बिचौलिया सँस्कृतिको उदाङ्गो रूप पाम तेल

बिचौलिया सँस्कृतिको उदाङ्गो रूप पाम तेल

काठमाडौं । नेपालको भौगोलिक अवस्था र सदियौंदेखिको विकास प्रणालीका कारण जनजनमा पीडा छ । भूगोल मानिसको नियन्त्रणमा नभए पनि मानव रचित परिपाटीका कारणले नेपाल र नेपाली प्रताडित हुनु परेको महसुस गरिँदै आएको छ । कहिल्यै नसुध्रिने हाम्रो प्रवृत्तिका कारण पनि एकपछि अर्को समस्या हुँदै आएको छ । भूगोलको जटिलता कस्तो छ भन्ने हामी प्रत्येक नेपालीले अनुमान मात्र होइन अनुभव नै गरेका छौं । यसले फाइदा दिने तर्क पनि गर्न सकिएला र बेफाइदा गर्ने तर्क पनि गर्न सकिएला । तर, नेपाल र नेपालीले भोग्नु परेको कष्टकर अवस्था भने बारम्बार बल्झिने गरेको छ ।  

भौगोलिक पाटो नियति भए पनि राजनीतिक एवम् विकासका पाटोलाई सरसर्ती हेर्ने हो भने हाम्रो प्रवृत्तिमा सुधार आएको छैन । भारतसँग मात्र बढी सामाजिक, आर्थिक र राजनीतिक सहजता खोज्ने परम्परागत शैली हामीमा रह्यो । विकासका मोडल पनि उतैबाट आए । हामीमा कानुनी संरचना पनि भारतबाटै आयात गर्ने संस्कृति नै बस्यो । त्योसँगै बिचौलिया प्रवृत्ति पनि सँगै भित्रिएको पाइन्छ । यस्ता प्रवृत्तिले हामीलाई बारम्बार पीडा दिने गरेको छ । इतिहासदेखि हामी त्यस्ता पीडा झेल्दै आएका छौं । बारम्बारको आर्थिक नाकाबन्दी र बारम्बारको झमेलाका कारण नेपाल समस्यामा पर्ने गरेको छ । 

अर्थतन्त्रका मामिलामा पछिल्लो पटक चर्चामा रहेको छ, पाम तेल (पाम आयल) निर्यात । पाम आयलकै कारण निकासी व्यापार बढेको र व्यापारघाटा कम भएको भन्दै क्रेडिट लिन खोज्ने सरकारी अधिकारीहरू तथा मन्त्रीहरूको अस्वाभाविक प्रचार र मपाइत्व सबै सामु छर्लङ्ग भएको छ । भारतले पाम आयल आयात ठप्प पारिदियो । जसले वर्षौंदेखिको व्यापार घाटाको पीडा भोग्दै आएको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने आशा देखाएको भन्दै हौसिएका अनुहारमा निराशा देखियो । व्यापार घाटा कम गर्न सकारात्मक भूमिका निर्वाह गर्ने ठानिएको वस्तु पाम आयल निर्यात भएन ।

गत वर्ष विराटनगर नाकाबाट चार वटा उद्योगले चार अर्ब बराबरको पाम आयल निकासी गरेका थिए । यस वर्ष निकासी झन् विस्तार भयो । साउनदेखि मंसिर महिनासम्म पाँच महिनामा चार अर्ब ५७ करोडको निकासी भयो । यहाँ भारतको स्वार्थसँग मेल खाएन । त्यसैले निकासी रोकियो । विश्वमा पहिले आफू र आफ्नो फाइदालाई नै हेरिन्छ । यो एक प्रकारको सत्य नै हो । तर, त्यो सत्यलाई स्वीकार गर्ने र आफूलाई सक्षम बनाउनु बुद्धिमता हुन्छ, तर हामीमा परम्परागत सोँच कायम छ । हामी कहिल्यै सुध्रिएनौं । आजको दुनियाँमा सबैले आफ्नो स्वार्थ हेर्ने हो । हाम्रो सही नीति नहुँदा अरुको व्यापारिक स्वार्थमा हामी पिल्सियौं । त्यस्तै यस प्रकरणले हाम्रा उद्योगीले सिकेको बिचौलिया सँस्कृतिको उदाङ्गो रूप पनि देखिएको छ ।

एक पटक विगतलाई फर्केर हेर्ने हो भने सन् १९९६ मा नेपाललाई भारतले नेपालबाट निकासी हुने वस्तुमा भन्साररहित बजार पहुँचको सुविधा दिएको थियो । त्यस सुविधालाई तत्कालीन भारतीय प्रधानमन्त्री इन्द्रकुमार (आइके) गुजरालले नेपाललाई लगाएको गुनका रूपमा सम्झियो । यसलाई व्यापारीले पनि अहिलेसम्मकै राम्रो सुविधाका रूपमा लिने गर्छन् । त्यतिबेला नेपाली कच्चा पदार्थ प्रयोग नभए पनि नेपाली निकायले नेपालमा उत्पादन गरेको भनेपछि भन्साररहित बजार पहुँचको सुविधा थियो । 

त्यो बेला निकासी व्यापार निकै नै उकालो लाग्यो । आठ अर्बको निकासी बजार १२ अर्बभन्दा माथि पुग्यो । भारतले दिएको भन्साररहित बजार पहुँचको सुविधा नेपाल व्यवसायीले वनस्पती घिउमा राम्रो उपयोग गरेका थिए । तेस्रो मुलुकबाट वनस्पती घिउ ल्याएर पनि भारत निकासी गरे । त्यो व्यापार भारतले कोटा लगाएपछि धरासायी भयो । अहिले वनस्पति घिउको विषयमा कुरै हुन छाडेको छ । अहिले त्यस्तै भएको छ, पाम आयलको सन्दर्भमा । भारतको प्रतिबन्धपछि  नेपालको ३० अर्बको व्यापार प्रभावित भयो । जुन व्यापार घाटा कम गर्ने प्रमुख वस्तुका रूपमा चिनिँदै आएको थियो ।

भन्सार विभागको तथ्याङ्क विश्लेषण गर्ने हो भने पाम आयल नै मुख्य कारक देखिन्छ । त्यसो त भन्सार विभागको तथ्यांक अनुसार पाँच महिनामा अघिल्लो वर्षको तुलनामा २६.९७ प्रतिशतले वृद्धि भएर रु ४७ अर्ब ६१ करोडको निकासी भएको छ । पाँच महिनामा  ४७ अर्बको निकासीले सरकारले लामो समयदेखि भनेको निकासी व्यापारलाई एक खर्ब पु¥याउने लक्ष्य यो वर्ष पूरा हुने थियो । आयात भने यो वर्ष औद्योगिक कच्चा पदार्थ र गाडी कर्जामा गरिएको कडाइका कारण घटेको थियो ।

भन्सार अन्तरको फाइदा उठाउँदै तेस्रो मुलुकबाट पाम क्रुड ल्याएर सामान्य मूल्य अभिवृद्धि गरेर भारत पठाउन थालिएको व्यापार ठप्प छ । एक वर्षकै अवधिमा पाम आयल निकासीमा पहिलो नम्बर भएको थियो । मुलुकभित्र उत्पादन नै नहुने वस्तुको निकासी पहिलो नम्बरमा परेकोमा सरकारले चिन्ता जनाएको थिएन । बरु निकासी बढेको तथ्याङ्कमा रमायो । भारतको प्रतिबन्धसँगै नेपालको निर्यात वृद्धि दर ‘जोक’ जस्तै भएको छ । नेपालमा उत्पादन नहुने पाम आयल इन्डोनेसिया र मलेसियाबाट आयात भएर भारततर्फ निकासी भइरहेको छ भन्ने यथार्थतिर गइएन । भन्सार दरको फाइदा उठाएर तत्कालीन लाभ हेरिएको छ भन्ने विषयमा गम्भीरता दिइएन । 

स्मरण होस्, इन्डोनेसिया र मलेसियाबाट पाम आयल भारतमा आयात गर्दा बढी भन्सार लाग्छ । नेपालमा पाम आयल आयात गर्दा १० प्रतिशत भन्सार शुल्क लाग्छ । दक्षिण एशियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा)को प्रावधान अनुसार नेपालले भारतमा निकासी हुने वस्तुमा भन्साररहित बजार पहुँच दिएको छ । व्यापारी र राज्यले भारतको एक निर्णयले के परिणाम आउँछ भन्ने ख्याल नै गरेनन् । उल्टै कूटनीतिक पहल गर्ने भनेर राजनीतिक नारामा कुदेको देखिन्छ । आउँदा दिनमा त्यो पहल निरर्थक हुनेछ । यस्ता कच्चा कामको पछि राज्य लाग्नु हुन्न र व्यापारीले बिचौलिया प्रवृत्ति त्याग्नुपर्छ । रातारात कमाउने धन्दामा मात्र लाग्नु हुन्न भन्ने चेत अहिले आउँछ । यस्ता बिचौलिया प्रवृत्तिलाई निरुत्साहित गदैर्  लै जानुपर्ने देखिएको छ । छोटो समयमै बढी नाफा खोज्ने यस्तै समूहले नेपालमा लगानीमैत्री वातावरण नरहेको भन्दै हल्ला पनि फैलाइरहेको पाइन्छ । यस्ता प्रवृत्ति अन्त्य नहुँदासम्म समृद्धिको नारामा व्यवहारमा कहिल्यै आउँदैन । समयबद्ध साप्ताहिकबाट