'जीवन पद्धति नै विपद्सँग जुध्न सक्ने बनाउन जरुरी छ'
काठमाण्डौ, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्ति तथा भूकम्पबाट हुन सक्ने क्षतिबाट जोगिनका लागि आवश्यक सजगता अपनाउन आह्वान गरेका छन् ।
भूकम्प सुरक्षा दिवसको अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राज्य संरचनाका अङ्गहरूमा मात्र नभइ समाजको जीवन पद्धतिलाई नै विपद् व्यवस्थापनको तयारी र त्यससँग जुध्न सक्ने बनाउनु जरुरी रहेको बताएका हुन् ।
‘सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन पारित गरेको छ, २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पुगेको क्षति र त्यसपछिको पुनर्निर्माणका अनुभव तथा ज्ञानलाई आत्मसात गर्दै भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणको दिशामा अग्रसर छौँ’ – सन्देशमा भनिएको छ।
आज २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । विसं १९९० सालको भूकम्पको सम्झना तथा भूकम्पबाट हुने क्षति कम गर्नेबारे चेतना जगाउने उद्देश्यले माघ २ गते यो दिवस मनाउने गरिन्छ ।
विसं १९९० सालमा महाभूकम्प गएको दिनको समय पारेर आज दिउँसो २ बजेर २४ मिनेटमा भक्तपुरमा विशेष कार्यक्रम र देशैभरि सरकारले सचेतनामूलक कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
विसं २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको दिवसका लागि यसपटकको नारा ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ तय गरिएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए ।
नेपाल भूकम्पको जोखिमका हिसाबले विश्वको ११औँ जोखिमपूर्ण देशमा पर्छ । नेपालमा हरेक ८० देखि एक सय वर्षको अन्तरालमा ६ देखि ८ रेक्टर स्केलको भूकम्प जाने गरेको पाइएको छ ।
विसं २०७२ साल वैशाख १२ गतेको भूकम्पमा झण्डै नौ हजार मानिसको ज्यान जानुका साथै आठ लाखभन्दा धेरै निजी घर र नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । भूकम्पबाट अति प्रभावित १४ सहित ३२ जिल्लामा पुनर्निर्माणको काम चलिरहेको छ ।
प्रतिक्रिया