भारतले सीमा समाधान गर्न पठाएको दोस्रो पत्रको जवाफ दिन बाँकी
काठमाडौ । नेपालले सीमा समस्या समाधान गर्न पठाएको प्रस्तावको जवाफ भारतबाट आउन बाँकी रहेको छ । भारतसँग यसबारे छलफल तयारी गरिरहेका परराष्ट्रका अधिकारीहरूले दोस्रो पटक पठाइएको पत्रको जवाफ फर्कि बसेका छन् । परराष्ट्रले पठाएको दोस्रो पत्रमा वार्ताको मिति र स्थानबारे तय गर्न भनिएको र त्यो पत्र भारतीय पक्षबाट आइ नपुगेको हो ।
नेपालसँग जोडिएको सीमा समस्या समाधान गर्न नेपालले पठाएको कूटनीतिक नोटको जवाफ भारतले दिएर दुई देशबीचको सीमा विवाद समाधान वार्ता र संवादबाट गर्न तयार रहेको जनाएको थियो । नेपालले सचिव स्तरमा हुने त्यो वार्ताका लागि प्रस्ताव गरेको हो ।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले संसदीय समितिका बैठक तथा परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सीमा समस्या समाधान गर्न सरकार संवेदनशील रहेको र यसबारे गृहकार्य भइरहेको जनाएका थिए ।
गत नोभेम्बर २ मा भारतले नयाँ नक्सा सार्वजनिक गर्दा लिम्पियाधुरा सम्मको भूभाग आफ्नो सीमामा पारेको थियो । जवाफमा नेपाल सरकारले नोभेम्बर ६ मा लिम्पियाधुरा, कालापानी क्षेत्र नेपालको भएको प्रस्ट्याउँदै भारतको एकतर्फी निर्णय मान्य नहुने जनाएको थियो ।
त्यसपछि नोभेम्बर १० मा प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा बसेको सर्वपक्षीय बैठकबाट सीमा समस्या समाधान गर्न राष्ट्रिय सहमति निर्माण भएको थियो । सीमा क्षेत्रको यथार्थ स्थिति पत्ता लगाउन अनुगमन समिति गठन गर्ने निर्णय भएअनुसार परराष्ट्र मन्त्रालयको नेतृत्वमा नोभेम्बर १५ मा समिति गठन समेत भएको थियो ।
नोभेम्बर २० मा भारतले वार्तामा बस्न सकारात्मक रहेको कूटनीतिक नोट मार्फत जवाफ दिएलगत्तै नोभेम्बर २३ मा नेपालले सचिव स्तरीय वार्ताको प्रस्ताव ग¥यो । त्यसको जवाफ पनि भारतले दियो । तर नयाँ मिति घोषणा गर्ने विषयमा भने भारतको जवाफ नआइपुगेकोले हामी पर्खि बसेको परराष्ट्रका अधिकारीहरूले जनाएका छन् ।
प्रतिक्रिया