानुनलाई स्वीकार गरेर शान्तिपूर्ण आन्दोलन र गतिविधि गर्ने जोकोहीलाई पनि छुट छ र यसलाई स्वागत र प्रोत्साहन गर्नु पर्दछ । प्रतिपक्ष र अन्य शक्तिले सरकारका कमी–कमजोरीलाई उजागार र खबरदारी गर्नु लोकतन्त्रको सुन्दर पक्ष हो । सरकारले यी आवाज सुन्ने र जायज सरोकारलाई हल गर्न प्रयत्नशील भइरहनु पर्दछ । प्रतिपक्ष र अन्य शक्तिले पनि आफ्नो मर्यादा र सीमाको ख्याल राख्ने, जनमतको सम्मान गर्दै आफ्नो कामकार्वाही सञ्चालन गर्नु पर्दछ ।  

क. बादल गृहमन्त्रीमा आइसकेपछि प्रतिपक्ष र अन्य मित्रहरुसँग मूलतः सकारात्मक सहकार्य नै भइरहेको छ । 

घ. सामाजिक अपराध 

गृह मन्त्रालयको दैनिक काममा देशमा दिनहुँ हुने अपराधलाई नियन्त्रण गर्दै जनतालाई ढुक्कसँग दैनिक जीवन गुजार्ने अनुकूल वातावरण निर्माण गर्नु हो । यो दिशामा गृहमन्त्रालयले छिटफुट घटनाबाहेक पूरै सफलता पाएको छ । सिमानामा हुने अवैध चोरीनिकासी ठप्प भएको र पोहोरभन्दा यसपटक राजस्वमा तीन गुणासम्म बृद्धि भएको छ । हत्या, चोरी, लुटपाट, बलात्कारजस्ता सामाजिक अपराधमा संलग्न ९५ प्रतिशतभन्दा बढी अपराधी कानुनको फन्दामा आइसकेका छन् । निर्मला बलात्कार र हत्याजस्ता एकाध घटनामा प्रहरीले अनुसन्धान तीब्र पारेको छ । निर्मला बलात्कार र हत्याको सन्दर्भमा आगामी शृङ्खलामा राख्ने भएकाले यहाँ चर्चा नगरौं । 

विगतमा देखापरेको डन संस्कारका विरुद्ध गृहले कडाइ गरेका कारण यो प्रवृत्ति दबिएको छ । भ्रष्टाचार घुसखोरीका विरुद्ध कडाइ गरिएको र पहिलो उदाहरण गृह मन्त्रालय र योसँग सम्बन्धित निकाय हुनुपर्छ भन्ने स्पष्ट निर्देशन दिइएको छ । ‘भ्रष्टाचार म पनि गर्दिन र अरुलाई पनि गर्न दिन्न’ भन्ने प्रधानमन्त्रीको निर्देशनलाई अक्षरशः पालना गरिएको छ ।

ङ. बाह्य शक्तिहरु 

नेपाल रास्ट्रको विकास र समृद्धिका लागि हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय मित्रहरुको सहयोग आवश्यक पर्दछ । उनीहरुले हाम्रो मुलुकका विभिन्न परियोजनामा निकै ठूलो सहयोग गरेका छन् । आगामी दिनमा राष्ट्रले तीब्र गतिमा विकास गर्न यस्ता सहयोग गुणात्मक रुपमा आवश्यक छ । तर हाम्रोजस्तो पिछडिएको मुलुकमा खालि सकारात्मक सहयोग मात्र आउँदैन । योसँगै गलत ढङ्गले देशको राजनीतिमा प्रभाव पार्ने तत्व पनि हरदम सल्बलाइरहेका हुन्छन् । अझ अर्को देशलाई आघात पार्न हाम्रो मुलुकलाई प्रयोग गर्ने कसरत भएको पनि बेलाबेलामा देखिन्छन् । गृह मन्त्रालयले असंलग्न परराष्ट्र नीति अनुसार यस्ता अवाञ्छित गतिविधिलाई रोक्न कडाइपूर्वक काम गरेको छ ।

सारतः माननीय रामबहादुर थापा ‘बादल’ ले गृहमन्त्रीको पदभार सम्हाले यता शान्तिसुरक्षामा गुणात्मक प्रगति भएको छ । मुलुकलाई समृद्धिको यात्रा तय गर्न सबैभन्दा अनुकूल वातावरण बनेको छ ।

यो पनि पढ्नुहोसः  गृहमन्त्री वादलको एक बर्ष

 

गृहमन्त्री वादलको एक वर्ष : उपलब्धिको लामो फेहरिस्त