प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने मनसाय छैनः मन्त्री ज्ञवाली

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने मनसाय छैनः मन्त्री ज्ञवाली

काठमाडौं, २८ पुस । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले मानव अधिकार हनन हुने गरी कुनै पनि विधेयक नल्याएको दाबी गरेका छन् ।

संसदमा पेस भएको सूचना प्रविधिसम्बन्धी विधेयकलाई संकेत गर्दै मन्त्री ज्ञवालीले मानव अधिकारलाई संकुचित पार्छ भन्ने चिन्ता व्यक्त भइरहेको बताउँदै मानव अधिकारका सिद्धान्त, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने मनसाय सरकारको नभएको बताए ।

सोमबार राष्ट्रिय मानव अधिकार आयोगले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रता छ भन्दैमा अर्काको मानव अधिकारलाई हनन गर्ने अधिकार संविधानले पनि नदिएको बताए । उनले स्वतन्त्र छु भन्दैमा अरु कसैको आँखा घोच्ने गरी हात फैलाउने किसिमले मानव अधिकारको व्याख्या गर्न नहुने समेत बताए ।

उनले सरकार देशभित्र संविधानले निदृष्ट गरेका मानव अधिकारका विषयहरुलाई कार्यान्वयन गर्ने र अन्तर्राष्ट्रिय रुपमा समेत बिस्तार गर्ने रचनात्मक भूमिका खेल्न तत्पर रहेको समेत प्रतिवद्धता व्यक्त गरे । मन्त्री ज्ञवालीले कसैलाई देखाउन तथा सन्तुष्ट पार्नका लागि मात्र मानव अधिकारको कुरा गर्न नहुने समेत बताए । उनले मानव अधिकार, शान्ति र विकासलाई एकसाथ लैजान नसके मानव अधिकार सुनिश्चित हुन नसक्ने समेत बताए ।