चिनियाँ ‘टेक’ व्यापार युद्धको कारण

चिनियाँ ‘टेक’ व्यापार युद्धको कारण

विश्वकै पहिलो र दोस्रो ठूलो अर्थतन्त्रको रूपमा रहेका अमेरिका र चीनबीच एक अर्काको उत्पादित वस्तुमा अतिरिक्त भन्सार महसुल थप्ने प्रतिस्पर्धाले आर्थिक क्षेत्रमा व्यापार युद्धकै रूप लिएको छ । विश्वका  अर्थतन्त्रहरूलाई सबैभन्दा बढी असर पार्ने विषय सूचना प्रविधिको उन्नत विकास र कृत्रिम बौद्धिकता –एआई) लगायतका  प्रविधि वा टेक्नोलोजीको विकास हो ।

अमेरिकाका टेक्नोलोजी कम्पनीहरूमा लगानी र व्यापारका  सम्बन्धहरू अहिले विश्वको पहिलो अर्थतन्त्र भइरहने  प्रतिस्पर्धाको रूपमा विकास भइरहेको छ । विकासशील देशहरूको समूहबाट चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रूपमा उदाएको छ । चीनको उदयले यी दुईबीच वर्चस्वको स्वाभाविक प्रतिस्पर्धालाई तीव्र पारेको छ ।

सन् २०१६मा सम्पन्न निर्वाचनमा जीत हासिल गर्ने रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले चीन लगायत बाँकी विश्वसँग शत्रुताको सम्बन्ध विकास गरिरहेको कतिपय अमेरिकीहरूको बुझाइ रहेको छ ।
प्रविधि क्षेत्रको विकासले यी दुई देशबीचको शीत युद्ध चलिरहेको मान्ने हो भने यसको आरम्भ सन् २०१८ मान्नु पर्ने देखिन्छ । युद्धको वेग र विस्तार सन् २०१९मा भएको बुझ्दा हुन्छ । प्रविधि शीतयुद्धको  केन्द्रमा चिनियाँ टेक्नोलोजी कम्पनी हुवावेइ र यसको फाइभ जीलाई नै विश्लेषकहरूले मानेको  देखिन्छ । फाइभ जी प्रविधिमा चिनियाँ कम्पनी हुवावेको वर्चस्वले अमेरिका र चीनबीचको व्यापार युद्ध गहिरो पारेको छ । विश्व अर्थतन्त्रका अन्य क्षेत्रहरू र वैज्ञानिक अनुसन्धानमा आधारित उत्पादनमूलक क्षेत्रहरूलाई यसले प्रभावित गरिरहेको छ । व्यापार युद्धबाट क्षति कम गर्न व्यापार सम्झौताको पहिलो चरण ‘फेज वान’मा हस्ताक्षर हुने देखिएको छ । फेज वानमा हस्ताक्षर हुनसके सन् २०२०मा विश्व आर्थिक परिदृश्यमा केही सुधार हुन सक्ने अपेक्षा गरिएको छ । तर, यी दुई देशबीचको प्रविधि प्रतिस्पर्धाले यति छिट्टै व्यापार सम्झौता हुनेमा हौसिने अवस्था देखिन्न । अनि यसले समग्र विश्वलाई नै प्रभावित पार्ने आंशका बढाउँछ ।

सन् २०१९को मे महिनामा हुवावेमाथि आफ्नो दबाब बढाउन कठोर प्रतिबन्ध लगाउँदै अमेरिकाको व्यापार विभागले हुवावे र यससँग आबद्ध ६८ कम्पनी विरूद्ध आर्थिक नाकाबन्दी लगायो । अमेरिकी सरकारको पूर्व अनुमति बिना अमेरिकी कम्पनीले सामान बिक्री गर्न नपाउने प्रतिबन्ध लगाइएको हो । अमेरिकाको वाणिज्य विभागले यो प्रतिबन्ध लगाए यता अमेरिकाका केही महत्वपूर्ण कम्पनीहरूका लागि दुई पटक निलम्बन गरियो । गुगल र माइक्रोसफ्ट जस्ता कम्पनीले हुवावेसँगको व्यवसाय गर्न यो प्रतिबन्ध खारेज गरिए  ।

हुवावेका प्रमुख कार्यकारी रेन झेङफेइले दिएको एक अन्तर्वार्तामा हुवावे बाँचिरहने विश्वास व्यक्त गरे । साथै  अमेरिकी उत्पादन बिनाको उत्पादन गर्न हुवावेको विकास गर्ने बताए । 
नोभेम्बरमा अमेरिकाको संघीय नियोग एफसीसीले प्रतिबन्ध लगाइएका कम्पनीसँग कारोबार गरे सरकारी अनुदान नदिइने निर्णय गर्यो । 

साथै, एफसीसी प्रशासनले अमेरिकी कम्पनीलाई संवेदनशील हार्डवेयर, सफ्टवेयर वा डेटा सर्भिसजस्ता खरिद बिक्रीसम्बन्धी विषयमा जुनसुकै बेला रोक लगाउन सक्ने नयाँ अधिकार वाणिज्यमन्त्रीलाई दिने प्रस्ताव गर्दै अमेरिकाका सहयोगी र मित्र देशहरूलाई हुवावेको उपयोग नगर्न दबाब दिने काम गरिरह्यो ।

चिनियाँ कम्पनी हुवावेको व्यापारिक गतिविधिलाई यसले धक्का दियो । यसैबीच जर्मनीकी चान्सलर एन्जेला मर्केलले हुवावेका लागि ढोका खुलाइ दिएपछि अमेरिकी राष्ट्रपति ट्रम्पको योजनालाई धक्का पुग्न गयो । अर्कोतर्फ
नर्वेको सबैभन्दा ठूलो टेलिकम टेलेनरले फाइभ जी नेटवर्ककका लागि एरिक्सनको उपयोग गर्ने र हुवावेको प्रयोगलाई घटाउँदै लाने घोषणा गर्यो । युरोपका हरेक देशमा हुवावे उपकरण वैकल्पिकरूपमा रहेको छ ।  विश्वका एक सय ५० विश्वविद्यालयहरूसँग अनुसन्धान समन्वय गरिरहेको हुवावेको अवस्था पूर्वी र केन्द्रीय युरोपमा बलियो हुँदै गयो ।

चीनलाई एक्ल्याउन खोज्दा प्रविधिको क्षेत्रमा ऊ शक्तिशाली देशको रूपमा उदाउन पुगेको देखियो । चीनमा प्रविधि प्रवाहको निरन्तर विस्तार हुँदै गयो । अमेरिकाको दबाब नपुगेपछि अक्टोबर २०१९मा अमेरिकाको वाणिज्य विभागले थप २८ कम्पनीहरूलाई सरकारी नियोगको कालोसूचीमा समावेश ग¥यो । चीनको कृत्रिम बौद्धिकता (एआई) क्षेत्रका कम्पनीहरूलाई यसमा समावेश गरिए । सेन्स टाइम, मेगभी, यितु र आइफ्लाइटेकलगायतका  कम्पनीहरूलाई समावेश गरिएको थियो । यस्तै अमेरिकी अधिकारीहरूले ‘टिकटक’का बारेमा पनि चिन्ता व्यक्त गरे । गत वर्ष ७५ करोड पटक विश्वभर डाउनलोड गरिएको टिकटक अमेरिकी किशोरहरू माझ एक सर्वाधिक लोकप्रिय एप छ । अमेरिकी अधिकारीहरूले राष्ट्रिय सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताका लागि टिकटक  खतरा उत्पन्न हुन सक्ने जनाए । अमेरिकाको विदेशी लगानी समितिले टिकटकका माउ कम्पनी बाइटडान्सलाई अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा भएको जनायो ।

प्रविधि शीत युद्धको विषयमा विचार गर्दा अमेरिकाले चीनको प्रविधि विस्तारको प्रवाहलाई सहज बृद्धि हुन दिनेमा विश्वास गर्न सकिने देखिदैन । त्यसैले अमेरिकी अनुसन्धानमा संलग्न चिनियाँ वैज्ञानिकहरूको पहुँचलाई सीमित पार्ने काम अमेरिकाले गर्ने देखिएको छ । कम्तीमा प्रविधि क्षेत्रको महत्वपूर्ण अनुसन्धानबाट चिनियाँ वैज्ञानिकहरूलाई विस्थापित गराउने गरी अमेरिकी सदन सिनेटमा अनुसन्धान सम्बन्धी विषयमा गठित एक उपसमितिले नोभेम्बरमा सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तै जनाएको छ । अमेरिकाको संघीय अनुसन्धान ब्युरो एफबीआई र संघीय अनुसन्धान नियोगका अतिरिक्त गुप्तचर नियोगको अनुसन्धान समितिको प्रतिवेदनले अमेरिकी सरकारले रेगन युगको निर्देशिका अन्तर्गत बनेको कार्यक्रम एनएसडीडी १८९ को समीक्षा गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ ।

चीनले प्रविधि क्षेत्रको ‘कोर टेक्नोलोजी’ को विकासलाई दोब्बर गर्ने रणनीति अंगीकार गर्न बाध्य भयो । अमेरिकाले विदेशी कम्पनीलाई अमेरिकी बजारमा रोक लगाएका बेला चिनियाँ कम्पनीहरूको आपूर्ति हुने गरी आपूर्ति चेन निर्माण गर्न चीनले सफलता पायो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले पाँच वर्षे योजना अन्तर्गत एक  सानो अगुवा समूह बनाएका छन् । निरन्तर चिप उत्पादनमा ध्यान दिएर अमेरिकाले रोक लगाएपछि त्यसको आपूर्ति गर्न यसको डिजाइन गर्दै चीनले अमेरिकामाथिको निर्भरता घटाउने प्रयास गरेको छ । मे २०१९मा चीनको अर्थमन्त्रालयले सेमिकन्डक्टर निर्माण गर्ने र सफ्टवेयर निर्माण गर्ने कम्पनी र व्यक्तिहरूका लागि कर घटाउने योजना सार्वजनिक ग¥यो । सेमिकन्डक्टर उद्योगलाई सहयोग गर्न  गत अक्टोबरमा  चीनले २९ अर्ब अमेरिकी डलर बराबरको नयाँ कोष स्थापना गर्यो । अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले चिनियाँ उत्पादन विरूद्ध चालेको कदमहरूलाई ध्यान दिएर चीनले त्यसको असर कम गर्न कार्यक्रम तय गर्यो । तीन वर्षभित्र सबै सरकारी कार्यालयमा विदेशी कम्प्युटर उपकरण र सफ्टवेयर हटाउने आदेश चिनियाँ सरकारले दियो । चिनियाँ सरकारको यो आदेश अनुसार विदेशी हार्डवेयरलाई सन् २०२०, सन् २०२१ र २०२२ मा क्रमशः ३० प्रतिशत, ५० प्रतिशत र २० प्रतिशत दरले हटाउने योजना छ ।

अमेरिका र चीनबीचको प्रविधि युद्ध अझ जारी रहने देखिन्छ । सन् २०२०मा पनि यसले निरन्तरता पाउने छ । राष्ट्रपति सीको हाउभाउले विदेशी प्रविधिमाथिको निर्भरता हटाउने प्रयासलाई त्याग गर्ने अवस्था देखिदैंन । 
प्रविधिको  क्षेत्रमा अमेरिकी र चीनबीचको विद्यमान व्यापार युद्धले आगामी दिनमा पनि निरन्तरता पाउने जस्तो अवस्था बनेको छ । यसको असरले लगानी कमजोर हुन सक्छ । यति हुँदा पनि यी दुई देशबीचको व्यापार सम्बन्धको तनाव  ढिलो चाँडो सहमतिमा टुंगिने विश्वास समग्र रूपमा त्याग्नु हुँदैन । आगामी समय प्रविधिको युग हुने भएको छ । मानवको दुःख पीडा समाप्त गर्न यसको विकास हुुनुपर्ने आवश्यकता रहेको छ । यी दुई देशबीचको नयाँ व्यापार सम्बन्धले मानवको शोषण गर्ने उपकरण नभइ मानव हितकारी हुनुपर्ने आशा गर्नु मनासिव हुन्छ । 

चिनियाँ “सुपर सिटी” नयाँ बृद्धि वाहक

सूचना प्रविधिको फाइभ जीद्वारा शक्तिकृत चीनका सर्वोच्च शहर ‘सुपर सिटी’ हरूले चीनको आर्थिक बृद्धिको नयाँ चरणलाई डोर्याउने देखिएको छ । यसका लागि स्मार्ट ग्रिड, नवीकरणीय ऊर्जा र आधुनिक यातायात चिनियाँ बृद्धिका नयाँ वाहक शक्ति बन्न पुगेको छ । चीनमा बस्ती विकासको पहिलो चरणले उसको अर्थतन्त्रलाई रूपान्तरण गर्न चार दशक यता ठूलो भूमिका खेलेको थियो । यो अवधिमा ग्रामीण चिनियाँ शहरहरूमा छिरेका थिए । यसले ती शहरहरूलाई उत्पादनमूलक कम्पनीहरू भएको केन्द्रको रूपमा विकास गरायो । साथै विश्व आपूर्ति शृङ्खलामा चीनको अवसरहरूलाई बढाउँदै उत्पादकत्वलाई बलियो पार्दै मध्यम वर्गलाई प्रोत्साहित गराउँदै ल्याएको हो ।

चिनियाँ अर्थतन्त्रको दोस्रो चरणमा यसका उच्चप्रविधियुक्त ठूला शहर ‘सुपर सिटी’ हरूले बृद्धिको वाहक बन्ने मर्गन स्ट्यान्लीको अनुसन्धानले दर्शाएको छ । चीनका यी शहरहरूले लगानीकर्ताहरूलाई तानेर विश्व अर्थतन्त्रमा यसको वर्चस्व स्थापित गराउने अपेक्षा गरिएको छ ।

मर्गन स्टयान्लीका प्रमुख चिनियाँ अर्थशास्त्री रबिन सिङ भन्छन् –“चीनका स्मार्ट सिटी र सिटीहरूको विकसित शृङ्खलाले उसलाई विश्वको नेता बनाउन सहयोग गर्ने हाम्रो दृष्टिकोण छ ।” उनीहरूले चीनको दोस्रो चरणको आर्थिक बृद्धिको विकासलाई ‘अर्बनाइजेशन टु जीरो’ भनेका छन् । यसमा सरकारको सुधार, पूर्वाधार खर्च र प्रविधिको अंगीकरण जस्ता विषयलाई समावेश गरिएको छ ।

सूचना प्रविधिको प्रयोगबाट कृषि क्षेत्रलगायतका अर्थतन्त्रका उत्पादनमूलक क्षेत्रलाई विकास गरिनेछ । दीर्घकालमा यी स्मार्ट शहरहरूले उत्पादकत्व बृद्धिलाई दीगो बनाउन र बुढ्यौली जनसंख्याको चापबाट आउने संरचनागत बृद्धिका बाधाहरूको असर कम गर्न सहयोग गर्ने अनुसन्धानबाट आएको देखिएको छ ।

मर्गन स्टयान्ली गरेको अनुमान अनुसार चीनको शहरीकरणको अनुपात सन् २०३०सम्म अहिलेको ६० प्रतिशतबाट बढेर ७५ प्रतिशतमा पुग्नेछ । यो भनेको २२ करोड नयाँ शहरी बासिन्दाको विकास गराउनु हुन्छ । यी मध्ये आधा जति चीनका पाँच सुपरसिटीमा बस्ने छन् । यो निरन्तरको शहरीकरणले कुल उत्पादकत्व बृद्धि सापेक्षिकरूपमा सन् २०३०को अवधिसम्म वार्षिक १.६ प्रतिशतले बृद्धि गराउनेछ । यो वृद्धि सन् २०१४देखि २०१८सम्म १.९ प्रतिशत रहेको थियो । परिणामस्वरूप सन् २०३०सम्म चीनको वार्षिक प्रतिव्यक्ति आय दोब्बर भन्दा बढी हुनेछ ।

विगत चार दशकदेखि चीनको शहरीकरण जारी रहेको छ । सन् १९७८मा चीनको ग्रामीण क्षेत्रमा ८० प्रतिशत भन्दा बढी बस्थे । त्यहाँ शिक्षा तथा व्यावसायिक तालिमको व्यवस्था गाह्रो र महँगो रहेको थियो । 
अहिले मोटामोटी ६० प्रतिशित चिनियाँ शहरी क्षेत्रमा रहेका छन् । विभिन्न कारणले गर्दा चीनमा यो प्रवृति निरन्तर छ । यी कारणहरूमध्ये ‘हुकोउ’ सुधार थियो । चीनमा हुकोउ शहर बासिन्दाका लागि अनिवार्य थियो । यसअन्तर्गत सामाजिक सुरक्षाले उपलब्ध गराउने पेन्सन, स्वास्थ्य उपचार र शहरमा शिक्षा समावेश छन् । हालसम्म यो ग्रामीण क्षेत्रका बासिन्दाका लागि साह्रै गा¥हो विषय थियो । तर सन् २०१६देखि चिनियाँ सरकारले साना शहरहरूमा लगाइएका यस्ता प्रतिबन्धहरूमा खुकुलो गरिएको छ ।

याङसी नदी डेल्टा, जिङजिनजी क्षेत्र, ग्रेटर बे एरिया, मध्य याङसी क्षेत्र र चेङदु छोङकिङ जस्ता क्षेत्रमा  ठूला शहरहरूको शृङ्खला बन्न थालेको विगत दुई वर्षको अध्ययनले देखाएको छ । यो रणनीतिले चीनको क्षेत्रीय सन्तुलनका अभिप्रेरणाहरू विगतको भन्दा फरक खालको रहेको पाइयो । २०००देखिको पश्चिमी विकास र २००४ देखिको उत्तरपूर्व पुनर्ताजगीकरणजस्ता विषयमा देखिएको सन्तुलनको तुलनात्मक अध्ययनबाट यी क्षेत्रका क्षेत्रीय आम्दानी खाडल कम हुँदै गएको पाइएको छ ।
अनुसन्धान अनुसार सन् २०३०सम्म चीनका पाँच शहर शृङ्खलामा १२ करोड मानिसको बसोबास हुनेछ । जुन जापानको समग्र जनसंख्या बराबर चीनका यो शृङ्खलाका हरेक शहरमा चिनियाँहरूको बसोबास हुनेछ ।

जनसंख्याको चापले उत्पन्न समस्याका बाबजुद चिनियाँ रणनीतिले यसलाई हरित विशाल शहरको रूपमा विकास गर्नेछ । ‘सुपरसिटी’, ‘स्मार्ट’ र ‘सेफ’ बनाउने रणनीति छ । यसका लागि चिनियाँ सरकारले उच्च गतिको रेल, स्वचालित विद्युतीय वाहन, स्मार्ट ग्रिड टेक्नोलोजी,फाइभ जी नेटवर्क र ठूला ठूला डेटाको प्रयोग गरिने कार्य सन् २०३०सम्मका लागि आठ खर्ब अमेरिकी डलर बराबरको लगानी गरिरहेको छ ।

दु्रतगतिको रेल र स्वचालित विद्युतीय वाहनको उपयोग गरी ती शहरका बासिन्दाले काम गर्ने दृष्टिकोणबाट यो लगानी गरिएको छ । यसक्षेत्रका घरहरूमा स्वचालन विधिको, स्मार्ट उपकरणको र फाइभ जी प्रयोग भएको घरहरू हुनेछन् । स्वास्थ्य क्षेत्रजस्ता मानिसको हेरचाहमा कृत्रिम बौद्धिकता वा एआई शक्तिकृत चिकित्सा उपकरण र विधिको प्रयोग गरिनेछ । 

मगर्न स्टयान्लीको प्रविधि क्षेत्रका टेक्नलजि अनुसन्धान टोलीका प्रमुख श्वान किमले जनाए अनुसार सन् २०३० भरि वार्षिक उत्पादकत्व बृद्धि १.६ प्रतिशत रहने छ ।
स्वच्छ, सम्पर्कित तथा स्वचालित शहरको विकासको रूपमा ती शहरको विकास गरिनेछ । मर्गनको अनुसन्धान अनुसार ती सुपरसिटीको विकास लगानी आकर्षण गर्न गरिदैछ । लगानी आकर्षण गर्न तीन महत्वपूर्ण व्यवस्था हुनेछ ।
उद्योगी इन्टरनेटका उपभोक्ताका लागि टेलिकम, इन्टरनेट , टेक हार्डवेयर र सफ्टवेयरको विकास भएको हुन्छ ।

पुरानो अर्थतन्त्रको डिजिटलीकरण गरिनेछ । यसका लागि वाहन, आवास, उपयोगी वस्तु, बैंक, बीमा र कृषि व्यवसायलाई डिजिटलीकरण गरिन्छ ।
स्मार्ट सिटीको जीवन शैलीमा यातायात, सम्पत्ति, भौतिक वस्तु उपभोग, शिक्षा, स्वास्थ, पर्यटनजस्ता विषय हुनेछन् ।

यसो हुन फाइभ जी नेटवर्कले प्रविधि क्षेत्रको क्षमतालाई १० गुना भन्दा बढी बढाउने छ । सन् २०१९देखि २०३०सम्मको फाइभ जी सम्बन्धित कुल लगानी चार खर्ब अमेरिकी डलर बराबर हुनेछ ।
समग्रमा चीनको नयाँ बृद्धिको वाहक टेक्नोलोजीले शक्तिकृत भएका सुपरसिटीहरू हुनेछन् । यसले चीनमा विश्वका लगानीकर्ताहरूका लागि नयाँ अवसरहरूको सिर्जना गर्नेछन् । चीनले यसबाट स्वच्छ, सम्पर्कित र स्वचालन (क्लिन, कनेक्टेड र अटोमेटेड) अवधारणाको विकास गर्ने लक्ष्य लिएको मर्गन स्टयान्लीको अध्ययनमा उल्लेख गरिएको छ ।