श्रीमती र दुई छोरासहित त्रिशूलीमा हेलिनुको कारण 'मिटरब्याज'
धादिङ, ३ माघ । आफ्ना दुई नाबालक छोरासहित चन्द्रागिरी नगरपालिका ४, थानकोटका विनय लामिछाने र उनकी पत्नी जमुना रेग्मी लामिछाने त्रिशूलीमा हेलिनुको कारण मिटरब्याज रहेको प्रहरीले जनाएको छ ।
उनीहरु बिहीबार बच्चासहित नदीमा हेलिएका हुन् । २७ वर्षीया जमुनाको शव प्रहरीले बिहीबार नै फेला पारेको छ। विनयको उद्धार गरिएको छ भने उनीहरुका दुई वर्षे र छ महिने छोरा बेपत्ता छन्। आफन्तका अनुसार सानो छोराको शुक्रबार भातखुवाइ थियो ।
मिटरब्याजमा लिएको पैसा तिर्न नसक्ने अवस्थामा पुगेपछि दम्पती सल्लाहमा नै त्रिशूलीमा हेलिएको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले विनयको घरमा ऋणका कारण आफूहरुले आत्महत्यालाई नै अन्तिम विकल्पका रुपमा रोजेको सुसाइड नोट भेटिएको बताएको छ। यस्तै जमुनाका फेसबुक स्टाटसका आधारमा प्रहरी यस्तो निष्कर्षमा पुगेको हो।
प्रहरीले उनीहरु झलुंगे पुलबाट हामफालेको प्रारम्भिक अनुमान गरेको भए पनि विनयले आफूहरु नदीमा हेलिएको बताएका हुन्। उनीहरु बिहीबार बेनीघाट सिउरेनी पुल मुन्तिरबाट हात समाएर दुवै छोरालाई काखमा लिइ त्रिशूलीमा हेलिएको गजुरी प्रहरीलाई विनयले बताएका छन्। त्रिशूलीमा जलयात्रा गर्ने समूहले देखेपछि विनय लामिछानेको तत्काल उद्धार गरियो। संक्रान्ति मनाउन गजुरी ६ आदमघाट बजारस्थित माइतीसमेत रहेका वडाध्यक्ष कुमार रेग्मीको घर जान्छु भनेर पोखरा जाने बसमा चढेका लामिछाने दम्पति आदमघाटस्थित माइतीघर नझरेर बेनीघाट बजार झरेका थिए।
जमुनाले चलाएको ‘इम्गिर अनुमाज’ नामक फेसबुक एकाउन्टमा गत जनवरी ४ मा थानकोटमा नयाँ डिएसपी आएको मिटरब्याजमा ऋण दिएर ब्याज तिर्न नसक्नेलाई मर्न बाध्य बनाउने गिरोहलाई कारबाही गर्न माग गरेकी थिइन्।
उनले फेसबुकमा आफनो नाम उल्टोपाल्टो बनाएर परिवर्तन गर्नु र मिटर ब्याजका अपराधीको दबाब थेग्न नसकेपछि कारबाही हुने आशामा त्यस्तो स्टाटस राखेका हुनसक्ने अनुमान गरिएको धादिङ प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए।
प्रतिक्रिया