आफू सहित समाज र सिङ्गो देश सुरक्षित बनाउने संकल्प गरौँ : गृहमन्त्री बादल

आफू सहित समाज र सिङ्गो देश सुरक्षित बनाउने संकल्प गरौँ : गृहमन्त्री बादल

काठमाडौं, २ माघ । गृहमन्त्री रामबहादुर थापाले सुख र समृद्धिका लागि सुरक्षा नै पहिलो आधार रहेको बताएका छन् ।

सुरक्षित पूर्वाधारबिना समृद्धि प्राप्त नहुने भन्दै उनले आफू र अरुलाई समेत सुरक्षित बनाउन पहिलो ध्यान बलियो पूर्वाधार बनाउन लगाउनुपर्नेमा जोड दिए । २२ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा भक्तपुरमा भएको मूल समारोहमा गृहमन्त्री थापाले आफू सहित समाज र सिङ्गो देशलाई सुरक्षित बनाउन सबैले संकल्प गर्नुपर्नेमा जोड दिए । उनले नेपाल भूकम्प सहित बहुप्रकोपको जोखिममा रहेको भन्दै संरचना भत्केर नै मुख्य क्षति हुने गरेको विगतले देखाएको समेत बताए । विपद् जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई संस्थागत रुपमा दिगो र परिणाममुखी बनाउन सरकारको तर्फबाट योजनाबद्ध प्रयत्न भैरहेको उनको भनाई छ ।

विकास र समृद्धिका लागि सुरक्षित समुदाय नै सबैभन्दा बलियो आधार भएको भन्दै उनले समुदाय सुरक्षित बनाउन तीन तहका सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिए । गृहमन्त्री थापाले भूकम्पबाट हुने जनधनको क्षति घटाउन सरकार एक्लैको प्रयासले मात्रै नपुग्ने भन्दै संघ, प्रदेश र पालिकाका साथै समुदायले पनि जिम्मेवारी आत्मसाथ गर्नुपर्ने बताए ।

यस वर्ष ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने नारा सहित २२ औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ । १९९० सालमा गएको भूकम्पको स्मृतिमा हरेक बर्ष भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ ।
दिवसको अवसरमा भक्तपुरको दरबार स्क्वायरमा मूल समारोह गरिएको हो ।