चर्चित गायिका अनुराधा पौडवाल आमा भएको ४५ वर्षीय महिलाको दाबी
काठमाडौ । भारतीय सिनेमाकी चर्चित गायिका अनुराधा पौडवाल आफ्नो जन्मदिने आमा भएको दाबी गर्दै ४५ वर्षीया एक महिलाले उनको विरोधमा मुद्दा दायर गरी ५० करोड क्षतिपूर्ति माग गरेकी छिन् । केरल प्रदेशको तिरुवन्तपुरममा बस्ने ४५ वर्षीया करमाला मोडेक्सले यो मुद्दा दायर गरेकी हुन् ।६७ वर्षीया चर्चित गायिका पौडवाल विरूद्ध पारिवारिक अदालतमा मुद्दा दायर गरिएको हो ।
उजुरीमा आफू ४ दिनको मात्र भएको बेला आमाले आफूलाई पालनपोषण गर्ने आमाबाबुको जिम्मा जगाएको उल्लेख गरिएको छ । पालन पोषण गर्ने आमालाई मलाई जन्मदिने आमाको बारेमा जानकारी नभएको पालन पोषण गर्ने बाउलाई मात्र यो थाहा भएको र मर्नेबेला यो जानकारी दिएको उनले उजुरीमा उल्लेख गरेकी छिन् ।
महिलाकी वकिलले पौडवालले यो दाबी गरे अदालतसमक्ष डिएनए परीक्षण गराइ पाउँ भनी निवेदन गर्ने चेतावनी दिएका छन । पद्यमश्री लगायत कतिपय राष्ट्रिय सम्मानबाट सम्मानित गायिका पौडवाल ४ दशकदेखि भारतीय सिनेमामा गाना र भजन गाउँदै आएकी छिन् । उनले म्युजिक कम्पोजर अरूण पौडवालसँग बिहे गरेको र उनीहरूका दुई सन्तान आदित्य र कविता रहेका छन् ।
महिलाको दाबी अनुसार ६ वर्ष अघि पालनपोषण गर्ने पिताले मर्नेबेला उनलाई पौडवाल जन्मदिने आमा भएको र त्यतिखेर गीत संगीत क्षेत्रमा क्यारिअर बनाउन खोजेकाले पालनपोषणको जिम्मेवारी लिन नचाहेको बताएका थिए । पालनपोषण गर्ने बाबु पौडवालका मित्र थिए । २७ जनवरीमा हुने यो मुद्दाको सुनुवाइका क्रममा पौडवाल र उनका सन्तानलाई अदालतमा उपस्थित हुन आदेश गरिएको छ ।
प्रतिक्रिया