सिन्धुली गढीमा शालिकको राजनीति !

सिन्धुली गढीमा शालिकको राजनीति !

 फणीन्द्र फुयाल ज्वाला

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा देशका थप दुई स्थानमा एकैसाथ शालिक अनावरण भएका छन् । सिन्धुली जिल्लाको सिन्धुली गढी किल्ला परिसर र काठमाडौंस्थित नेपाली सेनाको हेडक्वार्टरमा आइतबार पृथ्वी नारायणका नयाँ शालिकहरू अनावरण भए । नेपाल एकीकरण गर्ने राजा र रजौटाहरूको मान सम्मान गर्ने बेला बल्ल आएको हो कि !

जनयुद्धको जगमा बिभिन्न राजनीतिक पार्टीको सहभागितामा जव नेपालमा ०६२/६३ सालको दोस्रो जनआन्दोलन हुँदै थियोे र जनताको तागतले राजाको प्रत्यक्ष शासन अन्त्य गर्यो तव देशका अधिकाँश स्थानमा ठडिएका राजाहरूका शालिक धमाधम तोडिए । काठमाडौंको कालिमाटी चोकमा रहेको राजा महेन्द्रको शालिक ढालियो र त्यहाँ कवि शिरोमणि लेखनाथ पौड्यालको शालिक उभ्याइयो । आन्दोलनकारीहरूले जहाँ जहाँ राजाका शालिक देख्थे त्यहाँका शालिक तोडेरै छाड्थे । शालिकको मात्र के कुरा ? राजाको नाम पनि देख्नै हुदैनथ्यो त्यतिबेला । राजको नाम जोडिएको महेन्न्द्ररत्न क्याम्पसको नाम मेटाउन खोजियो, रत्नराज्यलक्ष्मी क्याम्पसको नाम मेटाउन खोजियो, त्रिभुवन विश्वविद्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नाम पनि मेटाएर नेपाल विश्वविद्यालय र नेपाल अन्तराष्ट्रिय विमानस्थल नाम राख्न खोजिए । तर खै, किन हो ? कलेजका भित्तामा लेखिएका ती नामहरू मेटिए पनि कागज र ऐनमा लेखिएका नामहरू भने मेटिएनन् । त्यही भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन विश्वविद्यालय भने ज्यूँका त्यूँ छन् । 

देश संघीयता, धर्मनिरपेक्षतासहित लोकतान्त्रिक गणतन्त्र घोषणा भएको एक दशक पूरा भइसकेको छ । तर यतिबेला देशका अधिकाँश स्थानमा पुनः राजा रजौटाका शालिकहरू निर्माण हुन थालेका छन् । अंग्रेजी नयाँ बर्ष सन् २०२० को सुरुआत भएसँगै नेपाल सरकारले भ्रमण वर्ष घोषणा गरेको छ । यो भ्रमण वर्षमा करिव २० लाख पर्यटन भित्र्याउने लक्ष्य नेपाल सरकारको रहेको छ । सायद पर्यटक भित्र्याउन पनि हुनसक्छ गढी र किल्लाहरूमा पृथ्वीनारायण शाहका शालिकहरू धमाधम निर्माण गरेर अनावरण गरेको ।

हो, इतिहासलाई मर्न दिनु हँदैन । इतिहाँस बिर्सनु पनि हुँदैन । इतिहास बिर्सियो भने मरेका लाश र तिनका आत्माले बाँचेकाहरूलाई सताब्दीयौँसम्म धिक्कारी रहन्छन् । इतिहास पुस्ताहरूमा सर्दै र हस्तान्तरण हुँदै जानु पर्छ, तर त्यसलाई तोडमोड र आफू अनुकूल भने कदापी बनाउनु हुँदैन ।

यहाँ सवाल हो सिन्धुली गढी परिसरमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिकको । बडामहाराजधिराज पृथ्वीनारायण शाहको नेपाल निर्माणमा र एकीकरणमा ठूलो योगदान छ । उनले एकापसमा लडेर बसेका बाइसे र चौबीसे राज्यहरूलाई एक नबनाएका भए भारतमा आफ्नो किल्ला गाडिसकेका अंग्रेजहरू नेपालमा पनि आक्रमण गर्थे र उनीहरूको अधिनमा नेपालीहरू बस्नुपथ्र्यो । यसअर्थमा पृथ्वीनारायण शाहले युद्ध लडेका स्थानहरू कीर्तिपुर, कान्तिपुर, र नुवाकोटको किल्लाहरूमा उनको सम्मानस्वरूप शालिक खडा गर्दा अझ राम्रो हुन्थ्यो । सिन्धुली गढीमा पृथ्वी नारायण शाहको शालिक बनाउँदा फिल्डमा लड्ने कमाण्डरहरूको शालिक जोड्नुपथ्र्याे ।

के हो सिन्धुली गढी युद्ध ?
नेपाल आक्रमणको लागि भारतबाट जनकपुर हुँदै काठमाडौंतर्फ हिँडेको ब्रिटिस सेनालाई सिन्धुली गढीमा वि.सं. १८२४ मा नेपाली सेनाले आक्रमण गरी असोज १५ गतेको दिन पराजित गरेर विजय प्राप्त गरेको थियो । अत्याधुनिक हतियारसहित आएको ब्रिटिस सैनिकलाई गढीमा बसेका नेपाली सेनाले तोप तथा ढुँगा मुढा हानेर आक्रमण गरेका थिए । उनीहरूले जंगलमा रहेको अंरिगालको गोलामा ढुँगा हान्दा अरिंगाल बिच्किन गई ब्रिटिस सेनालाई टोक्दा ब्रिटिस सेना भागाभाग भएको इतिहासमा उल्लेख छ । भाग्ने क्रममा उनीहरूलाई लेकाली सिस्नो र अल्लोले पोलेपछि ब्रिटिस सेना तितरवितर भएका थिए । ब्रिटिस सेनाको नेतृत्व गर्दै आएका कप्तान किनलक पराजय स्वीकार गरी भागेर भारत फर्किएका थिए । यदि सिन्धुली गढीको युद्ध जितेको भए ब्रिटिस सेना सुनकोशीको गढतिर क्षेत्र हुँदै काठमाडौं पस्ने पक्का थियो ।

इतिहासविद् प्रा. दिनेशराज पन्तले लेखेको पुस्तक ‘महामण्डालदेखि काँकडासम्म’ मा पनि १८२४ साल असोज १५ गते नै गोर्खाली फौजले विजय हासिल गरेको उल्लेख छ । (पन्त, दिनेशराज महामण्डलादेखि काँकडासम्म । विसं १८२४ श्रीशाके १६८९ संवत १८२४ मासे ६ दिनगता ९ सोमवासरे फिरंगि हाँडिसाहेबले सिंधुलि मा¥याको दिन हो, हाम्रा पाल्मी भाग्या आस्विणवादी १४ रोज २ ।। पुनःआस्विणमासे दिनगता १५ रविवासरे दिन चतुर्थ प्रहरी पौवामा फिरंगि हाडिसाहेबसमेत् पल्टन २ हटायाको दिन। सेनापति श्रीकाजि श्रीहर्ष पंथ वंसराज पांडे सय चार पाच फिरंगि बंदुक ल्यायाको दिन हो । आस्विणशुद्धि ४ रोज १)

इतिहासविद् पन्तले शोध तथा अनुसन्धान गरी तयार पारको तथ्याङ्कलाई आधार मान्ने हो भने अव यो गढीमा पृथ्वीनारायण शाहको शालिक मात्र होइन शालिक निर्माण गर्दा सेनापति श्रीकाजि श्रीहर्ष पंथ वंसराज पांडेको पनि शालिक निर्माण गर्नुपर्छ । फिल्डमा कमाण्ड गर्ने वंशु गुरुङ र वीरभद्र उपाध्यायको पनि शालिक निर्माण गर्नुपर्छ । विगतमा राजा महाराजाहरूको इतिहास जसरी निर्माण गरिएका थिए, लोकतान्त्रिक गणतन्त्र अझ कम्युनिष्ट सरकार भएको अवस्थामा पनि फिल्ड कमाण्डर, बहादुर योद्धालाई उपेक्षा गरेर राजा महाराजाको मात्र शालिक निर्माण गर्नु किमार्थ सही होइन ।  

इतिहास शिरोमणी बाबुराम आचार्यले १८२४ असोज १५ (तदनुसार २८ सेप्टेम्बर १७६७) मा नै गोर्खालीले अंग्रेज फौजविरुद्ध विजय प्राप्त गरेको उल्लेख गरेका छन् । (आचार्य, बाबुराम र जनरल भीमसेन थापा र यिनको उत्थान तथा पतन । यसरी विसं १८२४ को आश्विन महिनामा सिन्धुलीका ‘पौवा–गढी’ को आसपासमा कम्पनी–सरकारका अङग्रेजी सैनिकहरूसँग गोरखा राज्यका सैनिकहरूको एकपटक आमने–सामने लडाईँ भइसकेको थियो र दुवै पक्षले एक–अर्काको बल, बुद्धि र सैन्य–शक्तिको पनि राम्रोसँग परिचय प्राप्त गरिसकेका थिए (विसं १८२४ आश्विन १५ गते, तदनुसार २८ सेप्टेम्बर इ.सं १७६७ ।) यो सन्दर्भलाई नेपालका गढीहरूबारे लामो समय अध्ययन गरेका नेपाली सेनाका पूर्वसहायक रथी डा. प्रेमसिंह बस्न्यातले पनि ‘नेपाल अङ्ग्रेज युद्धको २०० वर्ष’ पुस्तकमा सापटी लिएका छन् ।

सिन्धुली गढीमा तीन दिनसम्म युुद्ध भएको अनुमान गरिएको छ । इतिहास शिरोमणी बाबुराम आचार्य, इतिहासविद् प्रा. दिनेशराज पन्त र गढीबारे लामो समय अध्ययन गरेका पूर्वजर्नेल डा.प्रेमसिंह बस्न्यातले लेखेको पुस्तकमा समेत असोज १५ गते नै सिन्धुली गढीमा गोर्खाली फौजले विजय हासिल गरेको कुरा स्पष्ट छ । त्यतिखेरको लडाईको नेतृत्व गरेर बृटिश फौजलाई पराजित गर्ने मुख्य कमाण्डरको उपेक्षा हुनु इतिहासप्रतिकै अन्याय हो । समयबद्ध साप्ताहिकबाट