भुकम्प पछिको पुनर्निर्माण: गुणस्तरहीन विद्यालय निर्माण, धरौटी रकम फिर्ता गर्न ठेकेदारको दवाव

भुकम्प पछिको पुनर्निर्माण: गुणस्तरहीन विद्यालय निर्माण, धरौटी रकम फिर्ता गर्न ठेकेदारको दवाव

सिन्धुली । भूकम्प पश्चात् पुनःनिर्माण प्राधिकरण मार्फत३ एसियन डेभपलपमेण्ट बैंक (एडीबी)को आर्थिक सहयोगमा निर्माण भएका सिन्धुलीका विद्यालय भवनहरु एक वर्ष नपुग्दै भत्कन थालेका छन् । विद्यालय निर्माण भएको एक वर्ष नबित्दै भत्कन थालेका बेला जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाले निर्माण कम्पनीले धरौटी राखेको ४२ लाख रुपैयाँ फिर्ता दिन विद्यालयलाई दबाब दिएपछि सो विवरणहरु बाहिर आएका हुन् । 

सिन्धुली जिल्लामा एक दर्जन बढी विद्यालय निर्माण भइसकेका र केही निर्माणको क्रममा रहेको छन् । निर्माण सम्पन्न भएका भनिएका कमला मा वि भलुवाही, जनजागृति मा वि भीमान र मा वि पानीट्याङ्कीको इस्टिमेट अनुसारका कामहरु नभएको र भएका पनि भत्कन थालेका छन् । एडीबीको छ करोड ८४ लाख रुपैयाँको सहयोगमा निर्माण भएका ती विद्यालयहरु निर्माण भएको एक वर्षसम्म समस्या आउने भएकाले निर्माण कम्पनीले धरौटी बापत राखेको एक करोड २६ लाख रुपैयाँ निर्माण कम्पनी स्वच्छन्द खानी जेभीलाई भुक्तानी दिन डीएलपीआईयु सिन्धुलीले दबाब दिएका थिए । 

समाचार स्रोतका अनुसार सोही उदेश्यले पुस १८ गते आफ्नै कार्यालयमा उनले तीन बिद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई बोलाएर छलफल गराएका थिए, तर सहभागीहरुले मापदण्ड अनुसार निर्माण नभएको र भएको पनि भत्कन र फुट्न थालेको भन्दै अहिलेकै अबस्थामा ठेकेदारले राखेको धरौटी बापतको रकम फिर्ता गर्न नसक्ने बताएका थिए । 

छलफलमा सहभागी कमला माविका प्रधानाध्यापक केशव बरालले कार्यालय प्रमुख सापकोटालाई भनेका थिए– ‘हाम्रो विद्यालय इस्टिमेट अनुसार निर्माण भएको छैन, भत्किने र फुटिरहेको छ, त्यस्तो गलत काम भएको देख्दादेख्दै हामी ठेकेदारलाई धरौटी बातपको रकम फिर्ता दिन सक्तैनौं, तपाई आफैंले दिन मिल्छ भने दिनुस् ।’ उनको कुरा सकिनासाथ मावि पानीट्याङ्कीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र भुजेलले ठेकेदार कम्पनीको लापरवाहीले समुदायमा आफुहरुले बद्नामी खेप्नुपरेको बताएका थिए । 

छलफलमा सहभागी कृष्णप्रसाद निरौलाले गुणस्तरहीन काम भएको र त्यसलाई सच्याएर बाँकी काम गर्छु र काम सकिनासाथ घरौटी पनि फिर्ता गरिदिने भन्दै ठेकेदार कम्पनीका मानिसलाई डीएलपीआईयुले लिखित सम्झौता गराएको जानकारी दिए । उनले आफ्नो विद्यालयमा बाहिरको पानी सबै विद्यालय भित्र छिर्ने र ढोकाहरुसमेत फुटेको बताए । अहिले हामीले सम्झोता अनुसारको काम हुन्छ कि हुन्न भनेर पर्खिरहेको बताए ।

तर, त्यसको गुणस्तर अनुगमनको जिम्मेवारी लिएको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाले खटाएका इन्जिनियर अनिल यादवले कुनै पनि गलत काम नभएको बताए । उनले ‘एक वर्षभित्र रेक्टिफाई’ भएकाहरुको विवरण संकलन गर्नका लागि छलफल गरिएको र त्यसमा कुनै पनि विद्यालयलाई रकम भुक्तानीका लागि पत्र दिन दबाब नदिएको उनले जिकिर गरेका छन् । गत आर्थिक वर्षमा सिन्धुली जिल्लामा ४९ वटा नयाँ विद्यालय र ६२ वटा शौचालय निर्माण गरिने कार्यक्रम थियो । यस वर्ष भने २९ वटा विद्यालय निर्माणको चरणमा रहेको इन्जिनियर यादवले बताए । 

यसैबीच निर्माण कम्पनी स्वच्छन्द खानी जेभीका प्रदीप खड्काले आफुहरुले निर्माण सम्पन्न भएका विद्यालयहरुको प्रक्रिया अनुसार धरौटी रकम फिर्ता लिइरहेको र निर्माणमा क्रममा केही टुटफुट भएका भौतिक संरचनाको काम सकेर रकम लिइने बताए । भलुवाही, भिमानका विद्यालयको टुटफुटको काम सकिसकेको र पानीट्याङ्ककीको मात्रै बाँकी रहेको उनले बताए । 

डीएलपीआईयु सिन्धुलीका प्रमुख शिव सापकोटाले विद्यालय निर्माणका क्रममा ठेकेदार कम्पनीका तर्फबाट प्रयोग गरिएका सामग्रीको गुणस्तरीयताका विषयमा आफ्नो तर्फबाट पटकपटक सचेत गराउँदै आएको र गुणस्तरहीन भवन निर्माण भएका विद्यालयको धरौटी वापतको रकम जफत गरिने बताए । निर्माणका क्रममा केही कमजोरी भएको र कमजोरीहरुलाई सच्याउनका लागि निरन्तर लागिरहेको उनको भनाई थियो । जग बलियो भए पनि विद्यालयको  बाहिरी गुणस्तरमा कमी आएका केही विद्यालयको काम गर्नका लागि ठेकेदार कम्पनीलाई आफुले दबाब दिएको तर धरौटी बापतको रकम फिर्ता दिनका लागि हाम्रो तर्फबाट कसैलाई पनि दबाब दिने काम नभएको र विद्यालयले तोकिए बमोजिक विद्यालय राम्रो छ, भनेर चिट्ठी नदिएसम्म धरौटी बापतको रकम फिर्ता गर्न नसकिने सापकोटाले समयवद्धसँगको कुराकानीमा उल्लेख गरेका छन् । समयबद्ध साप्ताहिकबाट