दुई दाजुभाइको भिडन्तले रोमाञ्चक बन्यो प्रदेश २ मा राष्ट्रियसभा निर्वाचन

दुई दाजुभाइको भिडन्तले रोमाञ्चक बन्यो प्रदेश २ मा राष्ट्रियसभा निर्वाचन

जनकपुर, २४ पुस । राष्ट्रियसभा सदस्य पदका लागि माघ ९ गते हुन लागेको निर्वाचनमा दुई दाजुभाइको भिडन्तले यतिबेला प्रदेश २ तर्फ सबैको ध्यान तानिएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन जस्तो राष्ट्रियसभा निर्वाचनलाई जनताले खासै महत्व नदिने भए पनि फरकफरक पार्टी र गठबन्धबाट सहोदर दाजुभाइ नै चुनाबी प्रतिपस्र्धामा उत्रिएपछि सबैको ध्यान प्रदेश २ मा हुने निर्वाचनमा तानिएको हो । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को गठबन्धनको तर्फबाट राजपाले पूर्वमन्त्री मृगेन्द्र कुमार सिंह यादवलाई उम्मेदवार बनाएको छ भने नेपाली काँग्रेस र समाजवादी पार्टीको गठबन्धनका तर्फबाट अनिरुद्ध प्रसाद सिंह यादवलाई उम्मेदवार बनाएको छ ।

सप्तरीको बोदे बसाइन नगरपालिका ५ निवासी दुबै सहोदर दाजुभाइ हुन् । मृगेन्द्र दाजु र अनिरुद्ध भाइ हुन् । 

राजपाले पार्टीका बरिष्ठ उपाध्यक्ष मृगेन्द्रलाई अन्य समूह र अर्का बरिष्ठ उपाध्यक्ष शेखर सिंहलाई आपाङ्ग तथा अल्पसंख्यक सूचीबाट उम्मेदवार बनाएको छ भने समाजवादी पार्टीले पनि मृगेन्द्रका भाइ अनिरुद्धलाई अन्य समूहको सुचीबाटै उम्मेदवार बनाएपछि कसैले बाजी मार्ने भन्ने सबैको चासोको बिषय बनेको छ । 

हुनत यी दुबै दाजुभाइको यो पहिलो आमने सामने चुनावी संघर्ष होइन् । यसअघि गत २०७० सालको संविधानसभा निर्वाचनमा दुबै दाजुभाइ चुनाबी प्रतिष्पर्धामा थिए । मृगेन्द्र तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट र अनिरुद्ध मधेशी जनअधिकार फोरमबाट सप्तरी क्षेत्र नम्बर ६ मा उम्मेदबार बनेपछि त्यहाँ नेपाली काँग्रेसका सुरेन्द्र प्रसाद यादव निर्वाचित भएका थिए ।

 मृगेन्द्र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सप्तरी क्षेत्र नम्बर ४ बाट उम्मेदबार बनेका थिए । तर उनी काँग्रेसका तेजुलाल चौधरीसँग पराजित भएका थिए । 
    
जातीय मतलाई नियन्त्रणमा राख्न राजपा र समाजवादी दुबैले एकै परिवारका यादव दाजुभाइलाई अगाडि सारेको बताइएको छ । यसरी एकै परिवारका दाजुभाइ नै राष्ट्रियसभा सदस्य पदमा उम्मेदवार भएपछि चुनाबी परिणामको बिषयलाई लिएर बिभिन्न किसिमका बिश्लेषणहरु शुरु भएका छन् । चुनाबी अंकगणितमा कुनै फेरबदल नभए मृगेन्द्रको जीत सुनिश्चित रहेको  देखिन्छ । दाजुभाइमा कसले बाजी मार्ला ? भन्नेबारे अहिले निकै तर्क वितर्क र बहस हुन थालेको छ । चिया गफमा समेत मृगेन्द्र र अनिरुद्ध दाजुभाइकै उम्मेदवारी विषय बनिरहेका छन् । सबैले दाजुभाइमा कसको कति मत आउँछ भन्ने विषयमा अडकलबाजी गरिरहेका छन् । 

प्रदेश २ मा १ सय ३६ स्थानीय तह छन् । जसका प्रमुख उपप्रमुख गरी २ सय ७२ तथा प्रदेश सभा सदस्य १ सय ७ गरी कुल ३ सय ७९ मतदाता छन् । जसमध्ये राजपा–नेकपा गठबन्धनको प्रदेश सभातर्फ ५७ र स्थानीय तहतर्फ १ सय २७ मत गरी १ सय ८४ मत रहेको छ भने समाजवादी–काँग्रेस गठबन्धनको प्रदेश सभा तर्फ ४९ र स्थानीय तहतर्फ १ सय ३३ मत गरि १ सय ८२ मत रहेको छ । यस्तै नेपाली जनता दलको २ र संघीय समाजवादी पार्टीको एक मत रहेको छ ।  
    
क्रस भोटिङ, खरीद बिक्री लगायतका उलटफेर नभए राजपा–नेकपा गठबन्धन उम्मेदवारको जित लगभग सुनिश्चित् मानिन्छ । तर, गोप्य मतदान भएकाले जे पनि हुन सक्ने भन्नेहरुको कमी पनि छैन् । 

कतिपयले दुबै दाजुभाइको चुनाबी प्रतिप्रस्र्धालाई स्वाभाविक भनिरहदाँ अधिकांशले दलहरुबीचको कूटनीति भएको आएको बताइरहेका छन् । एउटै परिवारका दाजुभाइलाई उम्मेदवार बनाएर मधेश केन्द्रीय राजपा र समाजवादीले ठीक नगरेको भन्दै ती दलको चर्काे आलोचना भइरहेको छ ।
 
मधेशको नाममा थुप्रैलाई शहीद बनाउने ती दुबै दलले यतिबेला पैसा र पावरकै बलमा दाजुभाइलाई उम्मेदवार बनाएको भन्दै शहीद परिवार मात्रै होइन्, आमसर्वसाधारणहरुले समेत ती दुबै दलको खुलेरै आलोचना गर्दै छन् । 

ठूलाबडा, आफ्ना आसेपासेलाई मात्रै उम्मेदवार बनाउँदै आएका ती दलहरु दाजुभाइलाई नै उम्मेदवार बनाएर परिवारबादमा फसेको स्वयम् राजपा र समाजवादी पार्टीकै कतिपय नेताहरुले आरोप लगाइरहेका छन् । 

मधेश र मधेशी जनता तथा शहीद परिवारप्रति इमान्दार नरहेको पुष्टि यसबाट समेत भएको टिप्पणी गर्दै स्थानीयहरुले आन्दोलन सर्वसाधारणलाई उतारेर शहीद बनाउने तर अवसर दिने बेलामा ठूलाबडा, पहुँच र पैसालाई बनाउने गरेको आरोप समेत लगाएका छन् । यसको बदला आगामी निर्वाचनमा जनताले लिने दुबै दलसँग सम्बद्ध बुद्धिजीवीहरुको तर्क छ ।