विश्वास छ उपसभामुखले राजीनामा दिनुहुन्छ

विश्वास छ उपसभामुखले राजीनामा दिनुहुन्छ

गोरखा, १ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

गृह जिल्ला गोरखामा बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले शिवमायाको राजिनामा नआएसम्म मुलुकले सभामुख नपाउने बताए । उनले भने– ‘उपसभामुखले राजीनामा दिएपछि मात्रै सभामुखमा उम्मेदवारी दिने सुनिश्चित हुन्छ, त्यसैले उहाँले राजीनामा दिनुपर्छ ।’
संविधान अनुसार एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्न नमिल्ने भन्दै उनले शिवमायाले राजीनामा दिनुको विकल्प नरहेको बताए । ‘उहाँ नै सभामुख बन्ने भए पनि राजीनामा दिनैपर्छ ।  सभामुख पद नेकपाका लागि सुरक्षित भएपछि उम्मेदवारको निर्णय हुन्छ, विश्वास छ राजीनामा दिनुहुन्छ’– श्रेष्ठ भन्छन् ।

शिवमायाले भने आफू सभामुखका लागि योग्य भएको बताउँदै आएकी छिन् । राजीनामा दिनै परे सभामुखका उम्मेदवार छानेपछि मात्र दिने उनले अडान राखेकी छिन् ।

एमसीसी विवादले सभामुख चयन ढीला भएको हो भन्ने पत्रकारको  प्रश्नमा उनले भने– ‘यो सत्य होइन, एमसिसी र सभामुख चयन फरक विषय हुन् ।’

 उनले मन्त्री हुन राष्ट्रिय सभामा उम्मेदवारी नदिएको पनि स्पष्ट पारे । उनी चुनावी अभियानका लागि गोरखामा पुगेका हुन् । श्रेष्ठ गण्डकी प्रदेशबाट उम्मेदवार बनेका छन् ।