योगदानले नपाएको अवसर, अर्थात मणी थापा !

योगदानले नपाएको अवसर, अर्थात मणी थापा !


झिल्को टिप्पणी । उबेलाका प्यूठानका चल्तापूर्ता हेडसरका चतुर पुत्र थिए उनी । पढाईमा अव्वल, अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै तेज । आफ्नो थातथलोमा सम्पन्न र वैभवशाली जीवनयापन गरिरहेका पिताको विणो थाम्न अघि बढेका भए उनको वर्तमान पहिचान अर्कै हुन सक्थ्यो । तर कवि रोवर्ट फ्रस्टका कविताँस द रोड नट ट्राभल्ड भने झैं त्यो उनको वाल्यकालिन परिवेशका आधारमा अब उनको परिचय बन्दैन, बनाएनन् पनि । किन की, उनी पिताको पद्चाप पछ्याउनतिर लागेनन् । बरु, आफैले रोजे, खने र अघि बढे जीवनको गोरेटो । अनि अहिले उनी आफ्नै बलबुतामा आर्जेको जीवनपथको प्राप्तीका माझबाट लम्किदै समकालिन राजनीतिको एउटा स्थापित पात्रका रुपमा क्रियाशिल छन ।

उनी अर्थात मणी थापा, नेपालको वाम राजनीति र खासगरी जनयुद्धकालिन तत्कालिन माओवादी तप्काका एक समानान्तर नाम वा व्राण्ड नै हुन् । वाल्यकालदेखि नै गीत संगितमा रुचि राख्ने उनी २०३६ को विद्यार्थी आन्दोलनकालदेखि बढी नै साँस्कृतिक फाँटमा बढी रम्न र जम्न थाले । फलतः उनी जब वैचारिक रुपमा वाम रुझानतिर ढल्किए, तबदेखि नै माओवादीतिर आकर्षित भए । २०५२ मा माओवादीले दीर्घकालिन जनयुद्धको बाटो पक्रदा, त्यसको साँस्कृतिक फाँटको जग र आधार निर्माण गर्ने एक कुशल अगुवाका रुपमा उनै मणी थापा अग्रसर भए, अन्य कैयन सहायात्री, सहयोद्धाहरुका साथ । बस, जनयुद्ध प्रारम्भको यही विन्दूबाट सुरु भयो, मणी थापाको संगठित रक्तिम क्रान्तिकारी संघर्ष असली कर्म र धर्म । अनि समयक्रमका योगदानहरुका आलोकमा स्थापित भयो उनको नेतृत्वदायी पहिचान, वास्तविक कमरेड मणी थापाका हैसियतमा । 

यी पक्तिहरु मणी थापाका पक्षमा अन्धभक्ति दर्शाउन उतार गरिएका आरती होईनन्, जनयुद्धको त्यो कठोर संघर्षकालिन कालखण्डको यथार्थ स्मरण र समीक्षाका दौरान स्वतः प्रस्फुटित हुने र उनी जोडिने प्रतिनिधि गौरवान्वित प्रसंगहरु मात्र हुन । रचनात्मक सोच शैली र कर्ममा बढी रमाउने थापाले जनयुद्धको प्रारम्भदेखि नै साँसकृतिक मोर्चा सम्हाले । धेरै रचना, गाना बजाना र प्रदर्शन गरे । र त, उनी जनयुद्धकालिन माओवादी संर्घष र बलिदानको साँस्कृतिक मोर्चाको अविछन्न सदस्य, नेतृत्व र एकहदसम्म कतै छुटाउने नमिल्ने पर्याय पात्र बने ।

फाँटेको जालोले छेकेको
छेके पनि छर्लंग देखेको
हेर गाउँले हो,
छर्लंग देखेको 
देशमा के के भो....

तत्कालिन जनयुद्धलाई आम जनमानसमा छिटो र घनीभूत रुपमा बिस्तार र स्थापित गर्न यस्तै क्रान्तिकारी गीति भाकाहरुमा मणी थापा नाचे, नचाए । धेरैलाई नचाए, हसाँए, गाउन लगाए । र, समग्रमा उनले जनतालाई माओवदाी जनयुद्धमा समाहित गराए, जनतालाई युद्धमा गोलवन्ध गराए । भनिन्छ नी संसारलाई छिटो तरंगित र आकर्षित गर्ने विधा गीत संगित हो । त्यही माद्यमका सेतु बनेर उनले उनले जनयुद्धको राप, ताप र प्रभाव र उभारलाई देशभर आम जनमानसमा छिटो स्थापित गराए । 

अहिलेका नव अनुहारधारी स्वघोषित माओवादीहरुका हकमा त भन्न सकिन्न तर २०४६ को जनआन्दोलनको ताका त क्रान्तिकारी कित्ताका साँस्कृतिक फाँटका अग्रमोर्चाका चर्चित नेता उनै थापा थिए । त्यो बेला उनी गाउने बजाउने, नाच्ने नचाउने मात्रै गर्दैन्थे । जनयुद्धको सुरुवातदेखि नै उनी साँस्कृतिक, फौजी र राजनीतिक मोर्चामा पनि अग्रभागमा, नेतृत्वदायी भूमिकामा समान थिए । तत्कालिन शाही नेपाली सेनासंग पार्टीको आमने सामने युद्ध चर्केका बेला उनको सृजनाः 

फोकल्याण्डको टापुबाट
जंगलको वीचबाट
लेखिरहेछु चिठ्ठी तिमीलाई
युद्धको मैदानबाट........

ले तत्कालिन सेना र सुरक्षाकर्मीलाई मनोवैज्ञानिक रुपमा माओवादी छापामारसंग भिडनबाट पछि हट्न वा पार्न निकै ठूलो योगदान गरेको थियो । 

यस्तै, 
अरुण तरेर 
तमोर तरेर
आयौं हामी 
वीरताको गाथा बोकर.........

जस्ता उनका मान्छेका शशीरमा काँडा उमार्ने र रगत उमाल्ने कैयन गीतहरुले जनयुद्धको उभारलाई उचोँ बनाउन असीमित योगदान गरे । त्यो युद्धकालका सर्वाधिक चर्चित गी संगित मध्ये धेरै उनकै रहे । खासमा उनी प्यूठानका थिए, तर छाए, पूर्वमा बढी अनि मेचीदेखि पश्चिम महाकालीसम्मै उनको त्रिकोणी कार्यक्षमता, नेतृत्वदायी भूमिकाका कारण, युद्धको मैदानमा फौजी दस्ताका रुपमा, साँस्कृतिक फाँटमा कलाकारका रुपमा र नेताका रुपमा राजनीतिक मोर्चामा । उनका यी केही प्रतिनिधि सृजना मात्र हुन् , कैयन रक्तिम रचनाहरुमा उनी अग्रभागमा सामेल र सफल भए ।

यसरी रक्तरंजित जनयुद्धकालिन संर्घषका मोर्चा र बलिदानका बाछिटाबाट उनी कहिल्यै अलग र फरक भएनन् । समयक्रममा राजनीतिक चेत र विश्लेष्णका आधारमा उनका केही फरक मतहरु जरुर रहे, पार्टीभित्रै । तर क्रान्तिकारी आन्दोलन र संघर्षबाटै चाँहि उनी कहिल्यै अलगथलग रहेनन् । जनयुद्धदेखि शान्ति प्रक्रियासम्म अनि गणतन्त्रदेखि नयाँ संविधानसम्मको दौरान युद्धकालिन माओवादीले जति घुम्ती, उकाली ओराली र प्राप्ती वा क्षती व्यहोर्नु परयो, त्यसका कतै सहयात्री, कतै किनाराको रमिते त कतै तटस्थ दर्शक भएर उनले राजनीतिक पाटो र बाटो पक्रिरहे, आफै अग्रभागका यात्री बनेर ।

यस्तै यस्तै संघर्षपूर्ण विरासतबाट उदाएका उनै मणी थापा अहिले एकीकृत नेकपाका स्थायी समिति सदस्य छन् । नेकपाभित्रको राजकीय सत्तामा उनको वर्तमान हैसियत धिक्कार नै पर्ने स्तरको त होईन । तर, ५ नम्वर प्रदेशको भूगोलका उनै मणी थापा राज्यको राजकीय पद वा जिम्मेवारी प्राप्तीका मार्गमा भने एक पछि पारिएका पात्र हुन भन्दा अतिशयोक्ति हुने छैन ।

धेरैको अपेक्षा थियो, यस पट्कको राष्ट्रिय सभा निर्वाचनमा थापाले ५ नम्वर प्रदेशबाट उम्मेद्धवार हुने मौका पाउने छन । किन की उनी युद्धकालमा पूर्वमा नै बढी खटेका थिए । वर्तमानमा पनि उनको भूगोल ५ नम्वर प्रदेश नै थियो । अपाँग कोटाबाट जगप्रसाद शर्मा अपारले यसपट्क राष्ट्रिय सभाको साँसदको प्रतयाशी बन्ने मौका पाए । त्यो अपारका हकमा एउटा सम्मान नै हो, उनको अतुलनीय योगदानको आधारमा । 

तर राजनीतिक नेतृत्वका हिसावले माथिल्लो सदनमा प्रवेश गर्ने, गराउने मामिलामा भने उनै मणी थापा यसपट्क स्वतः हकदार हुदाहुदै किनाराकृत गरिए । नेकपा नेतृत्वले कहिल्यै राजकीय सत्ताको अवसर नलिएका मणी थापाहरुलाई ओझेलमा पारेर गोरखामा अस्ती भर्खर प्रत्यक्ष तर्फको चुनाव हारेका उनै नारायणकाजी श्रेष्ठलाई ५ नम्वर प्रदेशबाट राष्ट्रिय सभाको प्रत्याशी बनायो । एकातिर सत्तारुढ नेकपाको प्रवक्ताको जिम्मेवारीमा वर्करार रहेका, अकोीतर २०७० को आम चुनाव आफ्नै पूर्व सहकर्मी डा. बाबुराम भट्टराईसंग चुनाव हारेका र चुनाव हारे लगत्तै मनोनित वा अर्को बाटो भएर फेरि यही संसदमा जान्न भनेर सार्वजनिक प्रतिवद्धता नै जनाएका नारायणकाजीलाई दोहोरयाएर साँसद हुने मौका दिईदै गर्दा मणी थापाहरु नेतृत्वको नजरमा प्रत्याशी बनाईएनन् । 

नेतृत्वले यहीनेर मणी थापाहरुका हकमा विवेकपूर्ण न्याय दिन सकेन । कारण जे सुकै होऊन, तर हार्नेलाई बारबार मौका, युद्धमा नेतृत्वदायी भूमिकासाथ लड्नेलाई बारबार उपेक्षा गर्ने गलत शैली र संस्कारको शिकार फेरि एकपट्क उनै मणी थापाहरु बने, बनाईए । कोही मरयो भन्दा पनि काल पल्कियो भन्ने चिन्ता र चिन्तनको पाटो यही हो, सत्तारुढ नेकपा भित्रको ।

तर्सथ, युद्धकालिन माओवादी अर्थात अहिलेको सत्तारुढ नेकपा नेतृत्वले समग्र युद्धको कित्तामा सधै क्रियाशील रहेका मणी थापा र अन्य कैयन मणी थापाहरुलाई योगदानका आधारमा अवसर दिन बिर्सने रोगबाट मुक्त हुनुपर्छ । हार्नेलाई सधै मौका तर लड्नेलाई सधै उपेक्षा गर्ने वर्तमान वेथितिप्रति कठोर आत्मासमीक्षा गर्ने पालो नेतृत्वको नै हो । यहाँ पात्रको होईन, प्रवृत्तिको, विधि र विधानको ख्याल गर्न नेतृत्वले आफ्ना भूलचुकहरु सच्चयाएमा मात्र जनयुद्धमा वलिदान गर्नेहरुको योगदानको कदर र सम्मान गर्ने हुनेछ । त्यतातिर यस्तै परिघटनाहरुले नेतृत्वको चेत खुलाउन र सच्चयाउन जरुरी छ भन्नेमा त कसैको पनि बिमति नहोला नी होला र ?