किन नलिने नारायणकाजीले उम्मेदवारी फिर्ता ?
उसो त राजनीति कसैले पनि जोगी हुन गरेको हुँदैैन । सत्ता र शक्तिकै लागि मान्छे राजनीतिमा होमिन्छ । तर, जनता रिझाएर जनताको मन जित्ने राजनीतिमा अक्सर नेताहरुलाई हरदम सफलता मिल्दैन । त्यसैले धेरैलाई राजनीतिले जोगी पनि बनाइ दिन्छ । यो नियतिको शिकार भएका धेरै नेता सबैजसो पार्टीमा छन् ।
पछिल्लो आमचुनावको ताजा मतादेशको जगबाट हेर्ने हो भने नेकपाका प्रवक्ता समेत रहेका पूर्व उपप्रधानमन्त्री तथा परारष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ तत्काल सत्तामा जान वा माननीय हुन अस्वीकृत भएका पात्र हुन । उनले करीब दुई वर्ष पहिले सम्पन्न आम चुनावमा आफ्नो गृह जिल्ला गोरखाबाट आफ्नै पूर्व माओवादी सहकर्मी तथा समकक्षी डा. बाबुराम भट्टराईसँग आमचुनाव हारेर माननीय बन्न बञ्चित भएका हुन् ।
जनताबाट प्रत्यक्ष निर्वाचित हुने सांसदको चुनाव हारे लगत्तै नेता नारायणकाजीले अब यो कार्यकालभरि संसदमा पुनः उपचुनाव वा मनोनित भएर नजाने बाचा गरेका थिए । तर हिड्दैछ पाइला मेट्दैछ भने झैं अहिले उनै नारायणकाजी फेरि एकपटक राष्ट्रिय सभाको चुनावमा नेकपाका एक उम्मेदवार बनेका छन । पार्टीले गरेको निर्णय स्वीकार गरेको भन्ने गोलमटोल तर्कका आधारमा उनले आफू पुनः संसदको माथिल्लो सदनमा जान लागेको सगर्व स्वीकार गरेका छन् । उनले अहिले तल्लो सदन अर्थात् प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन हारेपछि फेरि जस्केलाबाट किन माथिल्लो सदन अर्थात् राष्ट्रिय सभामा जानुप¥यो त ?
के नारायणकाजीभन्दा योग्य र लायक नेता नेकपाभित्र थिएनन् त भन्ने प्रश्न एकातिर उठेको छ भने अर्कोतिर के राजकीय अवसरका पदहरु केवल डाडुपन्यु समातेका, पहुँचवालाका लागि मात्रै हुन त भन्ने गम्भीर बहस पनि नेकपावृत्तमा हुन थालेको छ । कुरा सिधा छ, नारायणकाजीको सरकारमा मन्त्री बन्ने उद्देश्यले नै माथिल्लो चुनावमा प्रवेश हुन लागेको हो । तर, पटकपटक सरकारमा गइसकेका र उपप्रधानमन्त्री नै भइसकेका उनलाई अहिले नै सरकारमा जाने गरी किन हतारो प¥यो त ? यो पनि अर्को प्रश्न हो ।
प्रत्यक्षतर्फको चुनावका हरुवा नेता नै राष्ट्रिय सभामा जाने कुरा नारायणकाजी जस्ता आदर्श र नैतिकताका गफ दिने नेतालाई सुहाउने कुरा पनि होइन । एकातिर यो ताजा मतादेशको अपमान गर्ने नेता र पार्टीको गलत निर्णय हो । अर्कोतिर फेरि बारम्बार लाभका पदमा आफूलाई मात्रै आकाँक्षी देखाउने उनको प्रवृत्ति पनि सही होइन । म यसपटक यो संसदमा कुनै पनि बाटोबाट जान्न भनेर सार्वजनिक घोषणा गरेका उनले अहिले पार्टीको निर्णय मान्नै प¥यो भनेर जान्छन भने उनको यो हदैसम्मको नैतिकहीन चरित्र हो । साथमा यो उनले वकालत गर्दै आएको एक नेता एक पदको नीतिको पनि ठाडो उल्लङ्घन हो ।
नारायणकाजी आफूलाई राष्ट्रवादी भावको आदर्शवादी नेताका रुपमा चित्रित गर्न मन पराउँछन । कहिले दौरा सुरुवाल लगाएर, कहिले देखाउनैका लागि केही दिन मात्रै सार्वजनिक यातायात माइक्रोमा चढेर, कहिले रोएर उनी आफ्नो फरक आदर्श देखाउन हरदम प्रयास गरिरहेका हुन्छन । यसरी आफ्नै देखावटी आदर्शलाई आफैले खुइल्याउने गरी उनी किन अहिले सांसद बन्नु प¥यो ? यदि उनले आफ्नै नैतिक आर्दशको रक्षा र पालना स्वयम्बाट गर्ने हो भने यो पटक राष्ट्रिय सभाको उम्मेदवार बन्दिन भनेर पछि हट्ने हिम्मत र साहस गर्न सक्नुपर्छ । पार्टीले आफूलाई उम्मेदवार बनाएकोमा पार्टीप्रति धन्यवाद दिदै उनले आफ्नो उम्मेदवारी आफैले फिर्ता लिएर आफै त्यागी रहेको उदाहरण देखाउन सक्छन कि सक्दैनन् त ? अबको केही घण्टाहरुमा नै उनले यो अग्नि परीक्षामा आफूलाई खरो उत्तार्न आवश्यक छ ।
नेकपाभित्र गण्डक प्रदेशभित्र नै खोपबहादुर कँडेल ‘चिराग’, झलकपाणि तिवारी, रामभक्त पौडेल, मोहनहरि पौडेल, लेखनाथ न्यौपाने जस्ता फरकफरक त्याग र सङ्घर्षको ताजा इतिहास भएका कैयन नेता कार्यकर्तालाई नेता नारायणकाजीले अहिले आफ्नो ठाउँमा उम्मेदवारका रुपमा सिफारिस गर्नसक्ने हो भने उनी महान त्यागी नेताका जीवन्त उदाहरण बन्ने छन् । उनले आफू मात्रै पदलोलुप र सत्तामुखी नरहेको उदाहरण देखाउन यो भन्दा उत्तम अवसर अरु छैन । के यो एक दुर्लभ अवसर सदुपयोग गरेर उदार, त्यागी र अन्य सहयोद्धाहरुप्रति सहिष्णु बन्ने उदाहरणीय छाती देखाउलान त नारायणकाजीले प्रस्तावित उम्मेदवारी त्यागेर ? यो उनको राजनीतिक जीवनमा इमान, जमान पूरा गर्ने र उदाहरणीय बन्ने एक दुर्लभ अवसर नै हो ।
बाहिर बाहिर जति ठूला कुरा गरे पनि नेकपाले स्थानीय रैथाने दुःख पाएका, संघर्ष गरेका वा नयाँ सम्भावना भएका नेताहरुका लागि राजकीय अवसरहरु समान रुपमा उपलव्ध गराउने परम्परा, विधि र नीतिलाई स्थापित गर्न सकेन । नारायणकाजी पनि त्यसमा अपवाद हुन सकेनन् आजसम्म । तर, अबका केही घण्टाहरुभित्र उनले आफूलाई अरुभन्दा अब्बल र फरक देखाउने हो भने उनले उम्मेदवारी फिर्ताको ऐतिहासिक निर्णय लिन सक्नुपर्छ ।
यदि उम्मेदवारी फिर्ता नलिएर उनी माथिल्लो संसदको सांसद हुने नै हो भने पनि यो पटक पनि उनलाई चुनाव जित्न फलामे ढोका पार गर्नैपर्ने चुनौती प्रसस्तै छ । उनको उम्मेदवारीको क्षेत्र भनेको हालसम्मका चुनावमा निरन्तर काँग्रेसले बाजी मार्दै आएको क्षेत्र हो । यस कारण प्रत्यक्षतर्फको चुनावका हरुवा नारायणकाजीलाई स्थानीय जनप्रतिनिधिहरु समेत मतदाता रहेको यो चुनावमा चुनाव जित्न सहज छैन । स्थानीय तहका मतदाताले उनलाई चुनाव हराइदिन सक्छन । किनभने उम्दा अनुकरणीय व्यक्तित्वका पर्याय उम्मेदवारका रुपमा उनी चुनावी मैदानमा उत्रिरहेका छैनन् ।
अर्को कुरा उनले आफूलाई मत नदिएर स्थानीय प्रतिनिधि मतदाताले कथंकदाचित उनलाई हराई दिए भने उनीसँगै पार्टीको पनि एक सिट मात्रै जाँदैन, लामो शाखमा पनि धक्का लाग्छ । काँग्रेस र समाजवादीले चुनावी तालमेल गरिसकेको अवस्थामा उनलाई हराउन विपक्षी गठबन्धन जोडतोडले लाग्ने पक्का छ ।
साथमा नेकपा र नारायणकाजीकै जीवनमा यो चुनावी मैदान जुवाको खतरनाक खाल जस्तो किन पनि छ भने उनका हकमा स्वयम् नेकपाभित्रैबाट अन्तरघात हुने प्रवल खतरा सामुन्नेमा छ । अहिले नारायणकाजी सरकारमा जानैका लागि सांसद बन्ने हुन । यद्यपि प्रतिनिधिसभामा हारेको व्यक्ति त्यसको कार्यकालभरि मन्त्री हुन नपाउने सम्वैधानिक बन्देज छ, मानौं त्यसको पनि गाँठो फुकाइला । विगतमा उपप्रधानमन्त्री नै भइसकेका कारण उनले अब सांसद बनेर सरकारमा जाँदा उपप्रधानमन्त्रीको हैसियत भन्दा तलको पोर्टफोलियोमा बस्न मिल्दैन, नैतिक वा राजनीतिक रुपमा पनि ।
तर, हाल सरकारमा पूर्व एमाले महासचिव समेत रहिसकेका ईश्वर पोखरेल उपप्रधान तथा रक्षामन्त्रीमा बहाल छन् । भोलि नारायणकाजीले चुनाव जितेर माथिल्लो सदन हुँदै सरकारमा जाने बाटो सहज बनाउनु भनेको हालको ईश्वर पोखरेलको पद वा हैसियतमा सौता लाग्नु सरह हो । जब आफैलाई सौता लाग्ने गरी कोही माननीय बन्दै छ भने ईश्वर पोखरेल खेमाको नेकपा मण्डलीले भित्री अन्तरघात गरेर नारायणकाजीलाई चुनावमा पराजीत नगरिदेला भन्ने कुनै ग्यारेन्टी पनि छैन ।
किनभने विगतमा प्रभावशाली नेता वामदेव गौतम देशैभर नेकपाको विजयी यात्रा सम्भव भएका बेलामा पनि गएको चुनावमा पराजीत भएको नजिर सबैका सामु दिनको घाम जत्तिकै छर्लङ्ग छ । र, आफू तत्कालीन पार्टी संस्थापनको अन्तरघातकै कारण पराजीत हुनु परेको तितो नेता गौतमले खुल्लमखुल्ला भन्दै आएका छन, जसलाई कुनै पनि नेकपा नेताले अस्वीकार गर्न पनि सकेका छैनन् । र, वामदेवकै जस्तो पार्टीभित्रैको अन्तरघातको शिकार नेता नारायणकाजी यसपटक नहोलान भन्ने कुनै ग्यारेन्टी छैन । यसका लागि नारायणकाजी विरोधी कित्ताले नेकपाभित्र जुनसुकै स्तरको कठोर कदम पनि चाल्न सक्ने सम्भावनालाई नकार्न सकिन्न ।
दुई पार्टी एकतापछि पनि नेकपामा भावनात्मक एकताको पाटो बाँकी नै छ भन्ने तथ्य हर नेकपा जनलाई थाहा छ । जसले जे भने पनि पूर्व एमाल ेकित्ताले पूर्व माओवादी कित्तालाई सकेसम्म किनाराकृत गर्ने, नसके अवसर दिएको जस्तो गरेर सिध्याइदिने कुटिल चालवाजी गर्ने गरेका दृष्टान्तहरुबाट नारायणकाजी स्तरका नेता बेखबर होलान भनेर कल्पना गर्न सकिन्न । त्यसैले नारायणकाजीका लागि अझै पनि यो चुनावी समरबाट आफै अलग हुने र अरु नयाँ, संघर्ष गरेका पार्टीभित्रैका सहकर्मीहरुलाई अवसर दिने स्वर्ण मौका छ । मौकामा चौका हानेर त्यागको प्रतिमूर्ति पात्र बन्ने कि पद र सत्तालोलुप बन्ने ? छनौट भने नारायाणकाजीकै हातमा छ ।
सुधारिएको संसदीय व्यवस्थाको वकालत गर्ने नेकपा वा तिनका नेता नारायणकाजीहरुले आफ्ना हरुवा पात्रलाई पठाउन राष्ट्रिय सभाको परिकल्पना गरेका पक्कै थिएनन् । विषयविज्ञहरुको थलोको रुपमा लिइने माथिल्लो सदन हरुवा नेताहरुको सरकारमा जाने जस्केलो होइन भने यसमा नेकपाले पनि आफ्नो निर्णयमा पुनर्विचार गनुपर्छ । माथिल्लो सदनको गरिमा बढाउन स्वतन्त्र, त्यागी, विज्ञ र नयाँ अनुहारमध्येबाट उम्मेदवार बनाउनु नेकपाको धर्म र कर्तव्य हो भने संविधानको मर्म र माथिल्लो सदनको गरिमा जोगाउने शैली हो ।
भोलि मानौं नारायाणकाजीले चुनाव हारे भने पनि नेकपालाई धक्का हुनेछ । जिते भने भने विगतमा कमल थापा र विमलेन्द्र निधिको पालामा जस्तो को वरिष्ठ उपप्रधानमन्त्री भन्ने किचलो बढ्ने निश्चित छ । अहिले पनि नेकपाको सचिवालय सदस्य, पार्टी प्रवक्ता तथा सरकारलाई दिशानिर्देश गर्नसक्ने र पार्टीलाई नयाँ ढंगमा हाँकेर आफ्नो भूमिकालाई अरु प्रखर बनाउन सक्ने ठाउँमा नै रहेका नारायणकाजीले अबको बाटो उदाहरणीय बन्नमा रोज्छन कि पदलोलुपताको रोज्छन ? यो उनकै विवेकमा भर पर्नेछ । पार्टीको सर्वमान्य नेता हुने अवसर हँुदाहँुदै सरकारै ताक्ने उनको नीति उनकै लागि अग्नि परीक्षा हो । जिते पनि हस्तिनापुर अर्थात् सिंहदरवारमा राज गर्ने पक्कापक्की नभएको र हारेमा त चपरीमुनिको वास अर्थात राजनीतिक स्खलनको भाषमा जाकिने चुनावी खालमा नारायणकाजीको छनौट यसै कारण पेचिलो छ ।
प्रतिक्रिया