सामाजिक सञ्जालबाट बाहिरिने रकमको राजस्व असुल्नुपर्ने आवश्यकता
काठमाडौं । फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता सामाजिक सञ्जालमा देखिने विज्ञापनको भुक्तानीलाई बैकिङ प्रणालीमा ल्याउन नेपाल राष्ट्र बैंकले पहल शुरू गरेको छ । यस्ता सामाजिक सञ्जालमा गरिने विज्ञापनबाट अहिले अवैधरूपमा रकम विदेशिने गरेकोले यसलाई वैधानिकता दिन राष्ट्र बैंकले पहल थालेको बैंकका अधिकारीहरूले जनाएका छन् ।
यस्ता समाजिक सञ्जालमा गरिने विज्ञापन सेवाबाट सरकारले पाउनुपर्ने रकम प्राप्त नभएकाले देशलाई घाटा लागेको छ । अनलाइन सेवालाई अझ भरपर्दो र पारदर्शी बनाइ त्यसलाई एक निश्चित प्रणालीमा जोड्न आवश्यक रहेको केन्द्रीय बैंकका अधिकारीहरूको भनाइ छ ।
बैंकले यस्तो व्यवस्था आफ्नो मौद्रिक नीतिको बुँदा नम्बर १३८मा समेटेको छ ।
यो बुँदामा सरकारलाई सामाजिक सञ्जालमा गरिने विज्ञापन प्रक्रियालाई नियमन गर्न आवश्यक नीति तर्जुमा गर्नुपर्ने उल्लेख गरिएको छ । एक अनौपचारिक अध्ययन अनुसार अहिले नेपालबाट वार्षिक करिब पाँच अर्ब रुपियाँ सामाजिक सञ्जालको विज्ञापनका रूपमा बाहिर जाने गरेको पाइएको छ ।
ससंदमा दर्ता भएको सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल नेपालमै दर्ता गराउनुपर्ने प्रावधानले राजस्व प्रणालीबाट बाहिरिने गरेको विज्ञापन भुक्तानी रकम बैङ्किङ प्रणालीमा ल्याउन थप सहयोग पुग्ने बैंकका अधिकारीहरूको भनाइ रहेको छ ।
प्रतिक्रिया