अमेरिकी सदनद्वारा ट्रम्पको सीमा पर्खाल संकटकाल विरूद्ध मतदान

अमेरिकी सदनद्वारा ट्रम्पको सीमा पर्खाल संकटकाल विरूद्ध मतदान

अमेरिकी सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा पर्खाल खडा गर्न लगाएको संकटकालको विरोधमा मतदान गरेको छ ।

तर, अमेरिकी सदनको यो विरोधले राष्ट्रपति ट्रम्पको विशेषाधिकार ‘भिटो’लाई नियन्त्रण भने गर्न नसक्ने देखिएको छ । राष्ट्रपतिको भिटो पावरलाई निस्क्रिय पार्न दुई तिहाईको बहुमत आवश्यक हुनेछ । यो भने भएन ।

अमेरिकी सदनमा डेमोक्रेट्सहरूको बहुमत छ । उनीहरू ट्रम्पको संकटकाल विरूद्ध एकजुट छन् । डेमोक्रेट्सका अतिरिक्त १३ रिपब्लिकन सांसदहरूले पनि पर्खाल संकटकालको विरोधमा मत जाहेर गरेका छन् । उनीहरूले पनि ट्रम्पले पर्खाल निर्माणका लागि अधिकार प्राप्त गर्न नसकुन भन्ने चाहेका छन् । 

यो विधेयक अब रिपब्लिकनको बहुमत भएको सदन सिनेटमा प्रवेश गर्नेछ । त्यहाँ यसबारे के हुने भन्न गाह्रो छ । रिपब्लिकन पार्टीका नेताहरूमा ट्रम्पको पर्खाल बनाउने योजनाको आंशका रहेको छ । ट्रम्पले यसलाई भिटो प्रयोग गरी अघि बढ्ने बताइसकेका छन् ।

ट्रम्पले पर्खाल बनाउन आवश्यक रकम अमेरिकी कांग्रेसबाट पाउन नसकेपछि संकटकाल लगाएर पनि पर्खाल बनाउने बाटो रोजेका थिए । अन्य उद्देश्यका लागि छुट्टयाइएको आठ अर्ब अमेरिकी डलर पर्खाल बनाउन खर्च गर्न उनले संकटकालको घोषणा गरेका हुन् ।

संकटकालको विरोधमा १६ राज्यका महान्यायाधिवक्ताहरूले ट्रम्पको संकटकालको विरोधमा मुद्दा दायर गरिसकेका छन् । यसैगरी अमेरिकाका ५८ पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले संयुक्त रूपमा ट्रम्पको यो कदमको विरोध गरिरहेका छन् ।