एमसीसीमा सैन्य संलग्नता निषेधित : अमेरिकी दूतावास

एमसीसीमा सैन्य संलग्नता निषेधित : अमेरिकी दूतावास

नेपालमा रहेको अमेरिकी दूतावासले एमसीसी परियोजनामा कुनै पनि सैन्य सम्बन्धी मामिला निषेधित गरिएको बताएको छ । अमेरिकी दूतावासले यससम्बन्धी १० बुँदा सार्वजनिक गर्दै यो परियोजनामा सैन्य संलग्नता नरहेको जनाएको हो।

एमसीसीमा कुनै पनि सैन्य मामिला नजोडिएको र वास्तवमा अमेरिकी कानुनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ। एमसीसीमा सहभागी हुनका लागि नेपालले कतै पनि सम्मिलित हुनुपर्दैन वा हस्ताक्षर गर्नुनपर्ने दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

दूतावासले यो विशुद्धरूपमा आर्थिक विकासमा केन्द्रित भएको बताउँदै विद्युत लाइन निर्माण र सडकको स्तरोन्नतिमार्फत नेपालको आर्थिक विकासलाई सघाउने परियोजनाको लक्ष्य रहेको पनि दूतावासले स्पष्ट भनेको छ।

दूतावासले नेपालको नेतृत्वको आग्रहमा अमेरिकी सरकारले सन् २०१२ मा नेपालसँग सहकार्य गर्दै एमसीसी कम्प्याक्टको योजना विकास गर्ने कार्यको थालनी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। 

नेपालका प्रत्येक सरकार र प्रत्येक नेपाली राजनीतिक दलले सत्तामा छँदा आर्थिक विकासका लागि नेपालमा एमसीसी कम्प्याक्ट सम्पन्न गर्ने इच्छा व्यक्त गरेको जनाएको छ।

‘यो ५० करोड डलर एक अनुदान हो, जसमा कुनै स्वार्थ छैन, ब्याजदर छैन, वा कुनै लुकेको प्रावधान छैन। नेपालले गर्नुपर्ने भनेको सहमति भइसकेका परियोजनाहरूमा उक्त रकम पारदर्शी रूपमा खर्च गर्न प्रतिबद्ध हुनु मात्र हो’, दूतावासले भनेको छ ।
‘एमसीसीले नेपालमा कुन परियोजनाहरूमा खर्च गर्ने भन्ने विषय नेपालको आफ्नै प्राथमिकताहरूका आधारमा नेपालीहरूले नै प्रस्ताव र निर्क्‍योल गरेका हुन्’, दूतावासले भनेको छ । एमसीसीको प्रावधानअनुसार यी परियोजनाहरूको कार्यान्वयनको नेतृत्व गर्न नेपालले नेपालीलाई नै काममा लगाउनु आवश्यक रहेको दूतावासले जनाएको छ।एमसीसी परियोजनाका टेन्डरहरू खुला, पारदर्शी, र सबैका लागि उपलब्ध रहेको जनाउँदै दूतावासले एमसीसीले काम गर्ने प्रत्येक मुलुकमा झैँ नेपालमा पनि संसदीय अनुमोदन जरुरी रहेको समेत जिकिर गरेको छ।

‘यसबाट पारदर्शिता स्थापित हुन्छ र नेपालीहरूलाई परियोजनाका बारेमा बुझ्ने अवसर पनि प्राप्‍त हुन्छ।’ दूतावासले जनाएको छ ।