अष्ट्रेलियामा नेपाली विद्यार्थी अलपत्र पार्ने ठग कन्सल्टेन्सीलाई कसले गर्ने कारवाही ? 

अष्ट्रेलियामा नेपाली विद्यार्थी अलपत्र पार्ने ठग कन्सल्टेन्सीलाई कसले गर्ने कारवाही ? 

जायजेथा धितो जमानीमा राखेर महँगो ब्याजदरमा ऋण काढ्दै छोराछोरी विदेश पठाउने चलन हाम्रो समाजमा नौलो होइन । यस्ता कार्यहरु दिनदिनै जस्तो बढ्दै जानाले नेपाली विद्यार्थीको ठूलो हिस्सा विदेशी विश्वविद्यालय र कलेजहरुमा अध्ययनरत छ । सकेसम्म छात्रवृत्तिमा, त्यस्तो अवसर पाइएन भने निजी खर्च जोरजाम गरी पढ्न जानेको संख्या कम छैन । त्यसो त विद्यार्थी भिसामा गएर रोजगारीका लागि प्रयास गर्ने र त्यही आम्दानीबाट कलेजको शुल्क भुक्तानी तथा अन्य खर्च चलाउनुपर्ने बाध्यता अधिकांश नेपाली विद्यार्थीको छ ।

सामान्य हिसाबले छोराछोरीले विदेशको पढाइ सकी स्वदेश फर्किए त ठिक्कै भयो तर त्यस्तो नभएर कतै ठगिन पुगे वा अरुको नाजायज फन्दामा फस्न पुगे भने चाहिँ त्यस बेला छाँगाबाट खसेजस्तो झसंग हुने अवस्था आइपर्दछ । हो, यतिखेर अध्ययनका क्रममा अस्टे«लिया पुगेका सयौं विद्यार्थी अलपत्र परेको घटनाले नेपाली विद्यार्थी र अभिभावकको स्थिति त्यस्तै भएको छ । 

अस्टे«लिया सरकारले सम्बन्धन नै नदिएको कलेजमा भर्ना भएर पढ्दै आएका विद्यार्थीको भविष्य नै अन्योलमा परेको घटनाले नेपाली विद्यार्थी तथा अभिभावकलाई नराम्ररी झस्काइदिएको छ । अस्टे«लिया सरकारले नर्सिङ विषयमा सम्बन्धन तथा स्वीकृति नै नदिएको अस्टे«लियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी)मा मनपरी ढंगबाट भर्ना गरिएका, पढाइ सकेर स्वदेश फर्कने बेलामा पुगेका विद्यार्थीहरु कलेजको आधिकारिकतासम्बन्धी वास्तविकता थाहा पाएपछि उनीहरु यतिखेर उद्धारका लागि चौतर्फी गुहार माग्दै हिँडेका छन् ।

अलपत्र परेका विद्यार्थीको संख्या कुनै सञ्चारमाध्यमले एक हजार, कुनैले एक हजार पाँचसय तथा कुनैले दुई हजारभन्दा माथिको संख्या उल्लेख गर्दै आए पनि अलपत्र पारिएका विद्यार्थीको वास्तविक संख्या ७ सय ४३ पुगेको छ । ती विद्यार्थीलाई नेपालका विभिन्न तीन दर्जनभन्दा बढी कन्सल्टेन्सीहरुले कमिसनका लागि झुटो विवरण प्रस्तुत गर्दै विदेश पठाएका थिए । अस्टे«लियाका सिड्नी बिजबेलस्थित एआईबीटीको नर्सिङ विषयको पढाइ सञ्चालनसम्बन्धी आधिकारिकता पुष्टि नै नगरी हतार–हतार नेपाली विद्यार्थीलाई भर्ना गराउने तीन दर्जनमध्ये बढी विद्यार्थी पठाउने मुख्य १० वटा कन्सल्टेन्सीहरुको नाम पनि सार्वजनिक भएको छ । ती कन्सल्टेन्सीहरुमा एक्सपर्ट, मर्सी, कंगारु, अल्फाबिटा, काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल र एबीसी रहेका छन् ।

छानबिन कन्सल्टेन्सीहरुको मात्र होइन, त्यससँग सम्बद्ध सबै पक्षको गर्नु आवश्यक भइसकेको छ । अस्ट्रेलियाबाट पीडित विद्यार्थीले भनेका तथा भोगेका पीडाहरु, सम्बन्धित कलेजले केही समयसम्म वेबसाइटमा राखेको विवरण र केही समयपछि त्यसलाई परिवर्तन गरी राखिएको अर्कै विवरण, त्यस किसिमको फट्याइँसँग मिलोमतो गर्ने नेपाली कन्सल्टेन्सीका सञ्चालकहरु, विद्यार्थीहरुलाई झुटा विवरण दिएर फसाउने तथा ठगीको प्रपञ्च रच्ने बिचौलियाहरुको बारेमा पनि विस्तृतरुपमा बुझेर दोषी पत्ता लगाउनु आवश्यक छ ।