२० करोड घुस मागेको मलाई थाहा छः मन्त्री भट्टराई 

 २० करोड घुस मागेको मलाई थाहा छः मन्त्री भट्टराई 

सिन्धुली÷संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले चिकित्सा सेवा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रूपैयाँ माग गरेको भन्दै आफूलाई टेलिफोन मार्फत बताएको खुलासा गरेका छन् ।

प्रेस संगठन नेपाल सिन्धुलीले ऐतिहासिक सिन्धुलीगढी क्षेत्रमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री भट्टराईले सो कुराको खुलासा गरेका हुन् । गिरीले २० करोड रूपैयाँ घुस मागे, अब म के गरौं, भन्दै टेलिफोन गरेका थिए, मैंले उनलाई ‘यो विषय मेरो क्षेत्रको नभएकाले श्रद्धेय पार्टी अध्यक्षलाई नै सो कुरा राख्नुस्’ भनेको थिएँ, मन्त्री भट्टराईले भने । भ्रमण वर्ष २०२० को सन्दर्भमा भट्टराईसहितको जम्बो टोली अष्ट्रेलिया गएपछि समाजिक सञ्जालमा चर्को आलोचना खेपेको सन्दर्भमा सोधिएको प्रश्नमा उनले हाँस्दै भने– ‘योगेश भट्टराई जहाँ जहाँ जान्छ, त्यहाँ यस्तै हल्लीखल्ली भइहाल्छ नि ! उनले भ्रमण वर्ष २०२० का क्रममा सिन्धुलीगढीलाई युद्ध पर्यटनका रूपमा अगाडि बढाउन आफूले कुनै पनि कसर बाँकी नराख्ने बताएका थिए । प्रेस संगठनका जिल्ला संयोजक बुद्ध आछामीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो । 

राष्ट्रिय एकता दिवस अर्थात पृथ्वी नारायाण साहको २९८ औं जन्मजयन्तीका अबसरमा कमलामाई नगरपालिकाले सिन्धुली गढीमा निर्माण गरेको पृथ्वीनारायणको पूर्ण कदको शालिक अनावरण गर्न सिन्धुलीगढी आएका पर्यटनमन्त्री भट्टराईले खुलेरै पृथ्वीनारायण शाहको प्रसंसा गरेका थिए । हामीले ब्रिटिस र तिव्वतीहरूसँग लडेको स्मरण गर्दै पृथ्वीनारायणकै कारण विश्वमा नेपाली भनेर चिनिएको बताए । शाहकै कारण हामी केही ठाउँमा बाहेक हामीले पराजय भोग्न नपरेको र अहिलेकै अबस्थामा रहन सफल भएको उल्लेख गर्दै भट्टराईले सिन्धुलीगढीबाटै कप्तान किनलकको नेतृत्वलाई परास्त गरेका शाहलाई कुशल सेनापति र रणनीतिकारको संज्ञा दिंदै विशे नगर्चीसँग मित लगाएर आम जनताको मनोभावना बुझ्दै बृहत् राष्ट्रिय एकता कायम गर्ने संगठक भएको बताए । सम्वोधनको अधिकांश समय शाहकै गुणगान गाउन र सिन्धुलीको ऐतिहासिक वीरतामा खर्चेका उनले कमलामाई नगरपालिका र मेयर खड्ग खत्रीलाई पटकपटक धन्यवाद दिइरहेका थिए ।

पूर्वमन्त्री तथा सांसद् हरिवोल गजुरेलले पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए नेपाल कुनै भारतीय प्रान्तका रूपमा रहने बताए । सशस्त्र संघर्ष थालनी गर्दा पनि माओवादीले पृथ्वीनारायण शाहले तत्कालीन अबस्थामा खेलेको भूमिकालाई स¥हानीय कदम भएको उल्लेख गर्दै पूर्व कृषिमन्त्रीसमेत रहेका गजुरेलले उनैले थालेको युद्ध कौशलतालाई अँगाल्दै माओवादीले सशस्त्र संघर्ष गरेको स्मरण गराएका थिए । त्यसैगरी सांसद गणेश पहाडीले सिन्धुली जिल्ला पर्यटनका दृष्टिले अत्यन्त सुन्दर रहेकाले सरकारको तर्फबाट त्यसको प्रवद्र्धनका लागि सहयोग गर्न आग्रह गरेका थिए । 

नेपाली कांग्रेसका नेता माणिक ढकालले सिन्धुलीगढी, हरिहरपुरगढी मात्रै होइन, सिङ्गो जिल्लाका सबै स्थानीय निकायमा पर्यटकहरू आकर्षित गर्ने स्थलहरू रहेको बताउँदै त्यसको संरक्षण र प्रचारप्रसारमा सरकारको ध्यान जानुपर्ने बताएका थिए । कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीको अध्यक्षतामा भएको थियो । 

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज विषमलाल अधिकारी, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, नेपाली सेनाका ९ नम्वर बाहिनीपति, गणपति, नेकपाका सह इन्चार्ज उमा कोइराला, कमलजंग राई, केशव देवकोटा, प्रल्हाद पोखरेल, ज्वालाप्रसाद न्यौपाने, सूर्य पाख्रिन, यमकुमार देवकोटा, नारायण बरालको सहभागिता रहेको थियो । समयबद्ध साप्ताहिकबाट