हिमपहिरोका कारण मनास्लु पदमार्ग अवरुद्ध 

हिमपहिरोका कारण मनास्लु पदमार्ग अवरुद्ध 

गोरखा, ४ मामघ । चुमुनुब्री गाउँपालिका वडा नं ४ को नामरुङमा बाटोमाथि लगातारको हिमपातपछि थुप्रिएको हिउँ पहिरोको रुपमा खस्दा पदमार्ग अवरुद्ध भएको छ । चुमुनुब्री गाउँपालिका वडाअध्यक्ष पेमा डुण्डुप लामाका अनुसार नामरुङ गाउँभन्दा करिब ५ सय मिटर माथिबाट खसेको हिउँपहिरो बुढीगण्डकी नदीसम्म पुगेको छ । पदमार्गको करिब २५ मिटर क्षेत्रमा हिउँसहितको पहिरो थुप्रिएको लामाले बताए ।

फेरि पहिरो खस्ने सम्भावना भएकाले तत्काल पदमार्गको पहिरो पन्छ्याउन नसकिएको उनले बताए । 

यस्तै, चुमनुब्री गाउँपालिका वडा नं। २ को भर्जम गाउँको तल र माथि तथा भर्जमथांकामा पनि हिमपहिरो गएको वडा अध्यक्ष पेम्बारेता लामाले बताए। हिमपहिरोबाट मानवीय क्षति नहोस भनेर यस क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताए ।
स्थानीयसँगको समन्वयमा पहिरो हटाउन तथा थप सुरक्षा अपनाउनका लागि प्रहरी चौकी लार्केका प्रहरी सहायक निरीक्षक प्रेमबहादुर बानियाँको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।