हुम्लामा रुघाखोकीले एकको मृत्युः स्वस्थ्यकर्मी बिरामी, गाउँ नै थला पर्यो 

हुम्लामा रुघाखोकीले एकको मृत्युः स्वस्थ्यकर्मी बिरामी, गाउँ नै थला पर्यो 

हुम्ला, १६ पुस । जिल्लाको खार्पुनाथ गाउँपालिका ३ रायागाउँ निवासी एक महिलाको मौसमी रुघाखोकीले मृत्यु भएको छ।  केही दिनयतादेखि फैलिएको मौसमी रुघाखोकीले गाउँ नै थला परेको छ।  

सोमबार राति रुघाखोकीले रायागाउँकी ३६ वर्षीया चुन्दा बुढाको मृत्यु भएको स्थानीय पूर्णबहादुर रोकायाले जानकारी दिए।

उनकाअनुसार मृतकका श्रीमान् घरमा छैनन्।  मृतक बुढाका एक छोरी, दुई छोरा गरी तीन नाबालक छन्।  मृतक बुढाको हिजै हिन्दू परम्पराअनुसार दाहसंस्कारसमेत गरिएको छ। रुघाखोकीले गाउँ नै थला परेपछि गाउँमै रहेको राया स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० जना उपचारका लागि आउने गरेको अहेव वीरसिंह रावलले जानकारी दिए।

रावल आफैं एक हप्तादेखि गाउँमा फैलिएको मौसमी रुघाखोकीले बिरामी भएर स्वास्थ्यचौकीमा जान सकेका छैन।  राया स्वास्थ्यचौकीमा यतिबेला उपचार गराउन ज्वरो आउने, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउनेजस्ता रोगका बिरामी आउने गरेको उनले बताए।  उनकाअनुसार अहिले राया स्वास्थ्यचौकीमा मौज्दात रहेको औषधि पनि सकिन लागेको छ।

हिउँदको महिना सुरू भएसँगै जिल्लाका सातै गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या बढेका छन्। मंसिर महिनाको अन्तिम साता परेको भारी हिमपातले बिरामीको सङ्ख्या अझ बढ्दै गएको छ।  जिल्ला अस्पताल हुम्लामा पनि बिरामीको चाप बढ्दै गएको छ।  रुघाखोकीका बिरामीले अस्पतालका शैया भरिभराउ हुने गरेको छ।