नेकपामा तुहियोे नयाँ गुट

 नेकपामा तुहियोे नयाँ गुट

काठमाडौं । सत्तारुढ दल नेकपामा बनेको नयाँ गुट तुहिएको छ । दुई अध्यक्षको सतहमा देखिने गरी शक्ति सङ्घर्ष चलेपछि दोस्रो तहका नेताले नयाँ गुट निर्माणको प्रयास गरेका थिए । तर, उनीहरू असफल भएको तथ्य समयबद्धले फेला पारेको छ । 

दुई अध्यक्षलाई प्रभावमा पारेर महासचिव पद हत्याउन सफल विष्णु पौडेल र एकतापछि पूर्व माओवादीमा प्रभाव बढाएका नेता जनार्दन शर्माको गुप्त योजना असफल भएको हो । नेकपा एमाले र माओवादीबीच एकताका लागि पहल गरेको जशसमेत लिएका पौडेल र शर्माले राज्य सञ्चालनमा कुनै भूमिका नपाएपछि छटपटिएका छन् । 

सो छटपटाहटलाई साम्य पार्न पौडेल र शर्माले प्रधानमन्त्रीको सचिवालय परिवर्तन र मन्त्रीपरिषद फेरवदल गर्न पार्टी अध्यक्ष केपी ओलीलाई राजी गराएका थिए । उनीहरूको योजना प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल परिवर्तन गर्नु थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल निकट रिमाललाई प्रधानमन्त्री कार्यालयबाट नहटाई आप्mनो पहुँच बिस्तार गर्न नसकेको महासचिव पौडेलको बुझाइ छ । पौडेल र शर्माले यस विषयमा प्रधानमन्त्री ओलीलाई राजी गराएका थिए । ओली राजी भएर रिमाललाई अमेरिकाको राजदूत बनाउने मुडमा पुगेको स्रोतको दावी छ । रिमाल हटाउन ओली तयार भए पनि ईश्वर पोखरेलले  थेगेका कारण बाधा आएको थियो । सो बाधा फुकाउन पौडेलले ईश्वर पोखरेललाई पार्टी महासचिवको आश पनि देखाएका थिए । पार्टी महासचिवको आश देखाएपछि ईश्वर पनि सकारात्मक भएको स्रोतले बताएको छ । पौडेलले आफू सरकारमा अर्थमन्त्री तथा उपप्रधानको रूपमा जाने र ईश्वरलाई महासचिव दिने योजनाका साथ यो काम अघि बढाएको सो स्रोतले बताएको छ । 

प्रधानमन्त्री ओलीले यस विषयमा शंकर पोखरेललाई पनि सल्लाह गर्ने संकेत बुझेका पौडेलले शंकरलाई पनि यस्तै चारो हालेका थिए । पाँच नम्बर प्रदेशको राजधानीका साथै पार्टीको महासचिव पौडेल बनेकोमा चित्त नबुझाएका शंकर र पौडेलबीच उति राम्रो सम्वन्ध छैन । स्रोतका अनुसार शंकरलाई कृष्णबहादुर महराको स्थान खाली गराएर संघीय संसदमा ल्याएर परी आए पार्टी महासचिव पद नै दिनेसम्मको आश देखाएका थिए पौडेलले ।  तत्कालका लागि प्रधानमन्त्रीको काम हेर्ने गरी शंकरलाई ल्याउने तयारी पौडेल र शर्माले गरेका थिए । सो अनुसार पूर्व माओवादीका तर्फबाट प्रदेश पाँचको मुख्यमन्त्री बनाउने हल्ला पनि चलेको थियो । उपप्रधान तथा अर्थमन्त्रीका साथै प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति देखाउँदै कार्यवाहक प्रधानमन्त्री हुने योजना पौडेलेको थियो भने शर्मा गृहमन्त्री बन्ने योजना थियो । 

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति बुझेका यी दुई भाइले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फासफुस पार्ने सुर गरेका थिए । यो योजना सफल गराउन गोप्य ढंगले काम सुुरु गरेका उनीहरूले पार्टी र सरकारमा प्रभाव जमाएर तलैसम्म आफ्नो टिम निर्माण गर्ने योजनामा गुप्त कार्यालय पनि सञ्चालन गरेको स्रोतले जानकारी दियो ।

तर, जब ईश्वर र शंकरबीचमा यो बिषयमा छलफल भयो, त्यसपछि उनीहरूको योजना चकनाचुर भयो । पौडेलले दुई पोखरेलमा खेलेको कुरा थाहा पाएपछि उनीहरूले यो योजना विफल तुल्याउन लागे । प्रधानमन्त्रीका सचिवालयबाट रिमाललाई हटाउने विषय शंकर पोखरेलले फेसबुकमा ‘स्टाटस’ नै लेखेर प्रतिवाद गरे । 

उता नयाँ गुटको नयाँ योजना भताभुङ्ग भएसँगै भैसेपाटीस्थित वामदेव गौतमको घरमा नयाँ छलफल भएर केपी शर्मा ओलीका विरुद्ध मोर्चा कसिएको भन्दै पार्टीभित्र नयाँ तरङ्ग आएको छ । औपचारिक वैठक राख्ने अधिकार छदाछदैं अध्यक्ष प्रचण्डले गुटको भेलामा सहभागी भएकोमा पार्टी एकता भत्किन्छ कि भन्ने सन्त्रास पार्टीमा छाएको छ । प्रचण्ड र माधवको भन्दा पनि वामदेव गौतम र नारायणकाजी श्रेष्ठको विशेष पहलमा भएको सो भेलामा सभामुख, पार्टी र सरकारका बारेमा छलफल भएको स्रोतले दावी ग¥यो । 

 आगामी प्रधानमन्त्री र पार्टी अध्यक्षको सपना देखेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच नै सहकार्य, एकता भएकामा भने धेरैले आश्चर्य व्यक्त गरेका छन् । 

‘भोलि पार्टी अध्यक्ष र प्रधानमन्त्री हुने इच्छा देखाउने दाहाल र नेपाल एकै ठाउँमा गुट भेला गर्दै हिड्नु अचम्मको बिषय हो,’ नेकपा सचिवालयका एक सदस्य भन्छन्, ‘केपी ओलीले उही कक्षा दोहो¥याएर पढ्दिन भन्नु भएको छ । उहाँ आफैं पनि अस्वस्थ पनि हुनुहुन्छ, ओलीपछिका प्रबल दावेदारहरू एउटै गुट बनाएर भेला गर्दै हिड्छन्, अनि नेकपामा एकता गराएको जश लिने, भावी नेतृत्वको दावी गर्नेहरू केपीपछि प्रचण्ड, माधव होइन आफैं बन्ने दाउमा कसरत गरिरहेका छन् । 

दुई अध्यक्षको अजेण्डाभन्दा पनि स्वार्थकेन्द्रित शक्ति सङ्घर्ष, गुट भेलाहरूले पार्टीलाई थप अराजकता, अन्यौलतातिर लगिरहेको छ । समयबद्ध साप्ताहिकबाट