पत्रकारितामा हरिबहादुरहरुको निषेधकारी पत्रकारिता विरुद्ध जनपक्षीय पत्रकारिता
झिल्को टिप्पणी
मध्य हिउँद अर्थात् पुस १२ शनिवारको मौसमी तापमान चिसै थियो तर प्रेस संगठनको केन्द्रीय समितिका पदाधिकारीले पद तथा गोपनियताको शपथ के खाएका थिए, मिडिया बजार र पत्रकारिताका स्वनामधन्य वरिष्ठहरुहरुदेखि कनिष्ठ, मिडियादेखि सामाजिक सञ्जालमा रोइलो गर्दै कथित पार्टी पत्रकारिताको विरोधले मौसम तताइरहेको छ । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र प्रचण्ड लगायतको उपस्थितिमा प्रेस संगठनका पदाधिकारीले प्रचण्डद्वारा मुट्ठी कसेर कसम खाएकै हुन । तर, प्रचार र आलोचना यसरी गरियो वा गरिदैछ कि उनीहरु सबै नेकपाका होलटाइमर कार्यकर्ता हुन, कलमजीवि नै होइनन् । वरिष्ठ पत्रकार किशोर नेपाल र सम्पादक हरिबहादुर थापाहरुका प्रतिक्रियाले मिडिया सञ्चालकदेखि मिडियाकर्मीसम्मलाई निकै झस्काएको मात्रै छैन, अनेकन प्रश्नहरुको घेरामा पारेको छ । यो प्रकरणले बहसमा ल्याएका प्रश्नहरुः
१.पुस १२ मा जन्मिएको हैन, प्रेस संगठन । त्यो तत्कालीन नेकपा एमाले सम्वद्ध प्रेस चौतारी र प्रेस सेन्टरको आपसी फ्युजनपछि बनेको संगठन हो । ओपन सेक्रेट हो कि दुई पार्टी हुँदादेखिकै ती पत्रकार संठगन पार्टीका विशिष्ट जनसंगठन थिए । पछि पार्टी एक भएपछि आपसमा अन्तरघुलन भएर प्रेस संगठन बनेको हो ।
जुन संगठनको जन्म नै पार्टीसँगको विशेष सम्बन्धका आधारमा भयो, तिनले माउ पार्टीका अध्यक्षसँग पद तथा गोपनियताको शपथ खाएर के गल्ती गरे ? यसैका आधारमा शपथ खाने पत्रकारलाई कसरी सामाजिक बहिष्कार गर्ने र किन ?
२. संविधानले नै जो कोहीलाई संगठित हुने अधिकार दिएको छ भने पत्रकारले विचार मिल्ने पार्टीसँग नजिक रहेर काम गर्न र तत् पार्टीका अध्यक्षबाट शपथ खानु कसरी अपराध हो र तिनलाई शपथ खाएकै आधारमा हरिबहादुर प्रवृत्तिले सामाजिक बहिष्कार गर्ने त ? सामाजिक बहिष्कार गर्ने के अपराध हो त प्रेस संगठनका सदस्य, पदाधिकारीहरुको ?
३.मान्छेले आफ्ना हरेक अभिव्यक्ति वा प्रतिक्रियामा आफ्नो वौद्धिक औकात पनि दर्साइरहेको हुन्छ । के हरिबहादुरहरु कथित स्वतन्त्रका पत्रकार वा सम्पादकका नाममा आफ्नो सुरुवाल फुस्केको थाहा नपाई अरुलाई नाँगो देख्ने भ्रममा परेका त होइनन् ? यसप्रकारको असहिष्णु र अराजक प्रतिक्रिया महजोडीका हरिबहादुरको शो मा त सुहाउला तर सम्पादकको कुर्सीमा बसेका हरिबहादुरहरुलाई सुहाउने हो र ?
४. अस्ति भर्खरै २०५६ सालमा होइन र नेपाल पत्रकार महासंघको अध्यक्ष हुँदाहँुदै तत्कालीन प्रधानमन्त्री किशुनजीको प्रेस सल्लाहकारको जागिर खान किशोर नेपालले महासंघको जिम्मेवारी नै मुल्तवीमा राखेर महासंघलाई टुहुरो बनाउँदै सिंहदरवारको आरामदायी कुर्सीमा हानिएको ? किशोर नेपाल स्तरका वरिष्ठ पत्रकारले सबै खाले पत्रकारको छाता संगठन महासंघबाट राजीनामा नै नदिई तत्कालीन प्रधानमन्त्रीको प्रेस सल्लाहकारको जागिर खाँदा चाहिँ के नेपाल पत्रकार महासंघ सिंहदरवारमै बुझाएको अर्थ लागेको थिएन र ? अध्यक्ष नै जागिर खान दौडिएपछिको अवस्थाको महासंघको हालत के थियो ? त्यतिवेला कार्यवाहक चलाएका देवेन्द्र गौतमहरुसम्म गएर हरिबहादुरहरुले सोध्ने कि ?
५. अहिले जम्मामा प्रेस संगठनले आफ्नो निकट वैचारिक आस्थाको दलका नेतासँग शपथ लिएका हुन । त्यो पनि अध्यक्षको निवासमा । अध्यक्ष नै प्रधानमन्त्री हुनु र उनी सरकारी निवासमा बस्नु एक संयोग बाहेक के हो र ? प्रधानमन्त्रीको सरकारी निवासमा जनसंगठनका कुनै पनि क्रियाकलाप गर्न त कतै प्रतिवन्ध छैन नि छ र ?
किशोर नेपालहरु महासंघ नै लिएर प्रधानमन्त्रीको जागिरे हुँदा हलक्क बढ्ने कथित व्यावसायिक पत्रकारिता प्रधानमन्त्रीको निवासमा शपथ लिदा भुतुक्कै मर्ने कुन आकार, प्रकारको जग र जमिनमा टिकेको छ भनेर किशोर नेपालहरुले नै थप अथ्र्याउनु पनि आवश्यक छ नि छैन र ? किशोर वा हरिबहादुरहरुका किस्सासँग मिले खाए व्यावसायिक हुने नत्र पार्टीगत हुने दृष्टिभ्रम र दृष्टिदोषबाट त्यो प्रवृत्ति नै मुक्त हुनु प¥यो नि पहिले, परेन र ?
६.यदि हरिबहादुर र किशोर प्रवृत्ति अनुसार मात्रै देशको पत्रकारिता बढाउने हो भने त देश फेरि एक पटक सबै पञ्च नेपाली, सबै नेपाली पञ्च भन्ने पञ्चायतकालीन एकदलीयतातिर फर्कन पर्ने भो । के २००७ यता जति अग्रजहरु लडे, त्यो सबै अहिले हरिबहादुर र किशोरहरुले वकालत गर्ने खालको निर्दलीयताको पक्षमा थियो त ? कोही कतै संगठित हुन मन पराउँदैन भने त्यो उसको रोजाइ हो । तर संगठित हुनु नै कसरी अपराध हुन सक्छ ? के नेकपा प्रतिवन्धित शक्ति हो त ?
७.शपथको भाषा, शव्दावली र सारको कुरा गर्दा गर्दा पनि प्रेस संगठनले पार्टी पत्रकारिताको अभिवृद्धिका खातिर प्रण गरेको छैन । कन्टेन्ट हेरेका, पढेका छन कि छैनन् किशोर र हरिबहादुरहरुले ? जनपक्षीय पत्रकारिताको कसम खानु के अपराध हो ? सामाजिक उत्तरदायित्वसहितको प्रेस स्वतन्त्रता भन्नु गल्ती हो ? के हरिबहादुर र किशोरहरु चाहि जनपक्षीय पत्रकारिताका विरोधी हुन त ? जनताको पक्षधरता लिने गरी पत्रकारिता गर्छु भन्ने शव्दावलीहरुसहितको कसम खानेहरुलाई सामाजिक बहिष्कार गर्नेसम्मको धम्की भनेको त पद्म ठकुराठीलाई जगत गौचनले कानो बनाए जस्तै नयाँ शैलीको शक्ति दम्भ वा धम्की होइन र ?
८. प्रधानमन्त्री निवासमा पार्टी सम्वद्ध गतिविधि नगर्नु राम्रो हो । तर त्यहाँ गर्नै नहुने गरी प्रतिवन्ध पनि त छैन । त्यसमाथि देशका कार्यकारी प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्षको खराब स्वास्थ्य अवस्था समेतलाई ख्याल गरेर त्यहाँ वैधानिक र जायज पार्टी गतिविधि हँुदैमा के आकाश खस्या छ र ?
९.पत्रकार आचारसंहिता पनि किशोर वा हरिबहादुर प्रवृत्तिलाई नलाग्ने प्रेस संगठनका पदाधिकारी मात्रैलाई लाग्ने त होइन होला ! किनकि किशोर प्रवृत्तिले सल्लाहकारको जागिरमा महासंघलाई सिंहदरवारमा बुझाउँदा हरिबहादुर प्रवृत्ति मौन वा ताली पड्काउने अनि प्रेस संगठनवालालाई मात्रै धारेहात गरेर सराप्ने गर्न मिल्छ र ? फेरि वालुवाटारको शपथले कही कतै गोयवल्स प्रचार वा ‘एल्लो जर्नालिज्म’ को प्रण गरेको पनि त होइन, हो र नारायण वाग्ले ज्यू ?
१०. इतिहास साक्षी छ, पंचायत विरुद्धको पत्रकारिता चारतारे र हसिँया हथौडा अंकित व्यानरमुनिबाटै अहिलेको तहसम्म आएकै कारण किशोर र हरिबहादुर जस्ता प्रवृत्तिहरु जन्मे हुर्केका हुन । फरक यत्ति हो चारतारेबाट झोली भरेपछि उग्राउनेहरुले वरिष्ठको पगरी गुथेर कथित व्यावसायिकता र स्वतन्त्रको अर्ति उपदेश दिन थालेका छन् । तर, आमजनताको जीवनस्तरमा जबसम्म आमुल परिवर्तन आउँदैन, तबसम्म जनपक्षीय पत्रकारिताको औचित्यमाथि हरिबहादुर वा किशोर प्रवृत्तिहरुले डकार्ने मालिकहरुको खानाले केही अर्थ राख्दैन । कुकुर भुक्दै गर्छ, हात्ती लम्कदै गर्छ ।
११. निश्चित रुपमा सत्य एक हुन्छ । सत्य यही हो, आम जनताको पक्षमा खुलेर गरिने पत्रकारिता अहिले पनि नेपाली माटोको खाँचो हो । गिरिजाप्रसाद कोइरालाले भने जस्तै मुठ्ठीभर टाइकुनहरुको हातमा रहेको कथित मुलधारे पत्रकारितामा हरिबहादुर वा किशोर प्रवृत्तिको पत्रकारिताले केवल मालिक र मालिकहरुका व्यवसाय र स्वार्थको मात्रै रक्षा गरिरहेको छ ।
यस्तो मालिककारिता विरुद्ध जनपक्षीय पत्रकारिताको आवश्यकता र औचित्य पुष्टि गर्न अब प्रेस संगठनका हर पदाधिकारी आआफ्नो ठाउँबाट शिरमा कफन बाँधेर उत्रिनै पर्छ । किनभने जनताको समृद्धि यात्राका लागि, देशको राष्ट्रियताको पहरेदारीका खातिर र सीमित दलाल पूँजीपति, विचौलियाहरुको हालीमुहाली रहेको पत्रकारिताको कर्पोरेट कथित व्यावसायिकताविरुद्ध प्रहार गर्न अझै जरुरी छ । आज पनि हरिबहादुर र उनको निषेधकारी पत्रकारिताका विरुद्ध जनवादी पत्रकारिताले नै हो । यसका लागि सबै आआफ्नो तहबाट योगदान गर्न तयार रहाँै, रहनै पर्छ ।
प्रतिक्रिया