२ नं प्रदशका मन्त्रीहरुको तस्बिरमा जुत्ता प्रहार

२ नं प्रदशका मन्त्रीहरुको तस्बिरमा जुत्ता प्रहार

जनकपुर, ३ माघ ।  जनकपुरधामको जिरोमाइलमा मुख्यमन्त्री र मन्त्रीहरुको तस्बिरमा जुत्ता प्रहार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रदेश २ का विभिन्न मन्त्रालयका उपभोक्ता समितिमार्फत् भौतिक विकास निर्माण कार्य सम्पन्न गरे पनि हालसम्म भुक्तानी नदिएको भन्दै शुक्रबार जनकपुरधाममा प्रदर्शनसहित तस्वीरमा जुत्ता प्रहार गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

प्रदर्शन गरिरहेको उपभोक्ता समितिले मुख्यमन्त्री राउतदेखि अन्य मन्त्रीहरूको तस्वीरमा सार्वजनिक स्थलमै जुत्ता प्रहार गर्न लागेपछि प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश चौधरी र शंकर साहलाई तत्कालै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा पठाएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहको तस्वीरमा जुत्ता प्रहार गरेपछि प्रहरीले पक्राउ गरेको हो।

यसअघि उपभोक्ता समितिहरूले प्रदेशसभा घेराउ गरेर प्रदर्शन, पूर्वाधार विकास कार्यालयमा तालाबन्दी समेत गरेका थिए।

उपभोक्ताहरूको बक्यौता रकम भुक्तानीबारे मुख्यमन्त्री लालबाबु राउतको तर्फबाट सरकारले स्पष्ट धारणा ल्याउनुपर्ने माग गर्दै सभामुख सरोजकुमार यादवले जवाफ दिन प्रदेश सरकारलाई रुलिङसमेत गरेका थिए।