महरा र महाराज
साइँला भाइ
‘कहाँ राजा राम कहाँ गंगु तेली’ भन्ने उखान त प्रचलित नै छ । यसको सिधा अर्थ हो महाराजा रामको अगाडि गंगु तेलीको कही लाग्दैन भन्ने हो । यो उखानको चरितार्थ फेरीपनि भएको छ । एकै प्रकृतिको मुद्धामा महाराजलाई माफी र तेलीहरुलाइ फाँसी हुनु अनौठो विल्कुलै होइन ।
अहिले यस्तै दुइजना पात्रहरु यतिखेर चर्चाको शिखरमा छन् । ती एउटै नाम राशी भएका पात्रहरु हुन् कृष्णबहादुर महरा र कृष्णदास जी महाराज । दुबैको खास नाममा भने कुनै फरक छैन । एकजना पूर्व सभामुख कृष्णबहादुर महरा हुन् भने अर्को कृष्णबहादुर गिरी ।
यतिबेला दुवै एउटै किसिमको अभियोगमा कानूनी कठघरामा छन् । तर महाराज जी धरौटीमा रिहा भएका छन् भने महरा पुर्पक्षमा जेल बस्न बाध्य छन् । यतिमात्र होइन, महराले प्रहरी हिरासत पनि नियमानुसार गुज्रान गरे । महाराज जी ले भने प्रहरी हिरासतको साटो विराट नर्सिङ होमको सुविधासम्पन्न कक्षमा विताए । महरा अहिले पनि डिल्लीबजारको सदरखोरको चिसो छिँडीमा मुद्धाको गणित वकिलहरुसँग केलाएर बसिरहेका छन् । महाराज जीले बलत्कार गरेकै हो भनिकन उनकै पूर्व भक्तिनीले बारम्बार जिकिर गर्दै आएकी छिन । महाराज भक्तिनीहरुको भक्ष गर्ने प्रमुख पात्र रहेको जिकिर महिलावादीहरुले जुलुस ¥याली निकालेर गरिनै रहेका छन् ।
यता महराको हकमा भने उनकी पूर्व अनुयायी रोशनी शाहीले बारम्बार महरा निर्दोष भएको अखण्ड निवेदन गर्दै आएकी छिन । पहिले महराले तलमाथि गरेको सार्वजनिक गरेपनि त्यो भुलचुकमा भएको जिकिर गरेको पनि लामै लिखत छ । अदालत मै गएर शाहीले अखण्ड निवेदन गर्दा पनि उच्च अदालतलेसमेत उनको निवेदनलाई दरपीठ गरिदिएको छ ।
यहिँनेर आएर महरा र महारजमा फरक परेको हो । महरा विचरा गंगु भए । कृष्णदास राजाहरुको पनि राजा महाराजा श्रीराम भएकाले यस्तो हुन गएको हो । सतीले सरापेकै भरमा थुरथुर काँप्ने नेपालमा महाराजहरुको अगाडि स्वाभावैले डराएका हुनन । कतै सिद्धबाबा तपस्वी कृष्णदास महाराजले भष्म गरिदिने धम्कीकै डरले उनले छुटकारा पाएका पनि हुनसक्छन् । यसर्थ महाराजका कस्तै अपराध पनि कानूनले, न्यायले नदेख्नु अनौठो होइन । महाराजहरुका लागि सात खत माफी मिनाहा हुने यो देशमा महराले बली चढ्नु नै थियो । महाराजलाई माफी र महरालाई अदालतले पुनः सास्ती दियो भनेपनि अनौठो नमाने हुन्छ । कि कसो ? समयबद्ध साप्ताहिकबाट
प्रतिक्रिया