धम्क्याएर, थर्काएर कुनै पनि हालतमा एमसीसी पास हुँदैनः माधव नेपाल

धम्क्याएर, थर्काएर कुनै पनि हालतमा एमसीसी पास हुँदैनः माधव नेपाल

प्रेम दाहाल

सिन्धुली, ३ माघ । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको गर्भभित्र, समस्याहरु रहेकाले ति समस्याहरु पत्तालगाई गंभीरतापूर्वक बुझ्न र समस्याको हल गर्न आबश्यक रहेको बताएका छन् । 

प्रशासन प्रमुख, पार्टी कार्यकर्ता र पेशागत संगठनका प्रमुखहरुलाई अलग अलग रुपमा सम्वोधन गर्दै नेता नेपालले पार्टी एकताका केही बाँकी कामहरु अगाडि बढिरहेको र गुटगत मानिसकतालाई छोडेर बृहत एकाताका साथ अगाडि बड्न आग्रह गरे । नेकपाको हाराहारीमा अरु कुनै पार्टी नभएकाले आफ्नो पार्टीलाई  एकताबद्ध बनाएर लैजान उनको जिल्ला नेताहरुलाई आग्रह थियो ।

बिधी, पद्धति, पारदर्शिता र मुल्याङ्कन पद्धितिबाट पार्टी सञ्चालन हुनुपर्ने र यदी त्यसो नगरिए त्यसले समस्या मात्रै सिर्जना गर्ने बताउँदै पार्टी विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपालले सम्पन्न केन्द्रीय समिति बैठकबाट समस्याहरु बुझ्ने काम भएको र ती समस्याहरुको हल गर्न स्थायी समिति बैठकलाई जिम्मा दिएको उल्लेख गरे ।

बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल र नेपालीका लागि कुनै पनि हालतमा अस्वीकार्य भएको र यदि कसैले त्यसलाई बलपूर्वक लाद्न खोजे त्यसको परिणाम अप्रत्यासित हुने नेपालको भनाई थियो । 'एमसीसी इन्डो प्यासेफिक रणनीतिकै अभिन्न अंग भएकाले हामी अमेरिकी परियोजनालाई स्वीकार्न सक्तैनौं', नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका नेपालले भने ।

नेपालले अगाडि भने–'कसैले धम्क्याएर, तर्साएर नेपाली स्वाधिनता र राष्ट्रियतामाथि आँच आउने, सैन्य गतिविधी बढाउने र हाम्रा छिमेकी देशका विरुद्ध गतिवधी गर्ने एमसीसीको विषयलाई पार्टी सचिवालयका केही साथीहरुलाई जिम्मा दिन मैले पार्टी अध्यक्ष प्रचण्डलाई हिजो मात्रै सुझाव दिएको छु ।'

अरुण ३ मा विश्व बैंकले नेपाल र नेपाली विरोधी प्रस्ताब बोकेर आएको र त्यसलाई तत्कालिन काग्रेस सरकारले संझौता गरेर अगाडि बढाएको कामहरु आफु परराष्ट्रमन्त्री बन्दा रद्द गरेको स्मरणगर्दै नेता नेपालले पश्चिमा मुलुकहरुले पटक पटक नेपालमाथि धावा बोलिरहेको र सत्तामा बस्नेहरुले त्यसको गाम्भिर्यता बुझ्न नसकेको टिप्पणी गरे ।

बिकास लहडले होइन भन्दै उनले जिल्ला पार्टीका नेताहरुलाई भने–'मुलुकमा आर्थिक, सामाजिक र साँस्कृति रुपमान्तरण जरुरी छ । त्यसैले इमान्दारिता, स्वच्छता, गतिशिलता र पारदर्शिताका साथ अगाडि बढ्नुहोस् ।' उनले सय वर्ष पछिका योजनाहरु अगाडि बढाउन सुझाव दिए । 

कार्यक्रममा नेकपा सिन्धुलीका सचिव प्रदिप कटुवाल, नेताहरु उमा कोइराला, कमलामाई नगरप्रमुख खड्ग खत्री, उपप्रमुख मञ्जु देवकोटा, नेताहरु केशव देवकोटा, शान्तिमान कार्की, ध्रुव देवकोटा, महेन्द्र श्रेष्ठ, नवराज थिङ, यमकुमार देवकोटा, ध्रुव बस्नेत लगायतको उपस्थिति थियो ।