खुल्यो नेपालका लागि चिनियाँ बन्दरगाह 

खुल्यो नेपालका लागि चिनियाँ बन्दरगाह 

काठमाडौ । चीनले नेपाललाई जनवरी १ देखि चिनियाँ बन्दरगाह उपयोग गर्न पाउने गरी पत्र पठाएको छ । यो पत्रबाट नेपालले अब व्यापारिक प्रयोजनका लागि चीनका चार सामुद्रिक र तीना सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने बाटो खुलाएको हो । २०७४ भदौ २१सम्पन्न नेपाल र चीन वाणिज्य सहसचिवस्तरीय बैठकमा पारवहन तथा यातायात सम्झौताको कार्यविधि तय गरिए अनुसार नै ती बन्दरगाहहरू उपयोग गर्न पाउने सुविधा नेपालले पाएको हो ।

सहमति अनुसार नेपालले अन्तर्राष्ट्रिय व्यापार गर्न चीनका तियान्जिन, सेन्जेन, लियान्युगाङ र झ्याङ्झियाङ सामुद्रिक बन्दरगाह तथा लान्जाओ, ल्हासा र सिगात्से सुक्खा बन्दरगाह उपयोग गर्न पाउने भएको हो । यो सहमति सन् २०२०को  जनवरी १ देखि कार्यान्वयनमा आएको हो ।

बन्दरगाह उपयोग बाहेक दुई देशबीच थप नाका प्रयोग गर्ने पाउने विषयमा पनि सहमति भए अनुसार अबदेखि चीनतर्फ पारवहनका लागि रसुवा, कोदारी र यारी तथा द्विपक्षीय व्यापारका लागि किमाथाङ्का, नेचुङ (कोराला) र ओलाङ्चुङ्गोला गरी छवटा नाका प्रयोग गर्न सकिने भएको हो । साथै नेपालमा दर्ता भएका ढुवानीका साधन अनुमति लिएर सिगात्सेसम्म आउन जानसक्ने सहमति  भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली २०७२ चैतमा चीन भ्रमणमा गएका बेला दुई देशबीच पारवहन तथा यातायात सम्झौता भएको थियो । त्यसबारे थप कार्य  २०७५ असारमा प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदा हुनुपर्ने सो सम्झौता कार्यान्वयन गर्ने कार्यविधिमा हस्ताक्षर हुन सकेको थिएन् । त्यसैले बन्दरगाह उपयोग गर्न पाउने सम्झौताको कार्यान्वयनमा ढिलाइ हुन पुग्यो ।

सक्दो छिट्टो टुंग्याउने सोही सहमति अनुसार दुई देशबीच ल्हासा, बेइजिङपछि र तेस्रोपटक काठमाडौमा सम्पन्न दुई पक्षीय बैठकले कार्यविधिलाई टुंगो लगाएको थियो ।  सो सहमति जुटेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको गत वैशाख तेस्रो हप्ता चीन भ्रमणमा जाँदा दुई देशबीच त्यसमा हस्ताक्षर भएको थियो । त्यतिखेर नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका तर्फबाट यातायातमन्त्री ली छियाङपेङले हस्ताक्षर गएका थिए ।

त्यो हस्ताक्षरमा दुवै देशले एक अर्कालाई यो सम्झौता कार्यान्वयनका लागि गर्नुपर्ने आवश्यक तयारी गरी जानकारी दिनुपर्ने र दिएपछि बन्दरगाह प्रयोग गर्न पाउने सहमति भएको थियो । नेपालले केही महिनाअघि नै यसको जानकारी दिएपनि  चीनबाट जानकारी आउनुपर्ने थियो । चीनले जनवरी १ देखि प्रयोग गर्न पाउने गरी जानकारी प्राप्त भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले जानकारी सार्वजनिक गरेका हुन् ।

 चीनको बन्दरगाह दक्षिण कोरिया, जापान र ती देशको नजिकका देशबाट सामान ल्याउँदा नेपाललाई सहज हुने अपेक्षा गरिएको छ । अहिलेसम्म तेस्रो मुलुकसँगको व्यापारको बाटो भारत भएर मात्र थियो । यसबाट भारतमाथिको निर्भरता घट्दै जाने देखिएको छ । नेपालका व्यापारीले हाल भारतका दुईवटा बन्दरगाहमार्फत नेपालमा सामान आयात निर्यात गर्दै आएको अब उनीहरूले चिनियाँ बन्दरगाहबाट पनि व्यापार गर्न पाउने छ । नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय व्यापार साझेदार भारतपछि  दोस्रो ठूलो अन्तर्राष्ट्रिय व्यापार चीन रहेको छ ।