मानवीय सहायताको नाममा अमेरिकाले किलाकाँटी र तार पठाउँदै

मानवीय सहायताको नाममा अमेरिकाले किलाकाँटी र तार पठाउँदै

आफूलाई मन नपरेकालाई जसरी भए पनि सत्ताच्युत गराउँदै आएको अमेरिकाले भेनेजुएलाका निर्वाचित राष्ट्रपति निकोलास मदुरो हटाउन त्यहाँका अमेरिकी समर्थित प्रतिपक्षीलाई मानवीय सहायताको नाममा किला काँटी र तार पठाउन थालेको छ ।

किलाकाँटी र तारजस्ता वस्तुको प्रयोग गरी भेनेजुएलाका प्रतिपक्षीले मदुरो सरकार विरूद्ध हतियार बनाउन सकून भन्ने उद्देश्यले यस्ता वस्तु मानवीय सहायता सामग्रीको नाममा पठाइएको हो ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेजाले यसबारे जानकारी दिँदा यो विषय सार्वजनिक भएको हो । भेनेजुएली विदेशमन्त्री अरेजाले मानवीय सहायता सामग्री भनी पठाइएका ट्रकहरूमा किलाकाँटी र तारका बन्डलहरू रहेको खिचिएको फोटो देखाए । 

कोलोम्बिया र भेनेजुएलाको सीमा नाकाबाट मदुरो सरकारले मानवीय सहायताको सामान लादिएको भनिएका ट्रकभित्र प्रवेश गर्न नदिएपछि भिडन्त भएको थियो । प्रतिपक्षीहरूले नै ट्रकमा आगो लगाई उपद्रो मच्चाइरहेका बेला नियन्त्रणमा लिइएको ट्रकभित्र किला काँटी र तार फेला परेको फोटो देखाएर स्थितिबारे उनले जानकारी दिएका हुन् ।

अमेरिकाले राष्ट्रपति मदुरोलाई हटाएर त्यहाँको प्रतिपक्षी नेता जुआन गुआइदोलाई राष्ट्रपति बनाउन चाहेको छ । स्वघोषित राष्ट्रपति गुआइदोलाई अमेरिकाले मान्यता दिएर त्यहाँको सत्ता स्थापना गराउन चाहेको छ ।

सुरक्षा परिषद्मा भेनेजुएलाका लागि विशेषदूत इलियट अब्राम्सले सुरक्षा परिषद्का सदस्य देशहरूलाई भेनेजुएलाका राष्ट्रपति मदुरोलाई शान्तिपूर्ण ढंगबाट पदत्याग गर्न दबाब दिन आग्रह गरेका थिए । 

राष्ट्रसंघका लागि रूसी राजदूत भसिली नेबेन्जीयाले  सदस्य देशहरूलाई अमेरिकाको यो कदम हस्तक्षेप भएको भन्दै यसलाई फिर्ता लिन आग्रह गरेका थिए । मानवीय सहायताका नाममा अमेरिकाले सन् १९८०मा निकारागुवामा हस्तक्षेप गरेजस्तै इलियट यहाँ पनि त्यस्तै गर्न खोजेको उनले आरोप लगाएका थिए ।